+
+

नक्कली ऋणको फन्दामा दाङका ३३ पीडित

एउटा विकास बैंकको बदमासीले दाङका ३३ जना व्यक्ति ‘लिंदै नलिएको ऋण’ नतिरेको अभियोगमा मुद्दा खेपिरहेका छन् । करिब १८ करोड रुपैयाँको यो खेलमा जोडिएको बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई भने अदालतले समेत उन्मुक्ति दिइसकेको छ ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८० पुष ४ गते २०:३०

४ पुस, काठमाडौं । चार वर्षअघिको कुरा हो, दाङका अर्जुन बस्नेतलाई एक नातेदारले २ लाख ९० हजार रुपैयाँ पठाइदिनुपर्ने रहेछ । उनी रकम लिन वेस्टर्न डेभलपमेन्ट बैंकको दाङ नारायणपुर शाखामा पुगे । शाखाका कर्मचारीहरूले एक लाख रुपैयाँभन्दा बढीको रकम निकाल्न बैंकमै खाता खोल्नुपर्छ भन्ने शर्त राखे । उनले खाता खोले, अनि रकम निकाले ।

त्यसको केही दिनपछि उनलाई बैंकको नारायणपुर शाखाका म्यानेजर समीर बुढाथोकीले बोलाए । ‘झुक्किएर मेरो खाताबाट तिम्रो खातामा रकम गएको छ’ भन्दै उनले निकालेर दिन आग्रह गरे । नभन्दै अर्जुनको खातामा रकम जम्मा भएको पनि रहेछ । निकालेर दिए ।

त्यसपछि पटक-पटक त्यो क्रम दोहोरियो । अति नै भएपछि एक दिन अर्जुनले भने, ‘तपाईंले किन सधैं पैसा निकाल्न मेरो खाता प्रयोग गर्न लगाउनुहुन्छ ?’

जवाफमा बैंकका म्यानेजर समीर बुढाथोकीले भने, ‘मेरो खातामा आवश्यकताभन्दा धेरै कारोबार भएकाले माथिका व्यक्तिले शंका गर्छन्, त्यसैले तिम्रो खाता प्रयोग गरेको हुँ ।’ पछि त समीरले खाली चेकमा हस्ताक्षर गर्न लगाएर समेत रकम निकाल्न थाले ।

दाङकै मनोज केसीले कृषि फर्म चलाउन वेस्टर्न डेभलपमेन्ट बैंक, नारायणपुर शाखाबाट २० लाख रुपैयाँ ऋण लिए । शाखा प्रबन्धक (म्यानेजर) सँग चिनजान पनि थिएन । जुन दिन ऋण स्वीकृत भएर मेरो खातामा पैसा आयो, त्यही दिन मैले १५ लाख रुपैयाँ खाताबाट निकालें ।

पछि शाखा प्रबन्धक समीर बुढाथोकीले मनोजलाई पटक-पटक बोलाए र सापटी मागिरहे । उनले नगद सापटी लिन्थे भने बैंकबाट ब्याज सहित खातामा नै रकम हालिदिन्थे । तर पन्ध्र महिनापछि ‘बैंकबाट गलत रूपमा ऋण लिएर त्यसको दुरुपयोग गरेको’ अभियोगमा प्रहरीले उनीमाथि मुद्दा चलायो । उच्च अदालतले उनलाई दोषी ठहर गरिदियो । करिब ४ वर्षदेखि उनी थुनामा छन् ।

मनोजको थप अनुभव यस्तो छ :

घोराहीका बसन्त बुढाथोकी दाङमा पुजन राइस मिल चलाउँथे । मिलका लागि उनले कर्णाली विकास बैंकबाट ऋण समेत लिएका थिए । एक दिन नाताले भतिज पर्ने समीर बुढाथोकी उनको घरमा आए । उनले ‘अंकल हाम्रो बैंकले ऋण दिन्छ, सहुलियतमा बनाइदिउँला’ भनी आश्वासन दिएपछि उनले अर्को बैंकको ऋण तिरेर वेस्टर्न डेभलपमेन्ट बैंकबाट २० लाख रुपैयाँ ऋण लिए ।

