+
+

नाटक ‘गुलाफ’ युरोपका ५ मुलुकमा मञ्चन हुने, यशोधरामा मानसिक प्रभावको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १२:०४

काठमाडौं । अब फिल्म र संगीत मात्र होइन, नेपाली नाटकले पनि विश्वयात्रा थाल्दैछ । यो मेसोमा नेपाली नाटक ‘गुलाफ : यशोधराको जागरण यात्रा’ पाँच युरोपेली मुलुकमा मञ्चन हुने भएको छ ।

बुधबार नाटकको नेपाल प्रिमियरपछि यसलाई नर्वे, डेनमार्क, इटाली र जर्मनीमा मञ्चन गर्न लागिएको हो । नाटककार केदार श्रेष्ठले मे २३ मा यसलाई नर्वेमा मञ्चन गरिने बताए । स्थानीय आर्ट एण्ड कल्चर नर्वेसँग मिलेर मञ्चन गर्न लागिएको जनाइएको छ ।

डायस्पोरा मञ्चनबारे श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हामी स्थानीय थिएटर र नेपाली समुदायसँग मिलेर नेपाली नाटकलाई विश्वभर फैलाउन चाहन्छौं । सुरुमा त्यहींका बासिन्दा लक्षित मञ्चन हुनेछ ।’

हरि ढकालको परिकल्पना तथा निर्देशनमा ‘फिजिकल थिएटर’ विधामा रहेर नाटक तयार पारिएको छ, जसमा संवाद छैन । दृश्यमार्फत कथा भन्ने प्रयास गरिएको छ । यसको अंग्रेजी नाम ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ राखिएको छ ।

नाटकको विधा मात्र नभएर मञ्च र दर्शक संयोजन पनि विशेष रहेको जनाइएको छ । चारैतिरबाट दर्शकले हेर्न मिल्ने ढंगले नाटकको मञ्च तयार गरिएको छ । ६४ जनाले एक शो मात्र हेर्न पाउने भनिएको छ ।

सिद्धार्थ गौतमले आफ्ना प्रश्नको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले आफ्नो विषय बनाएको छ ।

चरम पीडा र बिछोडको कारणले यशोधराभित्र सिर्जित भावना, विकार र त्यसले पारेको प्रभाव र परिवर्तन नै यो नाट्य प्रस्तुतिको मूल विषय हो । यसमा यशोधराको पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई शारीरिक भावभङ्गीमार्फत उजागर गर्ने कोसिस गरिएको छ ।

नाटकमा यशोधराका रुपमा कलाकार दीया मास्के र सरिता साह छन् । देव न्यौपानेको ध्वनि संयोजन, उमेश तामाङको प्रकाश संयोजन, सञ्जिता पराजुलीको भेषभूषा, हुम बीसीको मञ्च निर्माण, अनामिका गौतमको आवरण कला र केदार श्रेष्ठको मञ्च व्यवस्थापन छ । साथमा बलबहादुर राई, कपासेली ठिटो, तीर्थ विश्वकर्मा, सस्मिल पुन मगर र ईक्सा मादेन लिम्बू सहयोगी छन् ।

यो नाटक सोमबारबाहेक पुस २२ सम्म हरेक दिन ४ बजे र शनिबार थप मञ्चन दिउँसो १ बजे पनि हुने जनाइएको छ । ठेट्ना आर्ट्स र मण्डला थिएटरको प्रस्तुति रहेको यस नाटकलाई आर्ट एण्ड कल्चर नर्वे, नोर्दिक कल्चर फण्ड, फुक नोले सहयोग गरेको छ भने नेपालमा एक्टर्स स्टुडियो र थिएटर मल प्रदर्शन सहयोगी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?