+

किन गरिन्छ आँखाको कस्मेटिक सर्जरी ? (भिडियो)

२०८० चैत  १६ गते १४:३३ २०८० चैत १६ गते १४:३३
किन गरिन्छ आँखाको कस्मेटिक सर्जरी ? (भिडियो)

हाम्रा आँखा संसार हेर्ने झ्याल मात्र होइनन्, हाम्रा भावनाहरू र भित्री मनका प्रतिबिम्ब पनि हुन् । यद्यपि, हाम्रो उमेर बढ्दै जाँदा हाम्रो आँखा वरपरको संवेदनशील छालाले बुढ्यौलीका लक्षण देखाउन थाल्छ ।

यस्ता परिवर्तनले कतिपयको आत्मविश्वासमा कमी ल्याउँछ । तर अब चिन्ता लिनुपर्दैन । आँखाको स्वास्थ्य र सुन्दरता कायम राख्न आधुनिक विज्ञानले समाधान खोजिसकेको छ । जसमध्ये एक हो, कस्मेटिक आई सर्जरी ।

कस्मेटिक आई सर्जरी के हो ?

कस्मेटिक सर्जरी अकुलोप्लास्टिक सर्जरी हो । अकुलो भनेको आँखा र प्लास्टिक भन्नाले पुनर्संरचनाको काम भन्ने बुझिन्छ ।

जसको उद्देश्य हो, आँखाको वरपवर देखिने समस्या हटाई सुन्दरता दिनु । अकुलोप्लास्टीले शल्यक्रिया वा बिना शल्यक्रिया आँखा वरपरको मासु झोलिएको, चाउरीपना र अन्य आँखाको समस्याको समाधान गर्छ ।

यी शल्यक्रियाले आँखाको हाउभाउ र तालमेल पनि मिलाउँछ । अनुहारलाई वास्तविक उमेरभन्दा कम देखाउँछ । जसले मानिसको आत्मविश्वास बढाउँछ । आत्मविश्वासले करिअर र व्यक्तिगत जीवनमा सफलता हात पार्न सहयोग गर्छ ।

राम्रो नतिजाको लागि दक्ष कस्मेटिक शल्य चिकित्सकसँग सहकार्य आवश्यक हुन्छ ।

कस्मेटिक सर्जरीको उद्देश्य

मानिसको उमेर बढ्दै जाँदा आँखाको वरिपरिबाट चाउरीपन सुरु हुन्छ । आँखामा देखिने चाउरीपन, आँखा सानो भएजस्तो, आँखाको तल्लो डिलमुनि बोसो जम्मा भएको अवस्था (आइब्याग) उमेरसँगै देखापर्छ । यी समस्याबाट मुक्त हुनका लागि र उमेर बढे पनि जवान देखिने इच्छाले पनि आँखाको कस्मेटिक सर्जरीमा पछिल्लो समय आकर्षण बढेको छ ।

कस्मेटिक आई सर्जरी धेरै प्रकारका हुन्छन् ।

अपर आइलिड सर्जरी : कसैको आँखाको माथिको ढकनी झोलिएको, चाउरीपन छ भने त्यसलाई हटाउन यो सर्जरी गरिन्छ । यो शल्यक्रिया गर्न एकदेखि दुई घण्टा लाग्छ भने दुई सातामा ठीक हुन्छ ।

यस प्रक्रियामा सबैभन्दा पहिला आँखाको ढकनीको चाउरीपन भएमा माइक्रोस्कोपबाट चिराहरू बनाइन्छ । मासुको डल्लो भागलाई हटाइन्छ र मांसपेशीलाई पुनर्स्थापना गरिन्छ ।

बल आइलिड : जसको आँखामाथिको ढकनी हुँदैन । त्यस्ता व्यक्तिको लागि डबल आइलिड गर्न सकिन्छ । प्राय: मंगोलियन समुदायका व्यक्तिको आँखा सानो र माथिको ढकनी कम हुन्छ । उनीहरुले यस्तो शल्यक्रिया गर्छन् ।

ब्रो लिफ्ट : उमेर बढ्दै गएपछि आँखीभौं र निधारका कसिला छाला तन्किएर खुकुलो हुँदै जान्छ । जसकारण छाला झोलिएको जस्तो देखिने र मुजा पर्ने गर्छ ।

कस्मेटिक शल्यक्रियाबाट झोलिएको छालालाई कसिलो पार्ने र चाउरीपनमा देखिने मुजालाई हटाइन्छ । यो शल्यक्रियाको प्रभाव लामो समयसम्म रहन्छ ।

ट्युमर : आँखाको ढकनीमा ट्युमर पलाएमा आँखा हेर्न असहज मात्र होइन, व्यक्तिको आकर्षणमा पनि प्रभाव पार्छ । यस्तो केसमा शल्यचिकित्सकले सावधानीपूर्वक मासुको डल्ला निकाल्छन् । शल्यक्रियापछि आँखाको ढकनीको बनावट प्राकृतिक लयमा फर्किन्छ ।

