+
+

७ दिन हिँडेर आए लघुवित्तका ऋणी, भन्छन्– ऋणले उठीबास लगायो !

‘पैसा हुँदासम्म ऋण तिरेँ,’ बर्दियाकी चमेली खड्का थारु भन्छिन्, ‘जति तिरे पनि ऋण घटेन । किस्ता बुझाउन नसक्ने भएपछि उल्टै ऋण बढ्न थाल्यो ।’

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० फागुन ७ गते २१:०९

७ फागुन, काठमाडौं । बर्दिया ठाकुरद्वारा नगरपालिका–१ की ३७ वर्षीया चमेली खड्का थारु एक सातायता बिरामी छिन् । बिरामी हुनुको पीडा भुलेर उनी चितवन मुग्लिङ हुँदै ७ दिन निरन्तर हिँडेरै सोमबार काठमाडौं आइपुगिन् ।

‘सात दिन लगातार हिँडेर होला खुट्टा फुट्ला झैं दुखेको छ’, थकित चमेलीले दुःखेसो पोखिन्, ‘ज्वरोले शरीर गलेको छ । बोल्ने पनि ताकत छैन ।’

लघुवित्तबाट ऋण लिएकी चमेली तिर्न नसक्ने भएपछि मिनाहा हुन्छ कि ! भन्ने आशामा हिँडेरै काठमाडौं आइपुगेकी हुन् । ऋण दिने लघुवित्तले तिर्नका लागि पटक पटक ताकेता गरेपछि सरकारलाई समस्या सुनाउन पैदल आएको उनी बताउँछिन् ।

चार वर्षअघि श्रीमानलाई विदेश पठाउन चमेलीले फरवार्ड, ग्रामीण विकास, मिर्मिरे, एनएमबीलगायतका लघुवित्त वित्तीय संस्थाबाट १२ लाख रुपैयाँ ऋण लिएकी थिइन् ।

सुरुमा उनले फरवार्डबाट ३ लाख लिइन् । त्यसपछि अरू लघुवित्तबाट एकपछि अर्काे गर्दै ऋण थपिन् ।

‘एउटा लघुवित्तबाट ल्याएको ऋण तिर्न अर्काेबाट ऋण ल्याएँ’, उनी भन्छिन्, ‘यसरी म एकपछि अर्काे गर्दै ऋणमा फस्दै गएँ ।’

त्यसमाथि लघुवित्तको चर्काे ब्याजदर । पाँच लघुवित्तबाट ल्याएको ऋण निखन्न नसक्ने अवस्थामा पुगिन् चमेली । ‘पैसा हुँदासम्म ऋण तिरेँ, तर, जति तिरे पनि ऋण घटेन । किस्ता बुझाउन नसक्ने भएपछि उल्टै ऋण बढ्न थाल्यो’, उनी भन्छिन् ।

किस्ता तिर्न नसकेकै दिनबाट उनलाई लघुवित्तका कर्मचारीले ताकेता गर्न थाले । घरमा दिनरात लघुवित्तका कर्मचारी आएर सताउन थालेपछि उनी घरमै बस्न नसक्ने भइन् ।

‘घरमै बस्न नसक्ने भएपछि जंगल गएर लुक्थ्यौं’, उनी सम्झिन्छिन्, ‘बेलुका फर्किंदा पनि घरमै बसिरहेका हुन्थे ।’

हुँदाहुँदा लघुवित्तका कर्मचारीले ऋण उठाउने नाममा धान, चामल, ग्यास चुलोसमेत उठाउन थाले । लघुवित्तका कर्मचारीले पैसा मागेको माग्यै गरेको देखेर उनका १२ वर्षको छोरा पढाइ छाडेर कमाउन भन्दै भारततिर लागे ।

लघुवित्तका कर्मचारीको धरपकड रोक्न र ऋण मिनाहा उनको मुख्य माग हो । उनीसँगै बर्दियाका ८० जना लघुवित्तका ऋणी न्याय माग्न काठमाडौं आएका छन् ।

उनीहरू बर्दियादेखि मुग्लिङसम्म गाडीमा आएका थिए भने त्यहाँदेखि भने पैदल हिँडेका हुन् ।

‘लघुवित्तले उठिबास नै लगायो,’ चमेली दुःखेसो पोख्छिन्, ‘घरमा बस्न सक्ने अवस्था भएन । सरकारलाई हामीमाथि परेको समस्या सुनाउँला भनेर यहाँ आयौं ।’

****

सिरहा लहान नगरपालिका–१४ की कैलाशदेवी चौधरी पनि लघुवित्तको ऋणी हुन् । उनी पनि चितवनदेखि काठमाडौंसम्म पैदल हिँडेर आएकी हुन् । सिरहाबाट उनीसँगै २०० जना भन्दा बढी लघुवित्तका ऋणी काठमाडौं आएका छन् ।

छोराछोरीको बिहे गर्न, छोरीलाई एमबीबीएस पढाउन भनेर कैलाशदेवीले पनि १९ भन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिएकी थिइन् । १९ वटाको ऋण २४ लाख रुपैयाँ हाराहारी रहेको उनको भनाइ छ ।

पहिलो दुई वर्ष उनले ऋणको किस्ता तिरिन् । सुरुमा ८ प्रतिशत ब्याजदर भनेर लिएको ऋण पछि १६ प्रतिशतसम्म पुग्यो ।

जति तिर्दा पनि ऋण सकिने संकेत नदेखेपछि उनले किस्ता तिर्न छाडिन् । ‘पैसा तिर्न नसकेपछि लघुवित्तका मान्छे घरमा आएर सताउन थाले’, कैलाशदेवीले भनिन्, ‘बिहान आए पनि धम्क्याउने, राति आए पनि धम्क्याउने । गाली गलौच पनि उस्तै गर्ने ।’

लघुवित्तका कर्मचारीको धाकधम्की सहन नसकेपछि उनी लुक्दै र भाग्दै बसिरहिन् । त्यही बेला ऋण मिनाहाको माग गर्दै गाउँका अरु ऋणीहरु पनि काठमाडौं जाने सुनेपछि उनी पनि साथ लागेर आएकी हुन् ।

‘सडकमै सुत्ने र खाने गर्‍यौंं । रातभरि चिसो शीतले झन्डै बिरामी परिनँ,’ उनी भन्छिन्, ‘घर बस्न नदिएपछि के गर्नु ?’

****

प्युठानकी इसरा विक पनि लघुवित्तको ऋणको किस्ता तिर्न नसक्ने भएपछि हिँडेर काठमाडौं आइन् ।

इसराले छोरालाई गाडी किन्न भनेर तीन वर्षअघि १० लाख ऋण लिएकी थिइन् । दुई वर्ष लगातार तिर्दा पनि ऋण तिरेर सकिनन् ।

‘गाडीबाट कमाइ भएको पैसा किस्ता तिरेको तिर्‍यै गर्‍यौं’, इसरा भन्छिन्, उनको गुनासो छ, ‘त्यसपछि ऋण तिर्न नसक्ने भनेर हात उठाएँ । अहिले उल्टै ऋण बढेर १५ लाख छ भनेर सताइरहेका छन् ।’

उनले तिर्नै नसकिने ऋणको भारीबाट मुक्ति पाउन सरकार समक्ष हारगुहार गर्न यहाँ आएको बताइन् ।

‘जति ऋण तिरे पनि सकिएन, हामी रुने ठाउँ अन्त कतै नभएपछि सरकारलाई हाम्रो आवाज सुनाउन आएका हौं,’ इसराले भनिन् ।

****

पूर्वदेखि पश्चिमसम्म लघुवित्तका ऋणी पैदल यात्रा गरेर सोमबार बिहान काठमाडौं आइपुगेका छन् । १ फागुनमा मुग्लिन आइपुगेका उनीहरु त्यहाँबाट सातौं दिनमा काठमाडौं आइपुगेका छन् ।

उनीहरूले आफूहरुको माग पूरा नभएसम्म काठमाडौंमै धर्ना, जुलुस गरेर बस्ने बताएका छन् । देशभरबाट आएका लघुवित्तका ऋणीको संख्या करिब तीन हजार हाराहारी छ ।

लघुवित्त ऋणीहरुको संघर्ष समितिका अनुसार अझै केही मानिसहरु आउँदैछन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?