+
+

बचाउनेको नाममा

यदि गीतको ईश्वर हुन्छ भने, त्यो ईश्वरको देब्रेतिर छातीमा गर्ने ढुकढुकहरूमध्ये तिमी एउटा सुन्दर ढुक हौ । तरंग हौ । धुन हौ । टाढा टाढा पुग्नु । डाँडा–काँडा पुग्नु । उड्नु । तिम्रो हातमा जीवन छ । बाँड्नु । लेखिरहनु । गाइरहनु ।

श्रेयज सुवेदी श्रेयज सुवेदी
२०८० पुष ७ गते १८:२१

कसैलाई पनि नबताएको कुरा सबैलाई बताउँदा, आफूभित्र बाँचेको कुरा हलुङ्गो हुन्छ । प्वाँख बन्छ । मेरो प्यारो मान्छे तिमी प्वाँख हुनु । म जस्ता थुप्रैसम्म पुग्नु ।

उनीहरूलाई बचाउनु । तिमीलाई कुनै सीमानाले नछेकोस् । तिमीलाई हुन मन भए जस्तै तरल हुनु । हावामा मिसिनु । सबैलाई छुनु । तिम्रा सृजनाहरू बाँचिरहेसम्म यो संसारमा प्रेम बाँचिरहनेछ । यो मेरो विश्वास हो । र मेरो विश्वास तिम्रो गीत हो ।

कोही आफ्नो लागि के अर्थ राख्छ, थाहा दिनुपर्छ । थाहा पाउँदा त्यो मान्छे अझै विशाल बन्छ । विराट हुन्छ । थाहा दिनु उसको यात्रालाई ऊर्जा दिनु हो । म बस् तिम्रो यात्रामा बसको झ्यालबाट देखिने बाटोछेउमा घइ खेल्दै गरेको सानी फुच्ची बन्न चाहन्छु । जसलाई हेरेर तिमी मुस्काउन सक ।

आँखा चिम्म गरेर कतै पुग्न सक । तिमीलाई सुकुन मिलोस् । तिमी मेरो लागि हुनुको अर्थलाई अर्थमा मात्र सीमित नगर्दै, यो आकाशमा उडाउँदैछु । नखोज्नु । छोडिदिनु । भेट्टाउनु ।

म कुनै प्रेम सम्बन्धमा थिएँ । अवस्था खल्तीमा गुजुल्टिएको एयरफोन जस्तो थियो । फुकाउनु गाँठो पर्नु थियो । समय हाम्रो पक्षमा थिएन । चाल्ने कदम अन्योल, बाटो फिका हुँदा मैले वर्तिका भेट्टाएँ ।

कास हाम्रो भेट केही साल अगाडि हुन्थ्यो
या कास हाम्रो भेट केही साल पछाडि हुन्थ्यो
समय सही हुन्थ्यो, राजै
मौसम बेग्लै हुन्थ्यो ।।

कसैले मलाई ऐना देखाए जस्तै भयो । मेरो व्यथाले कथा भेट्टायो । हात समाएर हृदयसम्म पुर्‍यायो । मैले आफूलाई व्यक्त गर्न नसकिरहेको बेला कसैले मलाई चिन्दै नचिनी चिन्यो । देख्दै नदेखी देख्यो । मलाई बाटो देखाएन । आफू देखाइदियो । अवस्थाको वर्णन गरेन । बताइदियो । आँखा चिम्म गरायो ।

कसैको पोस्टमा यी लाइनहरू देखेको थिएँ । पोष्ट गर्ने मान्छेको औंलाहरूले यी लाइन थिचेका मात्र हुन् लेखेका हैनन् भन्ने थाहा थियो । क्रेडिट दिइएको थिएन । हामी क्रेडिट दिनुलाई आफू डिप्रिसिएट हुनु भन्ठान्छौं । युट्युबको सर्च बक्समा नअट्ने गरी सबै शब्द लेखेर खोजें । गीत भेट्टाएँ ।