केही सातापछि ऋण स्वीकृत हुँदा तिनै समीर बुढाथोकीले ५ लाख रुपैयाँ सापटी मागे । १५ लाख रुपैयाँ ऋण उनको खातामा आयो । समीरले सापटी लिएको रकममा थप गरी ६ लाख २९ हजार रुपैयाँ बसन्तको खातामा राखिदिए ।

बैंकमा नियमित रूपमा सावाँ र ब्याजको किस्ता बुझाइरहेका उनले किस्ता तिर्न जाने क्रममा बैंकमा ४५ लाख रुपैयाँ ऋण भएको थाहा पाए । उनले वेस्टर्न डेभलपमेन्ट बैंकका ओमभक्त बुढाथोकी, मनोज बुढाथोकी, सीईओ खिमबहादुर डिसीलाई फोन गरेर ‘२० लाख रुपैयाँको ऋण कसरी ४५ लाख पुग्यो ?’ भनेर आक्रोश पोखे ।

उनीहरूले जवाफ दिए, ‘वेस्टर्न बैंक देव विकास बैंकसँग मर्ज हुन लागेको छ । त्यही भएर सिस्टम गडबडी भएको हुनसक्छ, हामी मिलाउँदै छौं ।’ उनले शंका लागेर मालपोत कार्यालयमा गएर बुझे, मालपोतले पनि २० लाख रुपैयाँ ऋणबापत घर रोक्का राखिएको भन्ने जवाफ पाएपछि उनी चुप बसे । निकैपछि छानबिनका क्रममा मात्रै उनले आफ्नो २० लाख ऋणमा थप २५ लाखको फर्जी ऋण खडा गरिएको थाहा पाए ।

विस्तारै मनोज केसी, बसन्त बुढाथोकी, अर्जुन बस्नेत लगायत ३५ जनाले देव विकास बैंकको दाङ नारायणपुर शाखाबाट १७ करोड ९९ लाख रुपैयाँ ऋण लिएको भेटियो । अस्वाभाविक ऋण प्रवाहपछि देव विकास बैंकबारे नेपाल राष्ट्र बैंकले अध्ययन थाल्यो । राष्ट्र बैंकको विशेष निरीक्षण प्रतिवेदनका अनुसार, ३० फागुन २०७४ देखि १२ जेठ २०७६ सम्म १५ महिनाको अवधिमा ३६ वटा कृत्रिम कर्जा खातामा फर्जी ऋण निकालिएको थियो । र, ती खाताहरूको भौतिक कागजात र फाइल केही पनि थिएन ।

प्रतिवेदनमा भनिएको छ- ‘उक्त कृत्रिम कर्जा खाताबाट विभिन्न खाताहरूमा रकमान्तर गरी रकम झिकेको पाइयो । नयाँ कृत्रिम खाता खोली पुरानो कृत्रिम खाता चुक्ता गर्ने र बाँकी रकम विभिन्न खातामा रकमान्तर गर्ने गरेको पाइयो । कृत्रिम कर्जाबाटै रकमान्तर गरी व्यय भुक्तानी गरेको पाइयो ।’

ऋणीलाई थाहै नभएको ऋण

दाङको वेस्टर्न डेभलपमेन्ट बैंकमा भएको अनियमितता छानबिन गरी नेपाल राष्ट्र बैंकले तयार पारेको प्रतिवेदन ।

पीडितहरूको भनाइ अनुसार, देव विकास बैंकका तत्कालीन अध्यक्ष ओमभक्त बुढाथोकी, सदस्य खड्ग बुढाथोकी र सदस्य नेत्र धिताल अनि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिमबहादुर केसीको मिलेमतोमा नक्कली ऋण प्रवाह भएको हो । योजना कार्यान्वयनका लागि यिनीहरूले नारायणपुर शाखामा समीर बुढाथोकीलाई शाखा प्रबन्धकका रूपमा खटाएको पीडितहरू बताउँछन् ।

