+
+

हात्ती महोत्सवमा हात्तीको क्याराभान देखाइने

सुवास पण्डित सुवास पण्डित
२०८० पुष ४ गते २०:००

४ पुस, चितवन । चितवनका प्रमुख पर्यटकीय गन्तव्‍य सौराहामा हुने चितवन हात्ती तथा पर्यटन महोत्सवमा हात्तीको क्याराभान देखाइने भएको छ । सौराहामा नीजि रुपमा पालिएका ६० हात्ती र सरकारी हात्ती (निकुञ्जका हात्ती) हरुको क्याराभान (एकै लाइनमा मिलाएर हिडाउने) देखाइने भएको हो ।

यहीँ पुस १० गतेदेखि १४ गतेसम्म सौराहामा हुने महोत्सवमा हात्तीसँग सम्बन्धित विभिन्न गतिविधि र क्रियाकलाप गरिने आयोजना क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ । कोरोना भाइरसको महामारी पछि पहिलोपटक गर्न लागिएको यसपटकको महोत्सवमा हात्तीका लागि अनुकुल हुने गतिविधी मात्रै गरिने महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले जानकारी दिए ।

उनका अनुसार हात्तीको श्रृङ्गार, हात्ती वनभोज जस्ता कार्यक्रम हुनेछन् भने, हात्ती दौड, हात्तीको फुटवल र हात्ती पोलो जस्ता कार्यक्रम नहुने भएका छन् । हात्ती वनभोज कार्यक्रममा १ सय हात्ती सहभागी वन्ने छन् ।

सुरु सुरुमा हात्ती दौडका रुपमा कार्यक्रम गर्ने गरिए पनि पछि केही संरक्षणकर्मीहरुले विरोध गरेपछि आयोजकले महोत्सवको स्वरुप बदलेका हुन् । मुख्य रुपमा हात्ति सफारी र हात्तिका गतिविधी हेर्ने उद्धेश्यले नै मानिसहरु तेस्रो पर्यटकीय नगरी सौराहामा आउने गर्दछन् ।

क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सवमा २० हजारभन्दा बढि पर्यटकहरु आउने अपेक्षा गरिएको छ । सौराहामा ११२ भन्दा बढि होटल तथा रिर्सोट र ८० भन्दा बढि रेष्टुरेन्टहरु छन् ।

एक रातमा ६ हजार ५ सय पर्यटकहरू राख्न सक्ने क्षमता सौराहाको छ । क्षेत्रिय होटल संघ चितवन सौराहाका अध्यक्ष गंगा गिरीले कोरोना भाइरसको महामारी पछि पहिलोपटक गर्न लागिएको महोत्सवले सौराहाको पर्यटनलाई रिब्राण्डिङ्ग गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

हात्तीसँग जोडिएको सौराहाको पर्यटन व्यवसायलाई महोत्सवले थप टेवा दिने उनले बताए । महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमसहित आदिवासी जातजातिका विभिन्न कला संस्कृति पनि देखाउने कार्यक्रम रहेको छ ।

संघका सचिव महेश खनालले हात्ती पोलोले जस्तै हात्ती महोत्सवले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित गर्ने बताए । हात्तीका विषयलाई अनावश्यक रुपमा उछालेर भ्रम फैलाउने काम जायज नभएको उनको भनाइ छ ।

सचिव खनालले हात्तीको छावाहरुले विस्तारै विस्तारै फुटवल खुट्टाले हानेको दृश्य निकै रोचक हुने भन्दैं त्यसलाई विरोधको विषय बनाउनुपर्ने कुनै जरुरी नभएको तर्क गरे । चितवनमा हुन लागेको हात्ती महोत्सवको १७ औं संस्करण हो ।

सधैं बाघमारा वनको चौरमा हुँदै आएको महोत्सव यस पटक रत्ननगरपालिका-७ चित्रसारीनजिकैको चौरमा गर्न लागिएको छ । महोत्सवको मुख्य सहआयोजकमा युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था लिमिटेड र रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान) नेपाल चितवन शाखा रहेका छन् ।

सौराहामा कसरी सुरू भयो हात्ती दौड प्रतियोगिता ?