आँखामा चोटपटक : कतिपयमा चोटपटक, दुर्घटना र अन्य बाह्य तत्वका कारण आँखा वरपर मासु च्यातिने, छाला उक्किने वा अंगभंग भएको हुनसक्छ ।

यस्तोमा पनि कस्मेटिक सर्जरीबाट क्षति पुगेका तन्तु, हड्डी र मांसपेशी मिलाएर आँखाको बनावट, कार्यक्षमतालाई सुधार गरी सुन्दरतालाई कायम राखिन्छ । आँखा फुटेको छ भने पनि सिलिकन हालिन्छ ।

बोटक्स इन्जेक्सन (फिलर) : बोटक्स इन्जेक्सन पनि कस्मेटिक आई सर्जरीमा चलेको उपचार विधि हो । बोटक्स भनेको एक प्रकारको न्युरोटक्सिन हो । जसले अस्थायी रुपमा चाउरीपन ल्याउने मांसपेशीलाई सुस्त बनाउँछ ।

यता, आँखा वरपर खाल्टाखुल्टी भएमा फिलरले भरेर अनुहारको सौन्दर्य कायम राखिन्छ ।

यीबाहेक थाइराइडले पनि आँखालाई हानि गरी यसको स्वरुपमा परिवर्तन ल्याउन सक्छ । यस्तोमा पनि कस्मेटिक सर्जरी गरिन्छ ।

कति समय लाग्छ ?

शल्यक्रिया अनुसार समय फरक पर्न जान्छ । थाइराइड जस्ता रोगले आँखा बाहिर निस्किएको जस्तो देखिन्छ । र, त्यसलाई भित्र लग्ने शल्यक्रिया गर्न पाँचदेखि ६ घण्टा लाग्न सक्छ । त्यस्तै, आँखा वरपर मासु पलाएको निकाल्न केवल १० मिनेटमै हुन्छ ।

लागत

यी शल्यक्रिया गर्दा खर्च भने नेपालमा अन्य विकसित मुलुकको तुलनामा सस्तो छ । शल्यक्रियाको शुल्क अस्पताल अनुसार फरक-फरक हुन्छ ।

सामान्य शल्यक्रियाको शुल्क ५ हजारदेखि सुरु हुन्छ भने जटिल शल्यक्रियाको शुल्क डेढ लाख रुपैयाँसम्म पर्न सक्छ ।

जोखिम

कुनै पनि सर्जिकल प्रक्रिया गर्दा केही जोखिम हुनसक्छ । तर आँखाको कस्मेटिक सजर्रीमा देखिने जटिलता कमै छन् । सयमा एक-दुईजनामा रक्तश्राव, संक्रमण र आँखा सुक्खा हुनसक्छ ।

सर्जरी कत्तिको पीडादायी हुन्छ?

यी शल्यक्रिया सबैभन्दा कम पीडा हुने कस्मेटिक प्रक्रियामध्ये पर्छन् । शल्यक्रिया गरेकै दिनमा अलिकति सामान्य असहज हुनसक्छ । र,  बिस्तारै राम्रो महसुस हुनसक्छ ।

शल्यक्रिया गर्ने उत्तम उमेर

१८ वर्षभन्दा माथिका जो कोहीले पनि आँखाको कस्मेटिक शल्यक्रिया गर्न सक्छन् । यद्यपि सबैभन्दा राम्रो सेवाग्राहीहरू ३० वर्ष देखि माथिका स्वस्थ वयस्क हुन् ।

नेपालमा यो सेवाको अवस्था के छ ?

नेपालको परिवेशमा आँखाको यस्ता कस्मेटिक शल्यक्रिया पनि जर्नरल सर्जनले गर्नुपर्ने बाध्यता थियो । तर अहिले भने यही विधामा दक्षता लिएर आउने कस्मेटिक सर्जन धेरै छन् । जसले गर्दा यस्ता सेवा गुणस्तरीय बन्दै गइरहेको छ ।

चिकित्सक बढेसँगै आँखाको कस्मेटिक सर्जरीबारे आममानिस सचेत हुन थालेका छन् । जसकारण आँखाको कस्मेटिक शल्यक्रिया गराउनेको संख्या पनि बढ्दो छ ।

आँखा कस्मेटिक आई सर्जरी कस्मेटिक सर्जरी डा. बेन लिम्बू
डा. बेन लिम्बू
लेखक
डा. बेन लिम्बू
नेत्ररोग विशेषज्ञ तथा अकुलोप्लास्टी सर्जन

डा. लिम्बू काठमाडौंको ग्लोबल आई सेन्टरका संस्थापक हुन् । उनको नेपाल मेडिल काउन्सिल दर्ता नम्बर ४४०१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय