+
+

‘जति पटक आए पनि ऋण घट्दैन, दुःखमात्र बढ्छ’

सोझा महिलालाई दुर्गा प्रसाईंले देखाएको ठूलो आश

पुष्पराज चौलागाईं आभास बुढाथोकी पुष्पराज चौलागाईं, आभास बुढाथोकी
२०८० फागुन १ गते २१:२१

१ फागुन, काठमाडौ । छेउमै लुगाको पोका, चुँडिन लागेको तुने चप्पल । काखमा एक वर्षे छोरालाई दूध खुवाइरहेकी छिन्, बाराकी कलौती देवी ।

अगाडि मञ्चमा विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चर्को स्वरमा भाषण गरिरहेका छन् । भृकुटी मण्डपको स्टेजतिर हात देखाउँदै कलौतीले भनिन्, ‘उहाँले काठमाडौं गए ऋण तिर्न पर्दैन भन्नुभएको छ । त्यही सुनेर आएको हुँ ।’

गाँउमा एक हप्ता अगाडि हल्ला फैलिएको थियो । काठमाडौंमा १ फागुनमा आन्दोलनमा गए लघुवित्तको ऋण छुटकारा मिल्छ । ‘बेटा सानो छ । घरमै कसरी छोडेर हिँड्नु ? आन्दोलनमा हिँडे ऋण तिर्न पर्दैन भनेपछि छोरो बोकेर हिँडेकी हुँ’, कलौतीले भनिन् ।

कलौतीका अनुसार उनको लघुवित्त वित्तीय संस्थाहरुमा तिर्नुपर्ने ऋण ७ लाख रुपैयाँ छ । तर कुन–कुन लघुवित्त भन्ने समेत उनलाई थाहा छैन । त्यही ऋण मिनाहा हुने आशामा घरमा भएको तीन पाथी चामल बोकेर उनी काठमाडौं आइन् । साथमा सानो झोलामा आफ्नो र छोराको लुगा राखेकी छन् ।

बेलुका कहाँ बस्ने, के खाने टुंगो छैन । ‘बसमा १२०० सय तिरेर आएको, हिजो बिहानै घरबाट पकाएर ल्याएको रोटी खाए छु । अब कहाँ बस्ने थाहा छैन’, कलौतीले भनिन् ।

भृकुटीमण्डपमा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान आन्दोलनको कार्यक्रम चलिरहेको छ । बारा, पर्सा, महोत्तरी लगायतका जिल्लाबाट आएका महिलाहरु भने केही घरबाट ल्याएको पोका सिरानी बनाएर सुतेका छन्, केही आपसमा कुरा गरिरहेका छन् ।

त्यही भीडमा छिन् बारा पशुरामपुर–५ की सकिना खातुन (३६) । उनी पनि लघुवित्त वित्तीय संस्थाकी ऋणी हुन् ।

‘लघुवित्तको मान्छे घरमा आएर सताइरहन्छ । आन्दोलनमा हिँडेपछि घरमा आउँदैनन् रे’ ऋण तिर्न नपर्ने आशमा आफूसँगै गाउँका करिब ५० जना आएको सुनाउँदै उनले भनिन्, ‘हामीलाई २० लाखभन्दा तल ऋण तिर्न पर्दैन भनेका छन् ।’

पछिल्लो समय प्रसाईंले लघुवित्तका ऋणीहरुलाई साँवा र ब्याज नतिर्न उर्दी लगाउँदै थिए । २० लाख रुपैयाँभन्दा मुनिको ऋण तिर्न नपर्ने भ्रम छर्दै आएका छन् ।

कतिसम्म भने आन्दोलनमा आएकाहरु कापीकलम लिएर कोही मान्छे अगाडि आएपछि ऋण मिनाहा गर्न आएको सोच्छन् ।

केहीले नागरिकताको फोटो कपी देखाए, केहीले प्रसाईको समूहको सदस्यता लिएको परिचय पत्र देखाए । ‘मेरो नाम नीरा देवी केवट, दुई ठाउँमा गरेर तीन लाख छ’, अर्की महिला नागरिकता देखाउँदै भन्छिन्, ‘मेरो नाम पनि टिप्नुहोस् न सर ।’

‘लघुवित्तका मान्छे घरमै आएर धम्क्याउन थाले । घर खाइदिन्छु भनेका छन् । सर हाम्रो ऋण मिनाहा गरिदिनुहोस् न’, पर्साकी पचिया देवानिन भन्छिन् ।

पर्साकी समता खातुन (३३) लघुवित्तको मान्छेले दिने तनाव झेल्न नसकेर चार वर्षे छोरो बोकेर आन्दोलनमा आएको बताउँछिन् ।

खातुनका अनुसार सासु र उनको नामबाट लिएको ऋण ५ लाख रुपैयाँ भन्दा बढी छ । ‘ऋण तिर्न नसके झुन्डिएर मर भन्छन् । एउटा सानो घर छ, त्यो पनि उनीहरुले लिए हामी कहाँ बस्ने ?’, समता भन्छिन्, ‘लघुवित्तका मान्छे आएपछि हामी कतै गएर लुक्छौं ।’

बारा महागढीमाइ नगरपालिका–१ की रेनुकुमारी देवी केवटले थपिन्, ‘लिएको पैसा भन्दा पनि ब्याज बढी बनाएको छ रे ! हामी सरकारलाई ऋण तिर्न सक्दैनौं भन्न आएको ।’

बाराका ५० बर्षीय दशरथ महरा चमार पनि ब्याज कम गर्न र साँवाका लागि समय दिन अनुरोध गर्छन् । उनका अनुसार उनको परिवारको १२ लाख रुपैयाँ भन्दा बढी ऋण छ । अहिलेसम्म तीन–चार लाख नै ब्याज तिरिसकेको भन्दै उनले भने, ‘ब्याज तिर्न नपर्ने भयो भने त अरु त विस्तारै तिर्न सकिएला ।’

सत्मा खातुन पनि १० महिनाकी दूधे नानी र १० वर्षकी छोरी लिएर मंगलबार बिहानै ५ बजे नै भृकृटीमण्डपमा आइपुगेकी थिइन् । खातुन बैंककी ऋणी हुन् । श्रीमानलाई विदेश पठाउन उनले तीन वर्षअघि बैंकबाट ३ लाख रुपैयाँ ऋण लिएकी थिइन् ।

‘पैसा तिर्न नसकेपछि बैंकका मान्छे घरमा आएर सताउन थाले’, काठमाडौं आउनुको कारण सुनाइन्, ‘यहाँ आए ऋण मिनाहा हुन्छ, बैंकको पैसा तिर्नु पर्दैन । बैंकवालाले सताउँदैनन् भन्ने सुनेर बालबच्चा बोकेर आएँ ।’

बारा कञ्चनपुरकी २० की कुरासा खातुनको कहानी पनि यो भन्दा फरक छैन । दुई छोरीको विवाह गर्न भनेर उनले छिमेकी, नेशनल, फरवार्ड लघुवित्त संस्थाबाट क्रमशः ५० हजार, ६० हजार र डेढ लाख रुपैयाँ ऋण लिएकी थिइन् ।

घरमा कमाउने कोही नभएपछि ऋण तिर्न सकिनन् । दुई वर्षमा तिर्नुपर्ने रकम बढेर ६ लाख पुग्यो । ‘पैसा तिर्न नसकेपछि लघुवित्तका मान्छेहरु घर घेर्र्न आउन थाले । घर खेत खाइदिन्छु भनेर धम्क्याउन थाले’, उनले भनिन्, ‘काठमाडौंमा दुर्गा प्रसाईंको कार्यक्रम हुँदै छ । त्यहाँ गए लघुवित्तको ब्याज मिनाहा हुन्छ भनेर फकाए । ऋणबाट मुक्ति पाइन्छ भनेपछि म पनि यहाँ आए ।’

उनका अनुसार प्रसाईंका मानिसहरुले काठमाडौं आउदा चाहिने लत्ता कपडा र खानेकुरा आफैं ल्याउन भनेका थिए । गाडी भाडा आफैं जोरजाम गर्न भनिएको थियो । ‘लघुवित्तबाट मुक्ति पाइन्छ भनेर १२ सय रुपैयाँ बस भाडा तिरेर यहाँ आयौं’, उनले भनिन् ।

रौतहटकी सीतादेवी मण्डल पनि ऋण मिनाहाको आशमा दोस्रो पटक काठमाडौं आएकी छिन् । मंसिरको आन्दोलनमा आएका बेला लडेर खुट्टामा चोट लागेको थियो । अहिले फेरि काठमाडौं आएकी उनी ऋण मिनाहा नगरेसम्म घर नफर्किने बताउँछिन् ।

‘हामीलाई ऋण मिनाहाको मात्रै पीर हो’, मञ्चबाट भाषण गरिरहेका प्रसाईंले राजतन्त्र ल्याउने बताइरहँदा मण्डलले असहमति राखिन्, ‘राजा आउनुपर्छ भनेर आन्दोलन गर्दा मारिहाल्छन् नि ! प्रहरीले कुटपिट गरेर हामीलाई जेल हाल्छन् नि !’

सिरहा गोलबजारकी शीला खाती पनि लघुवित्तबाट लिएको ऋण मिनाहा हुने आशमा तेस्रो पटक काठमाडौं आएकी छन् । यसअघि उनी दुर्गा प्रसाईकै नेतृत्वमा ०७९ चैतमा, ०८० असार र मंसिरमा भएको कार्यक्रममा सहभागी भएकी थिइन् । यो पटक आफूसहित सिरहाबाट मात्र ५० जना भन्दा धेरै चामल र लत्ता कपडा बोकेर आफ्नै खर्चमा काठमाडौं आएको उनले सुनाइन् ।

लघुवित्त वित्तीय संस्थाबाट लिएको पाँच लाख ऋण नौ लाख पुगेपछि घर बस्न नसक्ने भएको उनले बताइन् । ‘ऋण तिर्न नसकेपछि दिनरात तङ गर्न लागे’, उनले भनिन्, ‘मुक्ति पाइन्छ कि भनेर हिँड्न थाल्यौं ।’ तर तीन पटक यस्ता कार्यक्रममा हिँड्दा पनि ऋण मिनाहा नभएको खातीले सुनाइन् ।

ऋण मिनाहा हुने नाममा आफूहरुलाई बोलाएर भिड जम्मा गर्नेमात्र काम भएको उनलाई लाग्न थालेको छ । ‘आफ्नै पैसाले यहाँ आउने हो । बस्दा खाँदा उल्टै खर्च बढ्छ’, उनले भनिन्, ‘जति पटक आएपनि ऋण घट्दैन, उल्टो दुःखमात्र बढ्छ ।’

बारा बरीयारपुरकी राम दुलारी देवीले (४८) पनि गुनासो गरिन्, ‘एक वर्ष अगाडि पनि ऋण मिनाहा हुन्छ आन्दोलनमा आएका थियौं । अहिलेसम्म केही भएन ।’

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?