अध्ययन प्रतिवेदनले उनीहरूको संलग्नतालाई पुष्टि गरेको छ । प्रतिवेदन अनुसार, देव विकास बैंकको नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीले तीन प्रकारका खाता बनाए, अनि नक्कली ऋण प्रवाह गरे ।

पहिलो, बैंकमा ऋण लिइरहेका ऋणीहरूका नाममा नयाँ खाता खोले, अनि त्यही खातामा थप ऋण हालिदिए ।

दोस्रो, त्यही बैंकबाट पहिले ऋण लिएका तर चुक्ता गरेका खातावालहरूको खाता एक्टिभेट गरे, अनि ऋण हालिदिए ।

तेस्रो, केही नक्कली ऋणीका खाताहरू भने आफैं खोले, अनि विना स्वीकृति ऋण रकम हालिदिए ।

बैंकको नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकी र अर्का कर्मचारी पोषणप्रसाद जैसीको मिलेमतोमा नक्कली विवरण तयार गरी ऋण प्रवाह भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । खातामा ऋण दिनुअघि प्रबन्धक बुढाथोकीले आफैं ऋणीलाई भेट्थे । व्यक्तिगत रूपमा सरसापटी माग्थे अनि केही दिन वा सातामा नै ब्याज सहितको रकम खातामा पठाइदिन्थे ।

फर्जी खाता खोल्ने र ऋण दिने प्रबन्धक समीर बुढाथोकीले आफू फस्ने भएपछि पीडितहरू नै रकम हिनामिनामा संलग्न रहेको बयान दिए । ‘यीमध्ये कतिपय साँच्चिकै मिटरब्याजमा काम गरी मलाई यो स्थितिमा पुर्‍याउन सामेल छन् भने कतिपय निर्दोष पनि छन्’ उनले बयानमा भनेका थिए, ‘मैले नक्कली खाताबाट ट्रान्सफर गरेको पैसा जुन-जुन खातामा गएको छ ती व्यक्तिहरूले यो पैसा बुझेकै हुन् ।’

राष्ट्र बैंकको प्रतिवेदनपछि प्रहरीले ३ भदौ २०७६ मा समीर बुढाथोकीलाई पक्राउ गर्‍यो । जिल्ला प्रहरी कार्यालय दाङले बैंकका ५ जना कर्मचारी, ४२ जना ऋणी, सञ्चालक समितिका ६ जना पदाधिकारी अनि लेखा परीक्षक र लेखा परीक्षण समितिका १/१ जना गरी ५६ जना विरुद्ध मुद्दा चलायो ।

वेस्टर्न डेभलपमेन्ट बैंकका कर्मचारीहरूले बनाएको नक्कली ऋणीहरूको सूची ।

नेपाल राष्ट्र बैंकले गरेको स्थलगत अध्ययन अनुसार आधिकारिक व्यक्तिको स्वीकृति विना नै ऋण प्रवाह भएको थियो । बन्द भएको खाता समेत सक्रिय बनाई ऋण दिइएको थियो । कुनै कागजात पेश नगरेका र कर्जा फाइल खडा नगरिएकाहरूलाई उनीहरूको पुरानो खाताका आधारमा ऋण दिइएको थियो । कतिसम्म भने, ऋण पाएकाहरूको चल, अचल सम्पत्ति समेत बैंकमा रोक्का थिएन ।

फर्जी खाता खोलेर ज-जसको खातामा ऋण हालिएको थियो, एकाध बाहेक अधिकांश निर्दोष थिए । बैंकका प्रबन्धक समीर बुढाथोकीलाई विश्वास गर्नु र खातामा आएको रकम निकालेर उनलाई दिनु नै खातावालहरूको गल्ती थियो । ३६ वटा कृत्रिम कर्जा खाताहरूको भौतिक फाइल खडा गरेको भेटिएन । केही व्यावसायिक र्फममा एकभन्दा बढी व्यक्ति संलग्न भएकाले उनीहरू पनि तानिए ।