मलाई कुनै गीतले पहिलो पल्ट अंकमाल गर्‍यो । सान्त्वना दिएन । समभाव दियो । उसको लागि । ‘नजिक’ मार्फत मैले उसलाई बुझें । उसले मलाई ‘आफैं बुझिदेऊ न’ भनी भन्दै नभनेका थुप्रै कुराहरू गीतले भनिदियो । आफ्नै छायाँसँग भाग्दै गरेकी उसलाई देखाइदियो । मेरो छायाँको जिम्मा लिन नसक्नुको कारण बताइदियो ।

माफ गर्न सिकायो । छाडिदिनको लागि खुकुलो हुनुपर्छ । नजिकले मेरो मुट्ठी फुकायो । ‘नजिक नआउ’ भन्दै नजिक एकदमै समिप आयो । सम्बन्धहरूले प्रायः याद दिन्छन् । ती तीता–मीठा जे पनि हुन सक्छन् । तर मलाई त्यो सम्बन्धले वर्तिका दियो । धन्यबाद सम्बन्ध ।

भेट हुनु लेखान्त हो । लेखिएको कुरा कुनै सिसी भित्र कतै समुद्रतिर तैरिंदै होला । या कुनै कागजको ढुङ्गा बनेर बलेसीमा भिज्दै होला । या… बुढासुब्बाको बाँसमा समयसँगै धमिलिंदै होला । तिमी भेटिनु मक्तुब हो ।

देखिएर भेटिनेहरू केहीछिनको लागि मात्र आउँछन् । नदेखिएर भेटिनेहरू रहिरहन्छन् । जसरी रित्तो भनिएको गाग्रोको पिंधमा पानी रहिरहन्छ । तिमी ममा रहिरहने छौ । तिम्रा गीतहरू मेरो पिंधसम्म पुगेका छन् । तिम्रा शब्दहरूले मेरो गहिराइ नापेका छन् । मलाई डुबाएका छन् । तैराएका छन् । भिजाएका छन् । थिगारेका छन् । तिमीलाई भेट्नु मेरो लागि तारा खस्नु बराबर हो । कसैले मलाई भेट्नुको सुन्दरता के हो भनी प्रश्न गर्छ भने मेरो उत्तर वर्तिका हुनेछ ।

बुझ्दैनन् भावना प्रगाढ हुन्छन् कहिले
यादहरू पल्लो कोठामै जमातमा बसेकै छ
गर्जिदै छ बाढी, यहाँ नदीमा, तैरिनु त छँदैछ ।।

यो तरंग ‘उमेर’ को हो । ‘उमेर’ सुन्छु । हजुर–बुवालाई देख्छु । सुनेर देख्नु सँुघेर देख्नु, पक्कै पनि सामान्य हैन । बुवाको बास्ना मेरो नाकमा छ । यो गीतको शब्दहरूमा मलाई बुवा बास्ना आउनुहुन्छ । याद आउनुहुन्छ । बरन्डामा नाडी छाम्दै पल्टिने खाटमा बस्छु । कल्पनामै सुम्सुम्याउँछु । रित्तो खाटबाट बुवाको तातो आउँदैन ।

यादहरू जमातमा बस्ने पल्लो कोठा अँध्यारो थियो । त्यहीं कोठामा पुग्छु । अँध्यारो कोठामा त्यो उज्यालो अनुहार तेल सकिएको दियो जस्तो धिप्–धिप् बल्छ । छातीबाट स्नेह रिमझिम गर्दै नाकसम्म आइपुग्दा पिरो हुन्छ । छुन खोज्छु मिराज भई विलाउँछ । बोल्न खोज्छु घुँक्क हुन्छ । गीत सक्किसकेको हुन्छ । म फर्किएकै हुन्न ।

खोज्दै हुन्छु हराइसकेको कुरालाई । समाउन खोज्छु जूनकिरी जसरी, तारा भइसकेको मान्छेलाई । ‘उमेर’ ले यसैगरी बुवासँग भेट गराउँछ । मनका अनेक भावना बाढी सरी गर्जिन्छन् । ‘तैरिनु त छँदैछ’ ले वास्तविकतातिर औंला देखाउँछ । एउटै गीतले पुर्‍याउँछ, भेट्टाउँछ र फर्काउँछ ।

भत्किएका चिजहरूको भग्नावशेष, नरहेका मान्छेहरूको अवशेष याद बन्छन् । भन्न नसकेका, सोध्न नसकेका कुराहरू थाती रहन्छन् । अन्तिमपल्ट भेट्न नपाउनुको तुष बाँकी रहन्छ । सँगै गर्न नसकेका कुराहरू पुग्न नसकेका ठाउँहरूले टोकिरहन्छन् । अधुरो लाग्छ । अवशोष हुन्छ । तिम्रा शब्दहरूले ती अवशोषहरूमा तातो हावा भर्छ । र बेलुन जस्तै उडाइदिन्छ । जानेहरू गइजान्छन् रहनेहरूमा बाँचेर । त्यो बचाइलाई बाँच्न मद्दत ‘उमेर’ ले पुर्‍याएको छ । यस अर्थमा तिमी सेतु हौ । हल्कारा हौ । आराम सोध्न लेखिएका÷नलेखिएका चिठीहरू बोक्ने सामथ्र्य तिम्रा गीतहरूले राख्दछन् । पुग्दै गर्नु । पुर्‍याउँदै गर्नु ।

अब त्यो कोठा, कोठा छैन, भत्कियो । खाट छैन, भाँचियो । बुवा हुनुहुन्न, बित्नुभयो । धेरै कुरा बुवासँगै विलायो । म भित्र कोठा र खाटको अंश छ । ‘उमेर’ ले हरेकपल्ट अंशमा हंश भर्छ । सजीव बनाउँछ । ‘उमेर’ ले बुवालाई उमेर दिएको छ । सास दिएको छ । नरहेकालाई सास दिने तिम्रो ‘उमेर’ लाई आयु लागोस् । र म चाहन्छु आकाशको रंगमा म मिस्सिएपछि, कसैले उमेर सुनोस्, मलाई सम्झियोस् र आकाशतिर हेरोस् ।

अरू त सबै निको होला
कुनै समयमा सँगै नाचेको, सँगै हाँसेको
खै… कसरी निको हुने ।।

छुटेका मान्छेहरू सम्झन्छु । मलाई बिर्सिएका मान्छेहरू सम्झन्छु । मैले बिर्सिएका मान्छेहरू सम्झन्छु । सम्झनाको पहिलो प्रहरमा म अनुहार देख्दिनँ । विताएको समय देख्छु । गरेका कुरा देख्छु । एउटै थालमा खाएका जुठोहरू झुटो भए । चुँडिएको चप्पल गाँस्न हुप्सियो दिनेहरू भुईंमा सियो जसरी विलाए ।

किताबमा मयुरको प्वाँख राख्न दिनेहरू मयुरबाट प्वाँख अलग्गिए जसरी छुट्टिए । एउटै बाटो स्कुल फर्किनेहरू, बाटोमा भेट्दा अन्तै फर्किने भए । हाँसेका हाँसोहरू छुटे । सँगालेका नासोहरू छुटे ।

समयसँगै बढ्दै जाँदा, उमेर बढ्दै जाँदा, छुट्ने कुराहरू पनि बढ्ने रहेछ । छुटेका कुराहरूको चाङमा ‘माया जस्तै’ टालो बनेर आउँछ । र धुलो टक्टक्याउने काम गर्छ । निको नभएका समयलाई सफा गर्छ । र, फेरि धुलो लाग्न छोडिदिन्छ । तिम्रो प्रायः गीतहरूले फर्काउने काम गर्छन् ।

कहिले आफैंतिर कहिले विगततिर । तिमीले दिएको फर्काइहरू बापत म तिमीलाई फर्काउन त केही सक्दिनँ होला । बस् मुस्काइदिन्छु । लेख्दै गर्दा मेरो मुस्कान तिम्रो कागजमा साकालाका–बुमबुम होस् ।

ग्रहण गर्नेहरूले तिमीलाई थुप्रै रूपमा अँगालेका होलान् । राख्नेहरूले तिमीलाई थुप्रै स्वरुपमा न्यानो राखेका होलान् । उनीहरूको भोेगाइसँग तिम्रो गीतले हात मिलायो होला । म छु नि भन्यो होला । तिमी पुग्ने ठाउँमा कतै आँसु बनेर पुग्यौ कतै रुमाल बनेर पुग्यौ । होला कतै आशा बनेर पुग्यौ । मसम्म आइपुग्दा छालामा जाडोको घाम भएर आयौ । मैले महसुस गर्न सकें । अनुभूत गर्न सकें ।

स्वार्थी अहम्को गतिमा हिंडी पुग्छु म कहाँसम्म
सिक्नु त छ मैले यहाँ
ठान्छु म निश्चिन्त, अचल छु, कति लाग्छ अझै बुझ्न
हुनुपर्ने हो म तरल ।।

तिम्रो गीतले तरल बोल्दा, भावले देखाउन खोजेको ठोस म देख्न सक्छु । तरलले तरल नबन्नु भन्छ । गिलासमा हुँदा गिलास, नदीमा हुँदा नदी र समुद्रमा हुँदा समुद्र बन्नु भन्छ । बदलिरहनु, फेरिइरहनु भन्छ । फराकिलो देखाउँछ । फुट्न सिकाउँछ । अडिन हैन चल्न सिकाउँछ । जम्न हैन बग्न सिकाउँछ । कुनै समयमा म काठ थिएँ । चोइटिएँ ।

आगोले जलायो । मभित्रको ठोस खरानी भयो । माटोमा मिसियो । मभित्रको तरल धुवाँ भयो । हावामा मिसियो । म अहिले हावा छु । तिम्रो तरलले मलाई हल्का बनाएको छ । सायद तिम्रा विगतबाट चोइटिएर तिमी पनि तरल भएकी छौ । हल्का भएकी छौ । त्यसैले आजकल तरल सुन्दा भारी लाग्दैन ।

तिम्रा गीतहरू कानमा मात्र बज्दैनन् । सँगै हिंडाउँछन् । र पुर्‍याउँछन् तिम्रै अनुभूतिको चौरको छेउछाउ । जहाँ भावनाहरू हुन्छन् । ती भावनाहरूमा मलाई मेरो पनि भाग छ जस्तो लाग्छ । मैले लेख्न बाँकी कुराहरू तिमीले लेखिदिए जस्तो लाग्छ । मैले सोच्दै गरेका कुराहरू तिमीले लेखिदिए जस्तो लाग्छ ।

सायद हामी कुनै कालखण्डमा एउटै बेञ्चमा, एउटै पेन्सिललाई भाँचेर, ती पेन्सिलका दुई टुक्राले कखरा लेख्न सिकेका साथी थियौ । या तिमीले आफ्नो भनेर लिएर गएको टिफिन मेरो थियो । जुन तिमीले कहिल्यै फर्काएनौ । त्यो टिफिन मलाई मात्र मेरो लाग्ने हैन । म जस्ता थुप्रै मान्छे छन् जसलाई त्यो टिफिन आफ्नो लाग्छ ।

तिमीसँग कुनै धागो जोडिएको अनुभूत हुन्छ । व्यक्त हुन नसक्नेहरू तिमीलाई टाढैबाट हेरेर हराएको कोही आफ्नो भेटिए जसरी आँसु खर्चन्छन् । व्यक्त हुन सक्नेहरू विभिन्न माध्यमबाट तिमीसम्म पुगिरहेकै होलान् । ती तमाम व्यक्त हुन नसक्ने मान्छेहरूको प्रेम तिमीसम्म पुर्‍याउन म परेवा मात्र बनेको हुँ ।

हामीले दिएको पेन्सिलको टुक्रा फर्काउनु पर्दैन । हाम्रो मनहरू दुरुस्तै लेखिदिए पुग्छ । हाम्रो मायाहरू दुरुस्तै गाइदिए पुग्छ । तिमी हामीसम्म आइपुग्छौ । हरेकपल्ट उसै गरी । त्यति नै मात्रामा त्यसैगरी जसरी तिमी पुगौं भन्ने चाहना राख्छौ । तिमीले तिम्रो गीतमा आफूलाई भन्ने ‘स्यानी खोली’ …. समुद्रसम्म आइपुग्छे ।

बचाउनु भनेको जोगाउनु मात्र हैन, बाँच्न सिकाउनु पनि हो । सघाउनु पनि हो । जिउन बिर्सिएको समयलाई थकाइ मार है, लामो सास फेर ल भन्नु हो । आफू भुलेर आफ्नै लागि स्वाँ–स्वाँ गर्दै दौडिरहेको मान्छेलाई चिसो पानी पिलाउनु हो । हिंड्नै नजानेको कदमलाई ताते गराउनु हो । अल्झिएकोलाई फुकाउनु हो । थुनिएको लागि उडाउनु हो ।

आनन्द हो । उल्लास हो । बहाना दिनु हो । चाहना दिनु हो । लहना दिनु हो । प्यारी वर्तिका, तिमीले मलाई बचाएकी छौ । तिम्रो गीतले मलाई सघाएको छ । तिम्रो शब्दले मलाई सिकाएको छ ।

जीवनका यावत् गल्छेंडाहरूमा तिम्रा गीतहरूले मलाई हात दिएका छन् । अवस्थाले खुट्टा भाँच्ने गरी हिर्काउँदा बैसाखी बनेका छन् । भावनाको झटारोहरू छेक्न सिकाएका छन् । आत्मविश्वासलाई विश्वास दिलाएका छन् । ‘म’लाई ‘म’बाट जोगाएर, ‘म’भित्रै बचाएका छन् । जसरी उज्यालोलाई उज्यालो हुन घामले सघाउँछ, थुप्रैपल्ट तिम्रो गीत मेरो घाम बनेको छ । तिमी घाम हौ । तिम्रो कलाको न्यानोले असंख्य दुखाइहरू सुसुम भएका छन् ।

जाऊ हराऊ
खुसीमा तृप्त तिमी तिमीलाई नै पाऊ
हेर न आफूलाई तिमी
कति भयो खुलेर हाँसेको
कति भयो निर्धक्क बाँचेको ।।

दैनिकीबाट थाक्दा ‘खै’ ले पानीको कामको काम गर्छ । दुनियाँ हेर्दाहेर्दै गलेको आँखालाई आफैंलाई हेर्न अह्राउँछ । हाँसेको मिति सोध्छ । बाँचेको गते सोध्छ । भन्न सक्दिनँ म । झल्यास्स बनाउँछ । बसको सिटमा, काखमा जिम्मेवारीको झोला राखेर झ्याल बाहिरको जीवन हेरेर टोलाइरहेको मलाई ‘तिमी खै’ भन्दै प्रश्न गर्छ । मलाई नै सुनाइदिन्छ म हराएको खबर । तिम्रो गीत पत्रिका हो । जहाँ मानिस हराएको सूचनाको हरेक फोटोमा म आफूलाई देख्छु ।

शिशिरमा हुरी चल्दा, आँगनीमा बसेर मेरो याद कति आयो होला
दशैंको बसानालाई बतासले बगाउँदा, मलाई कति सम्झ्यौ होला
सपनाबाट बिउँझिएर आँखाभरि आँसु बोकी, निदरीसँग बिन्ती गर्‍यौं होला ।

घरको झझल्को आउदा ‘तिमी र म’ ले दैलो टेकाउँछ । यो गीत म डराई–डराई सुन्छु । ‘घर कहिले आउँछस्’ … आमाको आवाज गीतकै बीचमा गुन्जिन्छ । ‘टन्नै काम छ, भ्याउदिनँ’ … गीतकै बीचमा म झर्केको चर्किन्छ । त्यसपछि गीत मात्र बज्छ । मन उडेर घर पुगिभ्याउँछ । सँगै आँगनको बास्ना बोकी ल्याउँछ । घर जाऊँ–जाऊँ लाग्छ ।

जिम्मेवारीले पख्लास् भन्छ । जिम्मेवारीको औंला मर्काइदिन मन लाग्छ । उमेरलाई बालापनमा फर्काइदिन मन लाग्छ । जिम्मेवारीले अब हातै उठाउँछ । वास्तविकतामा थचक्कै बसाउँछ । म त बेलाबखत पुगिरहन्छु । घर पुग्न दशैं नै आउनुपर्नेहरूको माया लागेर आउँछ ।

