+

कसलाई हुन सक्छ प्यारालाइसिस ?  

२०८० पुष  १० गते १६:५६ २०८० पुष १० गते १६:५६
कसलाई हुन सक्छ प्यारालाइसिस ?  

पक्षघात अर्थात् प्यारालाइसिस एक यस्तो अवस्था हो, जसमा शरीरका कुनै भाग वा पूर्ण शरीर चलाउन सकिंदैन । जसले गर्दा बस्न, उठ्न, हिंडडुल गर्न सजिलो हुँदैन ।

मस्तिष्कमा रक्तसञ्चार बन्द भएर वा अचानक मस्तिष्कका रगतको नसा फुटेर निम्तिने आपतकालीन अवस्थालाई मस्तिष्कघात भन्ने गरिएको छ । जब मस्तिष्काघात हुन्छ, तब हाम्रो शरीरका अंगहरु चल्दैन । बाेलीचालीमा यसैलाई प्यारालाइसिस भनिन्छ । त्यसाे त शरीरको कुनै एउटा मात्र अंगमा मात्र पनि प्यारालाइसिस हुन सक्छ । मस्तिष्कघातको संकेत पाउनासाथ यथाशीघ्र उपचार गरियो भने प्यारालाइसिस हुनबाट बच्न सकिन्छ ।

के मस्तिष्कघातको संकेत थाहा पाउन सकिन्छ ?

मस्तिष्कघातको लक्षण छिटो देखिन्छ । यद्यपि लक्षण देखिएको केही क्षणमै अवस्था गम्भीर बन्न सक्छ । त्यसैले मस्तिष्कघात हुँदा देखिने लक्षणलाई हामी अंग्रेजीको ‘बी फास्ट’ भन्ने वाक्यांशबाट बुझाउने गर्छौं ।

बि अर्थात् ‘ब्यालेन्स’ : याे सुरुवाती लक्षण हो जसमा शरीरको सन्तुलत बिग्रने । हिंड्न, बस्न र उठ्न असहज हुने ।

ई अर्थात् आई : यसको अर्थ आँखा धमिलो हुनु । एक वा दुई आँखाले हेर्नमा कठिनाई हुनु ।

एफ अर्थात् फेस : अनुहार र मुख बाङ्गिनु ।

आ अर्थात् आर्म : हात लुलो हुनु, शरीरको एक भाग अचानक कमजोर महसुस हुनु ।

स् अर्थात् स्पिच : बोली लर्बराउनु ।

टी अर्थात् टाइम : समयमै अस्पताल पुर्‍याउनु ।

माथि उल्लेखित लक्षण देखिएमा एकदमै छिटो अस्पताल पुपुर्‍याउनु भन्ने सांकेतिक अर्थ पनि यसमा छ । सारांशमा बोली लर्बराउने, अनुहार बाङ्गो हुने, हात लुलो हुने लक्षणलाई सामान्य ठान्नु भएन । त्यसमाथि मधुमेह, उच्च रक्तचाप, उच्च काेलेस्टेराेल भएका तथा ढल्किंदाे उमेरकाले त झनै नजरअन्दाज गर्न मिल्दैन ।

मुख मात्र बाङ्गिने समस्या प्यारालाइसिस नहुन सक्छ

मस्तिष्कघातको अन्य लक्षण देखिएको छैन मुख मात्र बाङ्गिएको छ भने त्यो मस्तिष्काघातको लक्षण होइन । यो जाडोमा वा भाइरल संक्रमणले हुनसक्ने ‘फेसियल पाल्सी’ भन्ने समस्याले गर्दा हो । अनुहारको मांसपेशीलाई नियन्त्रण गर्ने एउटा नसा (स्नायु) हुन्छ त्यसमा संक्रमण वा असर हुन गयो भने मुख बाङ्गो हुन्छ । मुख बाङ्गो भई बोली लर्बरिएकाे छैन भने त्यो प्यारालाइसिस नहुन सक्छ ।

मस्तिष्काघात अचानक हुने भएकोले यसको कारण शरीरकाे प्रभावित भाग पनि एक्कासि कमजोर हुन्छ । मुख बाङ्गिएकाे महिना दिन पछि हात नचल्ने भयाे भने त्यो मस्तिष्काघात होइन ।

यसको जोखिम कसलाई बढी हुन्छ ?

मस्तिष्काघातको जोखिम केटा मान्छेहरूलाई बढी हुन्छ । चुरोट रक्सी खाने, उच्च रक्तचाप, मधुमेहको समस्या  भएको, मुटुको समस्या भएको, कोलेस्टेराेलको समस्या भएको, धेरै तनाव चिन्ता लिने, व्यायाम नगर्ने र अस्वास्थ्यकर खानपान अपनाउने व्यक्तिहरूमा यसको जोखिम बढी हुन्छ ।

उपचार

मस्तिष्कमा रक्त सञ्चार बन्द भएर र मस्तिष्कको रगतको नशा फुटेर के कारणले मस्तिष्काघात भएको हो त्यही अनुसार यसको उपचार हुन्छ ।

रगतको नसा बन्द भएर मस्तिष्काघात भएको छ भने बन्द भएको नसालाई खोल्ने हो । जुन दुई तरिकाबाट खोल्न सकिन्छ । पहिलो तरिका मस्तिष्काघातको लक्षण देखिएको ३ घण्टाभित्र बिरामी अस्पताल आइपुगेको खण्डमा रगत पगाल्ने औषधि नसाबाट दिइन्छ । यदि ढिलो भयो भने तार हालेर जमेको रगत निकालेर रक्तसञ्चार सुचारु गराइन्छ ।

मस्तिष्कको रगत नली फुटेको अवस्थामा भने प्रेसरको कारण सानो नशा फुटेको छ भने केही फिजियोथेरापी र प्रेसर नियन्त्रण गरेर नै उपचार हुन्छ । तर अन्य कारणले नसा फुटेको छ भने शल्यक्रिया गरेर फुटेको नसालाई बाँधेर उपचार गरिन्छ । दिमागमा नसा फुटेर निस्केको रगत धेरै छ भने त्यसलाई निकालेर फालिन्छ, थोरै छ भने शरीरले आफैं सोस्छ ।

मस्तिष्काघातबाट बच्ने उपाय

-रक्तचाप, मधुमेह, कोलेस्टेराेल जस्ता दीर्घरोगलाई नियन्त्रणमा राख्ने ।

-धुम्रपान, मद्यपान, सुर्ती र नशालु पदार्थ सेवन नगर्ने ।

-शारीरिक तौललाई नियन्त्रण गर्ने ।

-नियमित व्यायाम गर्ने ।

-तेल, घिउ, बोसो जस्ता चिल्लो पदार्थ कम खाने, हरियो सागसब्जी, फलफूल र सन्तुलित भोजनलाई प्राथमिकता दिने ।

-तनाव व्यवस्थापन गर्ने ।

पक्षघात अर्थात प्यारालाइसिस मस्तिष्कघात paralysis treatment
डा. लेखजंग थापा
लेखक
डा. लेखजंग थापा
वरिष्ठ न्युरोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३९०१ एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन), डीएम (न्युरोलोजी) हाल नेसनल न्युरो सेन्टर महाराजगञ्ज, काठमाडौंका न्युरोलोजी विभाग प्रमुख, नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय