+

मुखको सरसफाइमा ध्यान नपुर्‍याउँदा दीर्घरोगको जोखिम

२०८१ वैशाख  १९ गते १८:३२ २०८१ वैशाख १९ गते १८:३२
मुखको सरसफाइमा ध्यान नपुर्‍याउँदा दीर्घरोगको जोखिम

मुख स्वस्थ रहँदा सम्पूर्ण शरीरलाई नै स्वस्थ राख्न मद्दत पुग्छ । स्वास्थ्यका साथै आकर्षक हाँसोका लागि पनि मुख र दाँतको सरसफाइ गर्न जरुरी हुन्छ ।

ओरल हाइजिन अर्थात् मुखको सरसफाइमा ध्यान नदिंदा मुख गन्हाउने, गिजाबाट रगत बग्ने, दाँत हल्लिने, दाँत फुस्किने, दाँत मक्किनेजस्ता समस्या आउँछन् । यति मात्र होइन, मुखको सरसफाइमा लापरवाही गर्दा दीर्घरोगको समेत जोखिम हुन्छ ।

श्वासप्रश्वासको समस्या

यदि कसैलाई गिजाको समस्या छ भने त्यसमा जम्मा भएको ब्याक्टेरिया रगतको माध्यमबाट फोक्सोमा गएर श्वासप्रश्वासमा पुग्छ । यसकारण एक्युट ब्रोंकाइटिस अर्थात् श्वासनली सुन्निने समस्या र क्रोनिक निमोनिया हुने सम्भावना बढी हुन्छ, जसले श्वासपश्वासमा बाधा पुर्‍याउँछ ।

मुटुको समस्या र स्ट्रोक

दाँतको समस्या भएको बिरामीलाई मुटुको समस्या हुने सम्भावना अत्यधिक हुन्छ । किनभने मुखभित्र भएको ब्याक्टेरिया गिजा हुँदै शरीरभित्र प्रवेश गरेर मुटुको धमनी ब्लक भएर हृदयघात हुने सम्भावना बढी हुन्छ । त्यस्तै यदि दिमागमा रक्तप्रवाह गर्ने धमनी बन्द भएको अवस्थामा स्ट्रोक हुने सम्भावना बढछ ।

डिमेन्सिया 

मुखको सरसफाइमा ध्यान नदिंदा दाँत मक्किएर झर्ने, दाँत खुस्किने, झर्ने समस्या हुनसक्छ । यसकारण स्मरणशक्तिमा मात्र नभई दिमागको विभिन्न भागमा असर गर्न सक्छ ।

यसबाहेक मुखलाई सफा नगर्नाले पेटसम्बन्धी समस्या, फोक्सोको समस्या र मुखको क्यान्सर समेत हुने जोखिम हुन्छ ।

मुखलाई कसरी सफा राख्ने ?

मुखलाई सफा राख्न बिहान उठ्नेबित्तिकै र बेलुका खाना खाइसकेपछि सुत्नुअघि दिनको दुईपटक दाँत माझ्नुपर्छ । तर दाँत माझेर मात्र हुँदैन । किनभने प्रायजसो हामी दाँतको तीन भाग मात्र ब्रस गर्ने चलन छ । तर यतिले मात्र पुग्दैन दाँतको पाँच भाग नै ब्रस सफा गर्नुपर्छ । दायाँ बायाँ, तल माथि र दाँतको बीचको भागमा ब्रसले सफा गर्नुपर्छ ।

दाँत माझ्दा ब्रस गिजाको ४५ डिग्रीमा हुनुपर्छ । ब्रसले दाँत र गिजा दुवैलाई छोएको हुनुपर्छ । दाँतको बाहिरी सतहमा अगाडि पछाडि, तल माथि लगेर ब्रस गर्नुपर्छ । ब्रसले हल्का रगड्नुपर्छ, किनकि यसरी ब्रस गर्दा गिजाबाट रगत आउन पाउँदैन ।  दाँत र गिजाको भित्री सतहमा पनि ब्रसलाई ४५ डिग्रीको राखेर अगाडि पछाडि र तल माथि गरेर माझ्नुपर्छ ।

जिब्रो र मुखको माथिल्लो भागलाई पनि सफा गर्नुपर्छ । त्यसले मुखमा जम्मा भएर बसेको ब्याक्टेरियालाई सफा गर्छ र मुख गन्हाउने समस्या आउँदैन ।

केही कारणले ब्रस गर्न सम्भव नभएको अवस्थामा सादा पानीले मुख कुल्ला गर्न गर्नुपर्छ । केही खाना खाइसकेपछि मुख कुल्ला गर्दा मुखमा खाना टाँसिने सम्भावना कम हुन्छ । किनभने मुखमा खाना बाँकी रहेमा मुखमा ब्याक्टेरिया उत्पन्न हुने सम्भावना हुन्छ ।

जिब्रोलाई सफा गर्ने

मुख सफा गर्दा जिब्रोलाई पनि दैनिक राम्रोसँग सफा गर्नुपर्छ । यसको लागि टङ क्लिनरको प्रयोग गर्न सकिन्छ । मुखसँगै जिब्रोको सफा नगरेमा मुखभित्र हजारौं ब्याक्टेरिया उत्पन्न हुन्छन्, जसले दाँतको स्वास्थ्यमा नराम्रो असर पार्छ । मुख र सास गन्हाउने हुनसक्छ ।

फ्लस

मुखको स्वास्थ्य राम्रो राख्न फ्लसको प्रयोग गर्नु निकै नै उपयोगी मानिन्छ । यसले दाँतको बीचमा रहेको खानालाई निकाल्न मद्दत गर्छ । जुन ब्रस वा माउथवासबाट निस्किंदैन । त्यसैले मुखलाई सफा राख्न कम्तीमा दिनको एकचोटि फ्लसको प्रयोग गर्नुपर्छ ।

माउथवास

त्यस्तै दाँतलाई अझ सफा राख्न माउथवासबाट मुख कुल्ला गर्न सकिन्छ । यसले मुखमा भएका ब्याक्टेरियालाई मार्ने तथा सास गन्हाउने समस्यालाई मुक्त हुन्छ । दाँतलाई  बलियो बनाइराख्न मद्दत गर्छ ।

क्याल्सियम र अन्य भिटामिनको सवन गर्ने

क्याल्सियम दाँत र हड्डीलाई स्वस्थ र बलियो राख्न आवश्यक हुन्छ । यसको लागि दूध, दही, सुन्तलाको जुस, ब्रोकाउली चीज एवं अन्य दुग्धजन्य उत्पादनको सेवन गर्नुपर्छ । क्याल्सियम र भिटामिन डीले गिजा र दाँत स्वस्थ राख्न मद्दत गर्छ । साथै भिटामिन बी कम्प्लेक्सले पनि दाँत र गिजाबाट रगत बग्न जोगाउँछ । कपुर जिंक, आयोडिन, आइरन, पोटासियमको पनि दाँतको स्वास्थ्यमा महत्वपूर्ण भूमिका हुन्छ ।

कफीको सेवन सीमित मात्रामा गर्ने

पेय पदार्थमा फस्फोरसको मात्रा अधिक हुने गर्छ, जुन मुखको स्वास्थ्यका लागि आवश्यक हुन्छ । तर अत्यधिक फस्फोरसले शरीरमा क्याल्सियमको स्तरलाई नराम्रो असर गर्न सक्छ । जसले दाँत कुहिने र गिजाको समस्या नित्याउन सक्छ । त्यसैले दूध जस्तै अन्य पेय पदार्थ सेवन गर्न सकिन्छ । त्यस्तै चिनीयुक्त पेयपदार्थ भन्दा पानी पिउनु लाभदायक हुन्छ ।

त्यस्तै प्राकृतिक खानेकुरा खाने, प्याकेजिङ खानेकुरा र रिफाइन्ड सकेसम्म नखाने गर्नुपर्छ । यसले पनि मुखलाई सफा राख्न मद्दत गर्छ ।

सकेसम्म तीन-तीन महिनामा दाँत जँचाउनुपर्छ । जाँचमा मुखको केही समस्या भएमा पनि समयमा उपचार गर्न सकिन्छ ।

यसबाहेक चिया, कफीमा चिनीको प्रयोग कम गर्ने, नियमित व्यायाम गर्ने र मानसिक तनाव कम लिने गर्नुपर्छ । यसले पनि मुखलाई स्वस्थ बनाउन मद्दत गर्छ ।

सुर्तजन्य पदार्थको सेवन नगर्ने

चुरोट र सुर्तीको सेवनले मुख गन्हाउने समस्या हुन्छ । प्राय: चुरोट खाने मानिसहरुले मुखबाट चुरोटको गन्ध हटाउन चिया र कफी पिउने गर्छन्, जसले समस्या कम गर्नुको सट्टा मुखको समस्या दुईगुणा हुनसक्छ ।

त्यस्तै गिजामा दुख्छ वा ब्रस गर्ने बेला दाँतबाट रगत आउने वा मुख गन्हाउने समस्या भएमा तुरुन्त दन्त चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

डा. सुवास घिमिरे दाँतको उपचार मुख स्वास्थ्य
डा. सुवास घिमिरे
लेखक
डा. सुवास घिमिरे
ओरल म्याक्जिलोफेसियल सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७२२८ बीडीएस, एमडीएस ओम समाज डेन्टल अस्पतालका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय