+

आँखामा आनो किन आउँछ, के छ उपचार ?

२०८१ वैशाख  १४ गते १४:३३ २०८१ वैशाख १४ गते १४:३३
आँखामा आनो किन आउँछ, के छ उपचार ?

आँखामा हुने विभिन्न समस्यामध्ये एक आनो आउनु पनि हो । आँखाको परेला (माथिल्लो वा तल्लो)मा गिर्खा जस्तो डल्लो देखियो भने त्यसलाई आनो भनिन्छ । यसलाई मेडिकल भाषामा ‘स्टाइ’ भनिन्छ । यो एक प्रकारको खटिरा जस्तै हुन्छ, जुन आँखाको परेलाको रौं उम्रिने ठाउँको प्वालमा अर्थात् परेलाको जरा र परेलाको तेल ग्रन्थीमा ‘स्टेफाइलोकोकस’ ब्याक्टेरियाको संक्रमणको कारण हुनेगर्छ ।

फोहोर हातले आँखा माड्दा, आँखा धेरै मिचिरहँदा, फोहोर पानीले आँखा धुँदा र परेमा चाया पर्ने समस्याको कारण आनोको समस्या हुन्छ । त्यस्तै आनो भएको व्यक्तिले प्रयोग गरेको रुमाल स्वस्थ व्यक्तिले प्रयोग गर्दा पनि आनोको समस्या हुनेगर्छ ।

आनो पनि दुई प्रकारका हुन्छन्- दुख्ने र नदुख्ने ।

दुख्ने अर्थात बाहिरी आनो

दुख्ने आनो बाहिरबाट देखिने हुन्छ, त्यसैले यसलाई बाहिरी आनो भनिन्छ । जुन आँखाको परेलाको रौं उम्रिने ठाउँको प्वालमा अर्थात् परेलाको जरा र परेलाको तेल ग्रन्थीमा ‘स्टेफाइलोकोकस’ ब्याक्टेरियाको संक्रमणको कारण हुनेगर्छ । संक्रमण भएपछि परेलाको जराबाट निस्किने ग्रन्थी बन्द भएपछि आँखालाई चिल्लो, ओसिलो बनाउने बाटो बन्द हुन्छ र डल्लो आउँछ । यो परेको जरामा आउँछ ।

लक्षण

यसको मुख्य लक्षण दुखाइ हो । त्यस्तै आँखाको परेला सुन्निने, आँखामा पिप जम्ने, रातो हुने, आँखाबाट आँसु बगिरहने वा चिप्रा आउने, घाम वा प्रकाशमा हेर्न अप्ठ्यारो हुने, आँखा चिलाइरहने र माड्न मन लाग्ने जस्ता लक्षण देखापर्छ ।

दुख्ने आनो आएको चार-पाँच दिनमा पिप जमेर ठूलो हुन्छ । जसबाट पिप निस्किन्छ र आफैं निको हुने गर्छ । कहिलेकाहीं पिप आफैं ननिस्केको अवस्थामा पिप नजिकैको एउटा परेला उखाल्दा पनि पिप निस्किन्छ । यो बिस्तारै कम हुँदै जान्छ ।

नदुख्ने आनो

नदुख्ने आनोलाई भित्री आनो पनि भनिन्छ । परेलाको डिलको भित्री भागमा आउने यो आनो दुख्दैन । आनो आफूले छाम्दा वा अरुले हेर्दा देखिने र अप्ठ्यारो महसुस हुन्छ तर आँखा दुख्ने र पाक्ने भने हुँदैन । यस्तो अवस्थामा चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ ।

उपचार

सामान्यतया दुख्ने आनो आफैं निको भएर जान्छ । आनोबाट पिप निस्केको अवस्थामा करिब हप्ता दिनमा निको हुन्छ । कहिलेकाहीं पिप आफैं ननिस्केको अवस्थामा पिप नजिकैको एउटा परेला उखाल्दा पनि पिप निस्केपछि आफैं निको हुन्छ । तर बारम्बार आनो हुने समस्या छ भने चिकित्सकको सल्लाहमा एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ र दुखाइ धेरै भएमा दुखाइ कम गर्ने औषधिको प्रयोग गर्न सकिन्छ ।

नदुख्ने आनो कहिलेकाहीं एन्टिबायोटिक र औषधिले काम नगरेको अवस्थामा सानो शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

घरेलु उपचार

आनो आउँदा घरेलु उपचार समेत गर्न सकिन्छ । सफा नरम कपडालाई मनतातो पानीमा भिजाएर दिनमा कम्तीमा २–३ पटक आँखा सेक्ने, उसिनेको अण्डालाई सफा रुमालमा पोको पारेर दिनमा २–३ पटक सेक्ने गर्दा पीडा कम हुन्छ । यसले आँखाको वरिपरि सफा हुने र बन्द रहेका ग्रन्थीका प्वालहरु खुलाउन पनि मद्दत गर्छ । साथै तातोले आनो सेक्दा भित्रको पिप बगेर बाहिर निस्कन्छ र आफैं निको हुन्छ । यो दुख्ने र नदुख्ने दुवै आनोको लागि फाइदाजनक हुन्छ ।

तर आँखा धेरै सुन्नियो, धेरै दुख्यो, पिप र रगत निस्किन थाल्यो, ज्वरो आयो भने घरेलु विधि अपनाउनु हुँदैन । यस्तो बेला तुरुन्तै चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ ।

रोकथाम

आनो आउँदा औंलालाई सफा राख्नुपर्छ, मिच्नु हुँदैन । आनो आएको बेला आँखाको मेकअप गर्नु हुँदैन । त्यसैगरी चिकित्सकको सल्लाहबिना बजारमा पाउने औषधिको प्रयोग पनि गर्नु हुँदैन ।

जोखिम

आनो जुनसुकै उमेर समूहका व्यक्तिलाई आउने भएपनि बालबालिकामा बढी देखिन्छ । आनो एकपटक आइसकेपछि फेरि आउने सम्भावना हुन्छ । तर यसले आँखाको दृष्टिलाई भने कुनै असर गर्दैन । आँखामा चाया पर्नाले, आँखाको समस्या छ तर चस्मा लगाएको छैन भने चस्माको पावर नमिलेमा, वृद्धावस्थामा मधुमेहको कारण बारम्बार आनोको समस्या हुनसक्छ ।

बच्ने उपाय

आनो आउनबाट बच्न धुलो, धुवाँ र फोहोरबाट आँखालाई बचाउनुपर्छ । आँखा सधैं बिहान बेलुका सफा पानीले धुने गर्नुपर्छ । चस्मा लगाउने गरेको छ भने ६–६ महिनामा आँखाको जाँच गराउनुपर्छ । दृष्टिको समस्या भएमा समयमै परीक्षण गरेर चश्मा लगाउनुपर्ने हुन्छ ।

वृद्धवस्थामा मधुमेहको जाँच गराउने गर्नुपर्छ । आँखालाई असर पर्नेगरी मेकअपका सामान प्रयोग गर्नु हुँदैन । कन्ट्याक्ट लेन्स प्रयोग गर्नेले लेन्स लगाउँदा र निकाल्दा हात राम्ररी धोएर मात्र लगाउने गर्नुपर्छ ।

आँखामा आनो नेत्ररोग
धीरज अधिकारी
लेखक
धीरज अधिकारी
नेत्र अधिकृत

डा. अधिकारी भक्तपुरस्थित ख्वप तिलगंगा आँखा अस्पतालका इन्चार्ज हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय