+

लामो समय स्क्रिन हेर्दा बच्चाको आँखामा निम्तिन सक्ने ३ समस्या

२०८० चैत  २८ गते १६:४२ २०८० चैत २८ गते १६:४२
लामो समय स्क्रिन हेर्दा बच्चाको आँखामा निम्तिन सक्ने ३ समस्या

बच्चाहरू धेरैजसो ल्यापटप, मोबाइल, ट्याब्लेटमा गेम खेल्न वा भिडियो हेर्नमा तल्लीन हुन्छन् । यसबाहेक मोबाइल नहेरी खाना नखाने बानी पनि धेरै बालबालिकामा देखिन्छ ।

लामो समय स्क्रिनमा हेर्दा बच्चामा आँखासम्बन्धी समस्या बढ्ने चिकित्सकहरू बताउँछन् । स्मार्टफोन, ट्याबको सानो स्क्रिनमा आँखाको समग्र हेराइ केन्द्रित गर्दा आँखामा जोड पर्छ । जसकारण आँखामा आँसु आउने, धमिलो देखिने, टाउको दुख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन्छन् । साथै धेरै लामो समय स्क्रिनमा बिताउँदा बच्चाहरूमा यी तीन आँखाको समस्या निम्तिने जोखिम बढी हुन्छ ।

दृष्टिदोष

स्क्रिनमा धेरै समय बिताउँदा बच्चाको ध्यान एकै ठाउँमा मात्र केन्द्रित हुन्छ । यस्तो हुँदा उनीहरूमा (रिफ्राक्टिभ एरर) दृष्टिदोषको समस्या निम्तिने सम्भावना हुन्छ ।

आँखाले कुनै पनि वस्तुलाई राम्ररी देख्न वा छुट्याउन नसक्ने समस्या दृष्टिदोष हो । बालबालिकामा यो समस्या भएमा उनीहरूले टाढा र नजिक दुवै राम्ररी देख्न सक्दैनन् ।

आँखा सुक्खा

आँखामाथिको ग्रन्थीले आँसु बनाउँछ, जसले आँखालाई सुख्खा हुन दिंदैन । तर बच्चाले धेरै समय मोबाइल कम्प्युटरमा बिताउँदा आँखाको नानीलाई ढाक्ने आँसुका तहहरू फाट्छन् । जसले कर्नियाको सतह चिप्लो हुन नसकेर, आँसुको ग्रन्थीमा आँसु कम उत्पादन हुँदा आँखा सुक्खा हुन्छ ।

आँसुले हाम्रो आँखाको सतहलाई संक्रमणबाट पनि बचाउँछ । आँखा सुक्खा भएर पर्याप्त आँसुको कमीले आँखाको संक्रमणको जोखिम समेत बढ्छ ।

डेढोपन  

आँखा बल जस्तो आकारमा हुन्छ, त्यो मांसपेशीको माध्यमबाट चल्ने गर्छ । बच्चाले गेम खेल्दा, लामो समय मोबाइल स्क्रिनको एकै ठाउँमा बढी हेर्ने गर्छन् । एकै ठाउँमा मात्र हेरिरहँदा आँखाको मांसपेशी कमजोर भएर तथा आँखाको नसा प्यारालाइसिस भएर आँखा डेढो हुने सम्भावना बढ्छ ।

कुनै पनि वस्तुलाई एउटा आँखाले सिधा र अर्को आँखाले बाङ्गो हेर्‍यो भने त्यस्तो अवस्थालाई डेढो आँखा भन्ने गरिन्छ । बाङ्गिएको आँखाले सिधा आँखाले जति देख्दैन ।

बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने ?

बच्चाले आफूलाई आँखामा समस्या भएको बताउन सक्दैनन् । किनभने उनीहरूले थाहै पाउँदैनन् । तर अभिभावकले उसको हाउभाउ र क्रियाकलाप हेरेर आँखामा समस्या आएको थाहा पाउनुपर्छ ।

बच्चाले बारम्बार एउटा आँखा झिमझिम गर्ने वा छोप्ने गर्छ भने त्यो आँखा कमजोर भएको संकेत हुनसक्छ । घरमा टिभी हेर्दा टाढा बसेर हेर्दाहेर्दै नजिकै गएर हेर्छ भने पनि उसमा आँखाको समस्या छ कि भनेर शंका गर्नुपर्छ । बच्चाले  बारम्बार आँखा मिच्न थाल्यो भने पनि आँखा कमजोर भएको लक्षण हुनसक्छ ।

अभिभावकले यी कुरामा ध्यान दिनुपर्छ

स्क्रिनमा धेरै समय बिताउनेहरूमा आँखाको विभिन्न समस्याको जोखिम हुने भएकाले अभिभावकले बच्चालाई २० नियम लागू गराउने कोसिस गर्नुपर्छ । जसको अर्थ हरेक २० मिनेटको समय अवधिमा २० सेकेन्ड आराम लिई २० फिट टाढाको वस्तु हेर्ने अभ्यास गर्नुपर्छ ।

बच्चालाई आँखाको समस्याबाट बचाउन उनीहरूको स्क्रिन टाइमलाई कम गर्नुपर्छ । खाना खाने समयमा र होमवर्क गर्ने बेलामा मोबाइल नचलाउने भन्ने नियम बनाउनुपर्छ । त्यो समयमा अभिभावक आफैंले पनि मोबाइल चलाउनु हुँदैन ।

यदि बच्चा दिनभर मोबाइलमा मात्र झुमिन्छन् भने उनीहरूलाई घरबाहिर खेल्न पठाउनुपर्छ । जसले गर्दा उसको आँखाको समस्या निम्तने जोखिम कम हुनुका साथै शारीरिक विकासमा पनि सुधार हुन्छ ।

परिवारले पनि आफ्नो बच्चाले कसरी हेर्छ, आँखाबाट आँसु आउँछ या आउँदैन । धमिलो देख्ने, आँखा पोल्न, पाक्ने समस्या छ कि छैन भन्ने जस्ता कुरामा गम्भीर ध्यान दिनुपर्छ ।

समयमा नै दृष्टिदोष, सुक्खा आँखा र डेढोपनको उपचार गरिएन भने आँखाको अन्धोपन समेत हुनसक्छ । त्यसैले नजिकैको आँखा केन्द्र वा आँखा अस्पतालमा गएर आँखाको उपचार गराउनुपर्छ ।

बच्चामा आँखा पोल्ने,आँसु आउने, धमिलो देखिने जस्ता समस्या छ भने तुरुन्त नजिकको आँखा अस्पताल गई जाँच गराउनुपर्छ ।

आँखाको समस्या बालबालिका स्क्रिन टाइम
डा. प्रतीक्षा अमात्य
लेखक
डा. प्रतीक्षा अमात्य
नेत्ररोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ८१९५ एमबीबीएस, एमएस (नेत्र विज्ञान), ओकुलोप्लास्टीमा फेलोसिप हाल काठमाडौं त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय