+
+

शहीद मार्ग निर्माणमा ढिलाइ भएको भन्दै रोल्पाका माओवादी नेताहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १३:५७

५ पुस, काठमाडौं । रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले दाङबाट रोल्पा हुँदै रुकुमपूर्व जोड्ने शहीद मार्ग निर्माणमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पाका संघीय सांसद् एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त नेतृत्वको प्रतिनिधि मण्डलले बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर बजेट अभावले शहीद मार्ग निर्माणमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

आर्थिक वर्ष ०६४/६५ देखि सुरु दाङको घोराहीदेखि रोल्पाको होलेरी–घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम–मैकोटसम्मको शहीद मार्ग निर्माणको कामले अझै पूर्णता नपाएको छैन ।

उक्त सडकखण्डअन्तर्गत हाल होलेरी–दारबोट कालोपत्रेको क्रममा रहेको, दारबोट–घर्तीगाउँ–दुई खोली–खरिबोट खण्डमा कालोपत्रेका लागि ठेक्का भई काम सुरु भए पनि पर्याप्त बजेट अभावमा आयोजनाले अपेक्षित गति लिन सकेको छैन । यस्तै हुकाम–मैकोट खण्डमा ट्र्याक खोल्ने काम नै बाँकी रहेकाले त्यसको पनि प्रबन्ध मिलाइदिन ज्ञापनपत्रमा माग गरिएको छ

विगतमा घोराही–होलेरी सडकखण्डको ३१.५ किलोमिटर सडक कालोपत्रे भएकामा निर्माण व्यवसायीको लापरबाहीले तोकिएको समयसम्म उचित मर्मत सम्भार नगरेका कारण पिच भत्किएर सो ठेक्का रद्ध गरी नयाँ प्रक्रियाका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । डीपीआर स्वीकृतिको चरणमा छ । तर यी सबै काममा बजेट अभाव भएकाले त्यसको प्रबन्ध गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको माओवादी केन्द्रका उपमहासचिव पुनले जानकारी दिए ।

जवाफमा प्रधानमन्त्रीले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताए । उनले आजै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित मन्त्रालयको टिमले आफूसँग विकास निर्माणका काममा भएका प्रगति समीक्षाका लागि समय लिएकाले सोही बैठकमा शहीद मार्ग निर्माण तथा कालोपत्रेका लागि तत्काल काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको पुनले जानकारी दिए ।

प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउन सांसद पुनसहित लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र पुन, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती, माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती, त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा, रुण्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन र परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा बालुवाटारस्थित निवासमा पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?