यो खबर पुगोस् कुनै दिन, तिम्रा सम्झना फिर्ता दिए
थिए तिम्रा अहम्, थिए मेरा अहम्, सबै थोक माफी दिए
हिजोमै अड्किएको हाम्रो जीवनलाई सास फेर्न दिए भयो
तिमीलाई पनि त अनुमति छ नि, अगाडि बढे भयो ।।

छोड्न चाहँदा, छुट्न चाहँदा थुप्रै मोडमा ‘अनुमति’ ले अनुमति दिएको छ । के–के सुनाऊँ म तिमीलाई के–के दिएको छ । सबैभन्दा ठूलो कुरा, साथ दिएको छ । खोज्दा नपाइने संसारमा तिम्रो रचनाले मलाई साथी दिएको छ । वर्षौंदेखि चिनिरहेको बोलिरहेको मान्छे जस्तै लाग्ने बनाएको छ । बोझहरू बुझिदिने आफ्नो बनाएको छ । तिम्रो कलाले तिमीलाई मेरो आफन्त बनाएको छ ।

मलाई तिम्रा जम्मै गीतहरू कण्ठस्थ छैनन् । पार्नु पनि छैन । कन्सर्टमा अगाडि उभिएर तिमीलाई नजिकबाट हेर्नु पनि छैन । न त तिम्रा पोस्टरले भित्ताहरू रंगाउनु छ । मलाई लाग्छ, तिम्रो गीतहरूले मलाई खोजोस् । मेरो भावहरूलाई कण्ठ पारोस् । कागजको प्लेन भुईंमा खसे जस्तै मेरो अवस्था बुझेर तिम्रो गीत ममा खसोस् ।

हातमा गिटार बोकेर, आँखा चिम्म गरेर गाइरहँदा तिमी कतै पुग्छौ होला । परैबाट म पनि त्यही ठाउँसम्म पुग्न सकुँ । तिम्रो अनुहारको आनन्दलाई थोरै भए पनि खुत्रुकेमा खसाल्न सकुँ । तिमीलाई गाइरहेको हेर्दा रुन सकुँ । ऊर्जा बनेर तिमीलाई छुन सकुँ । चाहना यत्ति हो तिम्रो कलासँग मेरो अस्तित्व साटिरहन सकुँ ।

कण्ठस्थ पार्ने, नजिकबाट हेर्न खोज्ने, भित्ता रंगाउनेहरूसँग मलाई कुनै अप्ठ्यारो–गुनासो छैन । न त कुनै डाहा छ । कोही पूजा गर्न मन्दिर पुग्छन् । कोही जहाँ छ त्यहींबाट छातीमा हात राख्छन् । मलाई छातीमा हात राख्दा आनन्द आउँछ । हामी यहाँ आ–आफ्नै आनन्द बाँच्न आएका हौं ।

यदि गीतको ईश्वर हुन्छ भने, त्यो ईश्वरको देब्रेतिर छातीमा गर्ने ढुकढुकहरूमध्ये तिमी एउटा सुन्दर ढुक हौ । तरंग हौ । धुन हौ । टाढा टाढा पुग्नु । डाँडाकाँडा पुग्नु । उड्नु । तिम्रो हातमा जीवन छ । बाँड्नु । लेखिरहनु । गाइरहनु । थाक्नु । हराउनु । सोच्नु हाम्रो बारेमा । अनि देख्नु हामीलाई । पर्खिरहेका, कुरिरहेका मान्छेको जमात ।

हावामा उठेका अन्गिनत् हात । ती हातहरूमा आशिष् हुनेछ । ऊर्जा हुनेछ । लिनु । अनि फेरि फर्किनु । यो सिलसिला चलिरहोस् । वर्तिकाले गाइरहोस् । हामी बाँचिरहन पाऊँ ।

… बाँकी जे–जति जिन्दगी छ, मेरो भागको सारा गीतानन्द, तिम्रै निम्ति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?