‘सापटी माग्दा हामीले उहाँलाई नगद दियौं, पछि खातामा आएको त्यो रकम उहाँ आफैंले वा बैंकबाट फिर्ता दिनुभएको होला भन्ने ठानेका थियौं’ पीडितमध्येका एक विनोद खड्काले अनलाइनखबरसँग भने, ‘हामीले नगद दियौं, त्यसको हिसाबकिताब छैन । तर बैंकबाट खातामा आएको रकम गडबड गरेको पैसा रहेछ, त्यो पैसा किन चलाएको भनेर हामीलाई फन्दामा पारेका हुन् ।’

विभिन्न व्यक्तिको नाममा गएको ऋण रकम चेक वा अन्य विधिबाट ट्रान्सफर गरेर विभिन्न बैंक खातामा पठाइएको थियो । ऋण लिएको केही रकम भने समीर बुढाथोकीले पुरानो फर्जी ऋणकै ब्याज तिर्न प्रयोग गरेको भेटियो । ऋणीको खाताबाट मात्रै उनकोमा १ करोड १२ लाख ट्रान्सफर भएको थियो । ६ वर्षको अवधिमा समीरको बैंक खाताबाट करिब १२ करोड ६७ लाखको कारोबार भएको भेटियो, बाँकी रकम उनले नगदमै कारोबार गरेका थिए ।

जो पीडित, उही कसुरदार

तत्कालीन मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश राजुराम सिलवालको इजलासले बैंकको सञ्चालक समितिका सबै पदाधिकारीहरूलाई सफाइ दियो । उच्च अदालतले बैंकको तुलसीपुर शाखाका प्रबन्धक समीर बुढाथोकी मुख्य योजनाकार भएको ठहर गर्‍यो । अनि ३३ जना ऋणीलाई बिगो, जरिवाना सहित दोषी ठहर गर्‍यो । तीमध्ये सबै थुनामुक्त भइसकेका छन् भने २ वर्ष कैद भुक्तान गरेर पनि जरिवाना बुझाउन नसकेका मनोज केसी तुलसीपुर कारागारमा छन् ।

उच्च अदालतले २०७९ असारमा फैसला सुनाउँदै घटनामा शाखा प्रबन्धक सिलवाल र खातावालहरूको मिलेमतो भएको ठहर गर्‍यो । तर सञ्चालक समितिका पदाधिकारीहरू र प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेतलाई सफाइ दियो ।

‘बैंकमा जिम्मेवार पदमा रही काम गरेको कारणले मात्रै कसुर गरेको ठहर गर्ने विषय विचारणीय देखिन्छ’ फैसलामा भनिएको छ- ‘प्रस्तुत मुद्दामा उनीहरूलाई कुनै दायित्व बहन गराउनुपर्ने अवस्था देखिएन ।’

उच्च अदालत तुलसीपुरले रकम हिनामिना गर्ने काममा संलग्न भएको आरोपमा बैंकको नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई मुख्य कसुरदार ठहर गर्‍यो । अनि बैंकबाट खातावालसम्म भुक्तानी भएको, त्यहाँबाट रकम झिकिएकाले खातावाल समेत यो काममा संलग्न भएको भन्दै नक्कली ऋणीहरूलाई पनि दोषी ठहर गर्‍यो ।

पीडितहरूमध्ये केही उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखेर सर्वोच्च अदालत आइपुगेका छन् भने बिगो र जरिवाना बुझाउन नसक्दा केही थुनामै छन् । पीडितमध्येका एक विनोद खड्काले भने, ‘जेनतेन बिगो र जरिवाना बुझाएर थुनामुक्त भएँ । सबै सम्पत्ति रोक्का भएकाले व्यापार, व्यवसाय सबै ठप्प छ । सर्वोच्चबाट मुद्दा कहिले सकिने हो, टुंगो छैन ।’