२०६० साल ताका कोरीयामा बसेका एक नेपाली सौराहा आए । उनले सौराहाको पर्यटन व्यवसाय बढाउन महोत्सव गर्ने भनेर सुझाए ।  उनले हात्तीसँग सम्वन्धित रहेर महोत्सव गर्न सके पृथक देखिने र मानिसहरु हेर्नका लागि सौराहा आउने सझुाव दिए ।

पहिलो बर्ष २०६० सालमा उनकै योजनामा हात्तीको लावालस्कर बनाएर सँगसँगै हिडाएर राप्ती नदी तारेर पहिलो वर्ष अन्र्तराष्ट्रिय हात्ती दौड प्रतियोगिता आयोजना गरियो । त्यतिबेला सौराहामा जम्मा १६ वटा नीजि हात्ती थिए । केही हात्ती निकुञ्जसँग माग गरियो । निकुञ्जले पनि सहयोग ग¥यो । निकुञ्जका र नीजि हात्ती गरी ३० वटा हात्ती दौडका लागि प्रयोग भए ।

अर्को वर्ष हात्ती दौडका लागि भनेर हात्तीहरुलाई दौडाउन डोरी टाँगेर बनाइयो । तर, हात्तीहरु ट्रयाक वसेर दौडिन इन्कार गरे । सिधा दौडन सकेनन् । एकै ठाँउमा थुप्रिए ।  अर्को बर्षको हात्ती दौड अगाडि सँगसँगै दौडाउनका लागि दौड अघि नै अभ्यास गराइयो । त्यो वर्ष भने व्यवसायीहरुले भनेजस्तैं गरि हात्तीहरु सँगसँगै दौडिए ।  हात्ती दौडलाई पहिले राष्ट्रिय र पछि अन्तर्राष्ट्रिय हात्ती दौडको नामाकरण गरियो ।

छैटौं संस्करणअघिसम्म हात्ती दौड प्रतियोगिता दशैं लगत्तै(कार्तिक महिनामा) हुन्थ्यो । त्यसपछि भने समय परिर्वतन गरेर पौष ११ गते ल्याइयो । यसको पनि कारण छ । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारी सौराहा आएका बिदेशी पर्यटक सौराहा नै खाली गराए हिडँथे ।

उनीहरु कि त आफ्नै देश फर्कन्थे अथवा नेपालमै वसेपनि ठूला शहरमा गएर क्रिसमस र नयाँ वर्ष मनाउने गर्दथँे । यो समयमा सौराहा उनीहरुलाई भुलाउन लागि क्रिसमसको समय पारिएको हो ।  तर, यसले आन्तरिक पर्यटक बढाए पनि बिदेश पर्यटक खासै बढाउन नसकेको निष्र्कष व्यवसायीहरुको छ ।

‘फुड फेष्टिवल र हात्ती महोत्सवले पर्याप्त आन्तरीक पर्यटक बढेपनि विदेशी पर्यटक बढन सकेनन’ क्षेत्रिय होटल संघ सौराहाका पूर्व अध्यक्ष गिरीधारी चौधरीले भने ।

हात्ती दौड प्रतियोगिता १० औं संस्करणबाट हात्ती महोत्सवमा बद्लियो । आयोजकका अनुसार हात्तीसँग सम्वन्धित अन्य गतिविधीहरु जस्तैं हात्तीका छावाहरुको फुटवल, हात्तीको श्रृंगार, वनभोज जस्ता कार्यक्रम थप गरेर यसको दायरा बढाइएको हो ।

कतिपय संरक्षणकर्मीहरुले हात्ती दौडाउने प्रतियोगिताले जनावरहरुको अधिकार हनन भएको आवाज उठाएपछि यसको नाम परिवर्तन गरेर हात्ती महोत्सव नामाकरण गरिएको हो । हात्ती दौडबाट नाम परिवर्तन गरेर हात्ती फास्टवाक प्रतियोगिता राखियो । यो महोत्सवको एउटा विधा बन्यो ।

२०६७ साल अघिसम्म चितवनको मेघौलीमा हुँदै आएको अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितालाई संरक्षण गर्ने हेतुले सौराहाका व्यवसायीहरुले १३ औं संस्करणको हात्ती महोत्सवमा सुरु गरे । तर, पछि यसले पनि निरन्तरता पाउन सकेन ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?