+
+
फिल्म र समाज :

अलपत्र ‘फूल’हरुका नाममा

यज्ञश यज्ञश
२०८१ वैशाख १५ गते १७:००

किरण राव निर्देशित ‘लापता लेडिज’ हेरेको धेरै दिनपछि बल्ल यो लेख लेख्ने समय मिल्यो । म यो फिल्म नेपालका हलमै रहँदा नै यसबारे केही लेख्न चाहन्थें ।

चाहेजस्तो सधैं कहाँ हुन्छ र ? हुन्थ्यो भने पुष्पा-जया त्यसरी भाग्नु नै पर्ने थिएन, न त यास्मिनले त्यसरी भिडियोमा एक्लै बोल्नुपर्थ्यो, न त्यो जैन साधुलाई क्यान्सर हुन्थ्यो ।

तपाईं किरण रावका सिनेमाको दर्शक हो भने तपाईंले यी नाम चिन्नुहुन्छ । यदि हेर्न पाउनुभएको छैन भने उनले निर्देशन गरेका ‘धोबीघाट’ र ‘लापता लेडिज’ एवं उनले प्रस्तुत गरेको आनन्द गान्धीको ‘सिप अफ थिसिएस’ हेर्नुहोला ।

म किरण रावका फिल्मको प्रशंसक हुँ भन्दा हुन्छ । सिनेमा कलाप्रतिको उनको प्रतिबद्धता र बेलाबेला ‘एनिमल’जस्ता फिल्मका टक्सिक मेल प्रस्पेक्टिभबारे उनका टिप्पणी पनि मलाई रोचक लाग्छन् ।

‘धोबीघाट’मा पेन्टर अरुणको भूमिकामा आफ्ना स्टार पति (तत्कालीन) आमिर खानलाई लिन उनले आनाकानी गरेपछि आमिरले अडिसन दिएर छानिएको बताएका थिए ।

यसपालि ‘लापता लेडिज’मा त आमिरले अडिसन दिएर पनि ‘दरोगा’को भूमिका पाएनन्, यो भूमिका भोजपुरी स्टार रवि किशनको भागमा पर्‍यो । जबकि आमिर यो फिल्मका निर्माता हुन् । यसबाट पनि किरणको सिनेमाप्रतिको लगाव र आफ्नो छनोटको प्रष्टता दर्शिन्छ ।

‘लापता लेडिज’ खासमा कुनै खास पात्रको भन्दा पनि उत्तर भारतको ग्रामीण समाजको कथा हो । किरणको पहिलो फिल्म ‘धोवीघाट’मा मुम्बई सहरजस्तै ‘लापता लेडिज’मा भारतको एक गाउँले मुख्य पात्रको भूमिका पाएको छ । यो सन् २००१ को निर्मल प्रदेश हो ।

काल्पनिक नाम दिइएको निर्मल प्रदेशलाई खासमा बिहार, उत्तर प्रदेश, हरियाणा, पञ्जाबजस्ता राज्यको कुनै गाउँ मान्न पनि सकिन्छ । अथवा ती सबैको अंश यसमा छ भनेर मान्न पनि सकिन्छ । अझै नेपाली कोणबाट हेर्दा नेपालका गाउँको जीवन र संस्कृतिको झलक पनि यसमा देख्न सकिन्छ, रेलबाहेक ।

यो कथा हो विवाह गरेर नयाँ दुलही लिएर गाउँ फर्किइरहेको सुरजमुखी गाउँको दिपु नाम गरेको उत्साही नवयुवाको । उसको उत्साह रातको सूर्यमूखी फूलजसरी तब ओइलाउँछ, जब घर पुग्दा थाहा हुन्छ– रेलमा उसकी दुलही साटिइछन् ।

उसले आफ्नी भनेर अर्कैकी नवविवाहिता दुलहीलाई हात समातेर घर लिएर आइपुगेको र आफ्नो प्रेम बसेकी दुलही रेलमै छुटेको थाहा पाएपछि उसको जीवनमा केकस्तो हुरीबतास चल्छ भन्ने कथा ‘लापता लेडिज’को सतहको कथा हो । फूल र दिपुको छटपहाटमा यसको प्रेमकथा लुकेको छ ।

फिल्ममा प्रेमकथा मात्रै लुकेको छैन, सबभन्दा ठूलो कुरा लुकेको छ– मानिसको पहिचान र अस्तित्वप्रतिको प्रश्न । फिल्ममा एउटा संवाद छ– ‘अनुहार नै त मान्छेको पहिचान हो, अनुहार छैन त केही छैन ।’ युवतीको अनुहार छोप्ने विवाहको घुम्टोका कारण पैदा हुने गल्तीमा यो ‘फिल्म’ लुकेको छ, जसले समाजका विभिन्न पाटोको सत्य उजागर गरिदिन्छ ।

यो घुम्टो इलाम बजार छोप्ने बादलुको घुम्टोजस्तो होइन, यो त व्यक्तिको पहिचान, उसको आत्सम्मान र उसले दुनियालाई हेर्ने दृष्टि नै छेकिदिने घुम्टो हो । फिल्ममा घुम्टोमा छोपिएकाले संसारलाई हेर्दा कस्तो देखिन्छ भन्ने दुलहीका ‘पिओभी सट’हरु पनि छन्, जसमा संसार पूर्णतः ब्लर वा धुमिल मात्रै देखिन्छ ।

अझ रोचक त अनुहारलाई पहिचान भनेर त्यो मानिसले भन्छ, जसकी पत्नी कालो बुर्खामा पूरा छोपिएकी छन् । हाम्रो समयको सांस्कृतिक ढोंगलाई फिल्मको यही एक दृश्यले उजागर गरिदिन्छ ।

यो खोजको पनि कथा हो । फिल्मका पात्रहरु आआफ्नो खोजमा निस्किएका छन् । जीवनभर चौकीदारी गरेर थाकेका वृद्ध खटियामा पल्टिएर ‘जागते रहो’ भन्दै त्यही आवाजमा आफ्नो इतिहास खोज्दैछन् । दीपु हराएको आफ्नो प्रेम खोज्दैछ ।

फूल हत्केलामा मेटिन लागेको आफ्नो पति/प्रेमीको नाममा उसको अनुहार खोज्दैछिन् । मौसी ठेलामा स्वाभिमान खोज्दैछिन् । र, समाजमा फैलाइएको ‘फ्रड स्किम’बारे युवतीहरुलाई जागरुक बनाउँदैछिन् । जया/पुष्पाको खोजको आफ्नो संसार छ ।

कहिलेकाहीं भनिएको कुरा भन्दा पनि समयको कुन बिन्दुमा त्यो कुरा भनियो भन्नेले ठूलो अर्थ राख्छ । ‘लापता लेडिज’ले समाजले महत्वहीन ठान्ने फूलहरुको सुगन्धको कथा यस्तो समयमा भन्यो जुनबेला पूरा बलिउड ‘एनिमल’, ‘जवान’, ‘पठान’ र ‘फाइटर’जस्ता फिल्मका बारुदको गन्धमा रुमल्लिइरहेको थियो । यस अर्थमा पनि ‘लापता लेडिज’ थप महत्वपूर्ण फिल्म बन्न पुग्यो ।

सयौं करोडको बजेट, सुपरस्टारहरुको चकाचौधपूर्ण उपस्थिति, करोडौंको प्रचार संयन्त्र र हजार करोडको व्यापारको आँकडाभित्र निर्देशकले समाजलाई भन्न खोजेको कुरा चाहिँ के हो भनेर सिला खोजेझैं खोज्नुपर्ने समयमा समाजलाई सिधा सम्वोधन गरिने फिल्मको अर्थ धेरै बढेर जान्छ । र, त्यो झन् व्यापक तब हुन्छ जब यसले सीमापारको समाजलाई पनि एक दुई सिर्कना लगाइदिन्छ ।

लेडिजहरु केवल भारतमा मात्रै लापता छैनन्, नेपालमा पनि ‘गुमसुदा’ छन् । नेपाली समाजले पनि वर्षौंदेखि कहिले त्यही विवाहको घुम्टोमा त कहिले दहेजका नाममा थुप्रै फूलहरुलाई नफ्रिइँदै चुँडेर फालेको छ ।

बलिउड फिल्म र मूलधारका भारतीय सञ्चारमाध्यमलाई आधार मान्ने हो भने मोटामोटी यो समयको भारतलाई तीन भागमा बाँड्न सकिन्छ । मिडियाले देखाउने एउटा भारतमा हजार करोडको एउटा ‘प्रि–वेडिङ’ समारोह छ ।

सबभन्दा धनी भारतीय व्यापारीका छोराको यो बिहेपूर्वको समारोहमा उपल्लो खुड्किलोमा बसेको समाज छ । यो समाजमा रिहाना, मार्क जकरवर्ग र बिल गेट्सजस्ता विदेशी पाहुना पनि छन् । दुलाहाको हातमा ४०–५० करोडको घडी छ ।

यो घडीको चर्चा देख्दा लाग्छ, यो घडीमा समयलाई नै केही मिनेटका लागि रोकेर राख्नसक्ने खुबी छ ! नेतादेखि बाबासम्म, कलाकारदेखि विश्वका धनाढ्यसम्म एउटै समारोहमा जम्मा गर्नसक्ने यो शक्ति व्यापारीको धनको हो कि विश्वबजारमा भारतको बढ्दो प्रभावको हो भन्नेबारे छुट्टै छलफल गर्न सकिन्छ ।

बलिउडले देखाउने दोस्रो भारत छिमेकी पाकिस्तानसँग लडाइँमा व्यस्त छ । यो संसारमा न मानिसको भोक देखिन्छ, न शोक । न यहाँ विकासका कुरा देखिन्छ न अम्बानीको धुमधडाका नै देखिन्छ । देशलाई जोगाउन ज्यान दिन उद्धत केही जासुस, केही सैनिक र तिनलाई नेतृत्व गर्ने इमान्दार र बहादुर नेताको प्रतिछाया यो भारतमा देखिन्छ ।

यसकै बीचमा कतै हराएको तेस्रो भारत छ, जहाँ अलपत्र फूलहरु आफ्ना सपना जोगाउने ठेगाना खोज्दै भौंतारिइरहेका छन् । जाने ठाउँ मात्र होइन, आएको ठाउँबाट समेत नाता तोडिएका यस्ता फूलका कथा पर्दामा आक्कल झुक्कल मात्र देखापर्छन् । यसका लागि किरण र आमिरजस्ता, सुधीर मिश्रा र देवासिस मखिजाजस्ता, अनुभव सिन्हा र हंसल मेहताजस्ता फिल्ममेकरको आवश्यकता पर्छ ।

फिल्म हेर्दाहेर्दै मलाई लाग्यो– सायद ‘लापता लेडिज’मा घरबाट भागेकी केटी पुष्पा/जया ‘धोबीघाट’को भिडियो टेपकी केटी यास्मिन हो कि ? (यहाँ फिल्मको प्लटबारे चर्चा हुनेछ । तपाईंले फिल्म हेर्नुभएको छैन भने यहीं रोकिन सक्नुहुन्छ ।) वा त्यो भइदिएको भए ? यास्मिनलाई पनि बिहे गर्न मन थिएन, जयालाई पनि छैन ।

यास्मिन भाग्न सकिन र आफूलाई कत्ति पनि माया नगर्ने, अर्की युवतीसँग सम्बन्ध भएको केटासँग मुम्बई आइपुगी । मुम्बई सहर उसलाई सुरुमा चमत्कार लागेको थियो । कुनै अर्को सहरमा भएको भाइलाई भिडियोमा चिठ्ठी पठाउनलाई उसले भिडियो रेकर्ड गर्न सुरु गरी । मुम्बईमा उसको कुरा सुनिदिने यही भिडियो क्यामेरा मात्रै छ । यही घरकी एकजना वृद्धा छन्, जो कसैसँग केही बोल्दिनन् ।

एकदम मौन उनी आफ्नो मनभित्र समुद्रका सहर लिएर बसेकी छन्, जो किनारमा आएर मानिसहरुले बगाएका आँसु मिसिएर अझै नुनिलो हुँदै गइरहेको छ । यास्मिन जसरी नै अरुले खोजेको पतिसँग विवाह गरेकी भए जयाको के स्थिति यास्मिनको भन्दा फरक हुने थियो त ?

‘लापता लेडिज’मा यो पात्रको बोली फुट्छ । यो पात्र ‘लापता लेडिज’मा एक वृद्धका रुपमा रुपान्तरित भएको छ, जसले केवल एउटा मात्रै कुरा गर्छ– जागते रहो । सन् १९५६ मा अमित मित्रा र शम्भु मित्राले निर्देशन गरेको फिल्म थियो– ‘जागते रहो ।’

राज कपुरले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्म गाउँबाट मुम्बई सहर आएको युवाको एक रातको कथा हो । पानीको प्यास मेटाउनमा सहरमा भौंतारिंदा उसले एक रातमा देख्ने सहरको खोक्रोपन, दोहोरोपन र सम्पन्नताभित्रको गरिबीलाई व्यङ्ग्य गर्ने यो फिल्म एउटा क्लासिक हो ।

भारतमा चौकीदारी गर्नेहरुले रातभरी लठ्ठी बजाउँदै ‘जागते रहो’ भन्ने गर्छन् । ‘लापता लेडिज’का यी वृद्धले पनि आफ्नो सम्पूर्ण जीवन चौकीदारीमा बिताए । चौकीदार भनेको साक्षी हो । सहरका सारा गतिविधि, मानिसहरुका परिवर्तित व्यवहारलाई यिनले सबभन्दा नजिकबाट देखेका हुन्छन् । यी अशक्त वृद्ध आज घरबाहिर खटियामा लडिरहेका छन् । तर, ‘जागते रहो’ भनेर चनाखो भउ भनेर आवाज दिने उनको बानी हटेको छैन ।

‘धोबीघाट’मा आमिर खानको चरित्र पेन्टरको थियो । ‘लापता लेडिज’मा एकजना चित्रकार छन्– दीपक कुमारकी भाउजू । यी प्रतिभावान महिला आफ्नो कलासँग बेखबर भएर चुलोचौकोमा व्यस्त छन् । घरमा कसैलाई उनको कलाबारे थाहा पनि छैन, कसैको ध्यान पनि छैन ।

फिल्ममा एक मात्र महिला पात्र छिन्– जसको आफ्नो आवाज छ । जोसँग कोही दबेर बसेका छन् । ती हुन्– रेलवे प्लेटफर्ममा ठेला चलाउने ‘मौसी’ । फेमिनिस्ट सुनिने यी मौसी कडा र दयालु छन् ।

ठाडो बोल्छिन् तर समझदार छन् । फिल्ममा आफ्नो काममा विश्वास भएकी, आर्थिक रुपमा आत्मनिर्भर र सक्षम महिला पनि यी मात्रै छन् । यसैले यिनको आफ्नो आवाज छ । र, उनलाई सुन्न मानिसहरु बाध्य छन् । यिनको संसारलाई हेर्ने आफ्नो दृष्टिकोण छ, जो तितो लागे पनि यथार्थको नजिक छ ।

अर्को रोचक कुरा चाहिं यी दुवै फिल्ममा ठेगानाको ठूलो महत्व छ । ठेगाना हराएका वा नयाँ ठेगानाको खोजीमा हिंडेकाहरुको बेग्लाबेग्लै दुनियाँको कथा यिनले बोकेका छन् । यसकै बीचमा छन्, ‘दहेज’ कति आयो भनेर तुलना गर्ने मानिसहरु । ठेगाना हराएर वर्षौं रेलको प्लेटफर्ममा बसिरहेका मानिसहरु, जसलाई अब कहीं पुग्नु छैन !

‘लापता लेडिज’ उत्तर भारतका सयौं त्यस्ता गाउँहरुको कथा हो, जसको खास कुनै विशेषता छैन । न त यहाँ पानसिंह तोमरजस्ता खेलाडी डाँकु भए, न गीता र बबिता फोगटले कुश्ती खेले । यही साधारण गाउँको असाधारण कथा हो– ‘लापता लेडिज’ ।

किरण रावको विशेषता पहिलो निर्देशकीय ‘धोबीघाट’बाटै प्रष्ट भएको थियो । ‘धोबीघाट’ उनको मुम्बई सहरलाई प्रेमपत्र थियो । ‘लापता लेडिज’ सुरजमुखी गाउँका माध्यमबाट भारतका हजारौं गाउँहरुलाई एउटा ‘समन’ हो ।

फिल्म निर्देशक किरण राव

फिल्ममा दुलाहा पनि दुई प्रकारका छन् । एउटा प्रेमील अर्को ‘दहेजमुखी’ । उसलाई प्रेमसँग मतलब छैन । उसका लागि सुहागरातमा दुलही हराइन् भने ‘अर्कै ठाउँ’ गएर पनि सुहागरात मनाउनु महत्वपूर्ण छ । हराएकी आफ्नी पत्नीले के कति दु:ख पाइन् होला भन्ने सम्झेर दिपु दु:खी भइरहेका बेला अर्को पति भने आफ्नो ‘रुतबा’को फुर्ती लगाउनमा व्यस्त छ ।

कथावाचकको आफ्नै कला र बुझाइमा आएको बढोत्तरी उसको कलामा प्रकट भइरहेको हुन्छ । ‘धोबीघाट’ कि यास्मिन कोठाको पंखा झुन्ड्याउने हुकमा झुन्डिएकी थिइन् । तर ‘लापता लेडिज’की जया त्यसरी झुन्डिइनन् । अनेक हण्डर खाएर, तिकडम गरेर भए पनि ऊ आफ्नो गन्तव्यतिर लम्किन्छिन् । यसकारण पनि मलाई ‘लापता लेडिज’ मनपर्‍यो ।

रवि किशनबारे दुई शब्द नबोली यो लेख पूरा हुनेछैन । मलाई लाग्छ– रवि किशन हिन्दी फिल्मले खासै उपयोग गर्न नसकेका प्रतिभा हुन् । चाहे त्यो ‘मुक्काबाज’को दलित कोच होस् वा ‘तन्नु वेड्स मनु’को सानो ‘गुन्डा’ वा ‘१९७१’, ‘वेल डन अब्बा’ वा ‘वेलकम टु सज्जनपुर’जस्तो डिसेन्ट फिल्म हुन्, रवि किशनले निराश बनाउँदैनन् । ‘लापता लेडिज’मा उनी अत्यन्त प्रभावशाली छन् । भ्रष्ट तर समझदार पुलिस अफिसरको भूमिकामा रवि किशनको बिहारी शैली यो फिल्मको एक प्रमुख आकर्षण हो ।

फिल्मका मुख्य चरित्रमा देखिएका कलाकार प्रायः सबै नयाँ छन् । यी सबैले सानदार अभिनय गरेका छन् । फिल्मको पटकथा र स-सानो सामाजिक टिप्पणी यसको प्राण हो ।

किरण रावले प्रस्तुत गरेको आनन्द गान्धीको फिल्म थियो– ‘सिप अफ थिसिएस’ । ग्रिक मिथोलोजीसँग जोडिएको दर्शनशास्त्रको एउटा सिद्धान्तबाट यो फिल्मको नाम लिइएको थियो । यो सिद्धान्त एउटा प्रश्नमा आधारित छ, जुन यस प्रकार छ– ‘समुद्र किनारमा राखिएको कुनै पानी जहाजमा प्रयोग भएका झ्याल, ढोकाजस्ता सबै सामान एक–एक गर्दै झिकेर त्यही समुद्रको अर्को छेउमा जोड्न थालियो ।

सामान झिक्दै जोड्दै गर्दा एउटा विन्दुमा पुगेर पुरानो जहाज त्यहाँ बाँकी रहेन तर भिकेर जोडिएका त्यसकै सामानले नयाँ जहाज बनेर खडा भयो । अब प्रश्न के छ भने के यो नयाँ जहाज पुरानै जहाज हो त ? वा यी दुईमा कुनै फरक हुन्छ कि हुँदैन ?’ सायद कला र यथार्थको भेद पनि यही प्रश्नमा लुकेको छ ।

समाजका सबै कुरा जस्ताको तस्तै झिकेर सिनेमामा प्रस्तुत गर्दा के त्यो समाज नै हुन्छ त ? कलामा त्यस्तो हुँदैन किनभने यसमा प्रस्तुत गर्दाको दृष्टिकोणका रुपमा एउटा नयाँ आयाम थप भएको हुन्छ । र, त्यही नयाँ आयाममा नै कलाकारको विचार वा टिप्पणी जोडिएको हुन्छ । यसैले त्यो कलाको महत्व वास्तविक समाजको चित्रभन्दा बढी हुन जान्छ ।

असंख्य गाउँहरुमा गुमनाम जीवन बाँचिरहेका, परिवार र समाजका लागि आफूलाई गुमाइरहेका, आफ्नो इच्छा वा सपनालाई खाटका पत्रमा लुकाएर अरुका लागि बाँचिरहेका भारतीय महिलाहरुका कथाले फिल्ममा आउँदा प्रभावशाली हुन सकेका छन् । महिलाका यी कथालाई एक महिला नै भन्नुको अर्थ फेरि अझै प्रगाढ छ । पीडा जसको, आवाज उसैको । आक्रोश जसको, प्रहार उसैको ! घुम्टो जसको, विद्रोह उसैको !

फिल्मका कतिपय संवादहरु सतही र ठाडा लाग्छन् । मानौं, फिल्म लेखक र निर्देशक दर्शकलाई पाठ पढाउन उद्धत छन् । किरण रावले ‘धोबीघाट’मा जसरी दर्शकलाई सोचविचार गर्ने स्थान दिएकी थिइन्, यसमा त्यस्ता ठाउँ अलि कम छन् ।

घुम्टोका अन्य आयाममा भने फिल्म प्रवेश गर्दैन । जस्तै, दुलहीलाई घुम्टो किन ओढाइन्छ ? यसको धार्मिक, सांस्कृतिक र राजनीतिक अर्थ छ कि ? वा यो परम्परा कसरी बस्यो ? दुलहीलाई लुकाउने बनाएर यसले युवतीलाई महत्व दिने काम गर्छ कि उसको ‘वस्तुकरण’ गरिरहेको हुन्छ ?

यसरी तटस्थ वा कोरा बनाएर युवतीलाई अर्को संसारमा पठाउनु भनेको उसलाई व्यक्तित्वहीन र निरीह बनाएर पठाउनु हो कि होइन भन्नेजस्तो प्रश्नमा फिल्म प्रवेश गर्दैन । कसैको आजसम्मको सम्पूर्ण जीवन, पहिचान, ज्ञान, रुचि र सपनाहरुलाई छोपिदिने हो भने व्यक्तिमा के बाँकी रहन्छ ? कोरा शरीर ? के हाम्रो रीतिहरुमा यसकै अभ्यास हुँदै आइरहेको हो ? फिल्मले यसमा विमर्श नगरेपनि समाजलाई यसमा प्रवेश गर्ने द्वार भने खोलिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?