उम्किएका सञ्चालकहरू

करिब १८ करोड रुपैयाँ बैंकबाट हिनामिना हुँदा सञ्चालक समितिका पदाधिकारीहरूको कुनै भूमिका नदेखिएको भन्दै सफाइ दिइयो । बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत लगायतले पदीय दायित्व अनुसारको काम नगरेको तर बैंकिङ कसुरमा संलग्न नभएको भनी सफाइ दियो ।

पीडितहरूको भनाइमा, उनीहरूलाई नक्कली ऋण खाता बनाइएको, नक्कली ऋण देखाई खातामा रकम ट्रान्सफर गरिदिएको बारे पत्तो नै थिएन । बैंकको नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई २ लाख रुपैयाँ मात्रै कर्जा स्वीकृत गर्ने अनुमति भएकोमा त्योभन्दा बढी कर्जा आफैं स्वीकृत गरेका थिए । ५० लाखभन्दा बढीको कर्जा स्वीकृत गर्ने अधिकार सञ्चालक समितिलाई थियो ।

राष्ट्र बैंककै अध्ययन प्रतिवेदन र प्रहरीले अदालतमा पेश गरेको आरोप पत्रमा भने बैंकको सञ्चालक समितिका पदाधिकारीहरूदेखि सीईओ डिसीको समेत घटनामा मिलेमतो रहेको उल्लेख छ । वास्तविक बचतकर्ता तथा ऋणीहरूको नाममा नै अर्को फर्जी खाता खोलेर शाखाका प्रबन्धक बुढाथोकीले आफूले लिए बराबरको रकम ट्रान्सफर गरेर झुक्याएका थिए ।

मुद्दाको पुनरावेदनका लागि काठमाडौं आएका एक पीडितका अनुसार, तत्कालीन वेस्टर्न डेभलपमेन्ट बैंक पूरै नातेदारहरूको कब्जामा थियो । बैंकको सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी र सदस्य खड्ग बुढाथोकी काका-भतिज हुन् । खड्ग बुढाथोकी नेपाली कांग्रेस दाङका सल्लाहकार समेत हुन् ।

छानबिन समितिको प्रतिवेदनको अंश ।

अध्यक्ष बुढाथोकी र प्रमुख कार्यकारी अधिकृत खिमबहादुर डिसी काकाससुरा-ज्वाईं हुन् । अध्यक्ष बुढाथोकीकै नातेदार सञ्चालक समितिका सदस्य खड्ग बुढाथोकी हुन् । खड्गका भतिज पर्ने समीरले नारायणपुर शाखाको नेतृत्व गरेका थिए । ती पीडित भन्छन्, ‘हाम्रो खाताबाट निकालेको रकम लगेर उनीहरूले जग्गामा लगानी गरेका थिए, त्यसमाथि समेत छानबिन होस् भन्दा कसैले कुरै सुनेनन् । एक रुपैयाँ नचलाएका हामीलाई फसाए ।’

पीडितमध्येका एक विजय गुप्ता बिगो र जरिवाना बापतको रकम बुझाएर थुनामुक्त भएका छन् । उनका अनुसार, आफू लगायत निर्दोषहरूलाई फसाउन खोजेपछि नक्कली ऋणी बनाइएका बसन्तबहादुर बस्नेत लगायतले बैंकका अध्यक्ष ओमभक्त बुढाथोकी र अरू सञ्चालक विरुद्ध जाहेरी दिन प्रहरी कार्यालय जाने तयारी गरेका थिए ।

‘त्यतिबेला उनीहरू आएर हामीले चलाएको पैसा तिर्छौं, तपाईंहरूलाई अप्ठेरो पर्दैन, अहिले कतै उजुरबाजुर गर्न नजानुस् भने’ गुप्ताले अनलाइनखबरसँग भने, ‘उनीहरू बेइमान रहेछन् । खातावालालाई फसाइदिए, आफूहरू उम्किए । अदालतबाट समेत हामीलाई नै फसाउने काम भयो ।’

खिमबहादुर डिसीले वेस्टर्न डेभलपमेन्ट बैंकको सीईओको नियुक्ति पाउँदा अर्कै बैंकमा हिनामिना गरेको आरोपमा उनीविरुद्ध उच्च अदालत पाटनमा बैंकिङ कसुरको मुद्दा चलेको थियो । नेपाल श्रीलंका मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कर्जा प्रमुख, कम्पनी सचिव एवं नायव महाप्रबन्धक रहेका उनीमाथि २ करोड ५३ लाख रुपैयाँ नोक्सान पुर्‍याएको आरोप थियो ।

मुद्दा फैसला हुने बेलामा ऋण तिरेर फरफारक भएकाले कर्जाको दुरुपयोग भएको भन्न नमिल्ने भन्दै उच्च अदालतले उनीहरूलाई सफाइ दिएको थियो । उच्च अदालतमा मुद्दा टुंगिनुअघि नै डिसी वेस्टर्न डेभलपमेन्ट बैंकको सीईओ नियुक्त भइसकेका थिए ।

उच्च अदालतले बैंकको सञ्चालक समितिका सबै पदाधिकारी अनि प्रमुख कार्यकारी अधिकृतमाथिको आरोप पुष्टि नहुने ठहर गरेको छ । तर राष्ट्र बैंकको छानबिन प्रतिवेदनले बैंकको सञ्चालक समितिका सबै पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत खिमबहादुर डिसी, चार्टर्ड एकाउन्टेन्ट प्रेम भुर्तेल र शाखाका प्रबन्धक समीर बुढाथोकीलाई समेत घटनामा जिम्मेवार ठहर्‍याएको हो ।

मुद्दामा मुछिएका मतकुमार पौडेलले पीडितहरू ठगिनुमा शाखा प्रबन्धक समीर बुढाथोकी मात्रै होइन, प्रमुख कार्यकारी अधिकृत खिमबहादुर डिसी समेत जिम्मेवार रहेको बयान दिएका थिए । बुढाथोकीले आफू, आफ्नो काका र प्रमुख कार्यकारी अधिकृत डिसीले नेपालगञ्जको राँझामा जग्गा खरिद गर्न लागेकाले आपसी मिलेमतोमा रकम निकाल्नुपरेको समेत बयान दिएका थिए ।

अर्का आरोपित बसन्त बुढाथोकीले त २० लाख रुपैयाँ ऋण लिएको आफ्नो खातामा ४५ लाख रुपैयाँको ऋण देखिएपछि बैंकका अध्यक्ष ओमभक्त बुढाथोकी र सीईओ खिमबहादुर डिसीलाई फोन गरेर बताएको बयान गरेका थिए ।

जवाफमा उनीहरूले मर्ज भएकाले सिस्टम बिगि्रएर तल-माथि भएको हुनसक्ने भन्दै ‘हामी मिलाउँछौं, फरक पर्दैन’ भन्ने आश्वासन दिएका थिए । नक्कली ऋणीहरूलाई दोषी ठहर गरेको उच्च अदालतले बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको हकमा उनीहरूलाई कसुरदार ठहर गर्ने प्रमाण देखेन । उच्च अदालतको फैसलामा भनिएको छ- ‘पदीय दायित्व अनुरूप कार्य नगरेको भन्ने आधारमा मात्रै अभियोजित कसुर कायम गर्न मिल्ने अवस्था देखिंदैन ।’

‘हामीलाई यति अन्याय र पीडा भएको छ कि सुनाउने ठाउँ पनि कतै भएन । हामी धाउनुपर्ने सबै ठाउँमा गएर आफ्नो कुरा राखिसकेका छौं । कतै गए पनि न्याय पाइएन’ कैदमा रहेकी मनोजकी श्रीमती पार्वती केसीले भनिन्, ‘मेरो श्रीमान्लाई अन्यायपूर्वक कैद गरेका छन् । सर्वोच्च अदालत गए पनि पुनरावेदन गर्न पाइएन । न्यायका लागि जाने ठाउँ बताइदिनुहोस् ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?