+

‘रिसलाई पनि व्यक्त गर्नुपर्छ’ (भिडियो)

२०८१ वैशाख  १३ गते ११:५५ २०८१ वैशाख १३ गते ११:५५
‘रिसलाई पनि व्यक्त गर्नुपर्छ’ (भिडियो)

काठमाडौं । रिस प्राकृतिक रूपले उत्पन्न हुने भावनात्मक क्रिया हो । हाम्रा भावनाहरूले विभिन्न समयमा विभिन्न विषयमा क्रिया गर्ने र क्रियाको प्रतिक्रिया जनाइराखेका हुन्छन् । हाम्रा यस्ता भावनाहरूलाई दिमागले सञ्चालन गरिराखेको हुन्छ । यस्तै विभिन्न प्रकृतिको भावनात्मक संवेगमध्ये रिस एउटा हो । तर केही व्यक्तिलाई भने एकदम छिटो–छिटो रिसाउने, साना–साना कुरामा रिस उठ्ने हुन्छ ।

सानोतिनो कुरामा पनि झनक्क रिस किन उठ्छ ? रिसलाई नियन्त्रण गर्न सम्भव छ ? लगायत विषयमा मानसिक रोग विशेषज्ञ डा. आशिष ढकालसँग अनलाइनखबरकी सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश :

रिस किन उठ्छ ?

रिस तब उठ्छ, जब गाह्रो परिस्थिति सिर्जना हुन्छ । सजिलो परिस्थितिमा मान्छेलाई रिस उठ्दैन । कुनै व्यक्ति सानो कुरामा पनि झनक्क रिसाउँछ भने यो मान्छे रिसायो भन्दा पनि किन रिसाएको हो भन्ने कुरा जान्नु जरुरी हुन्छ ।

मनोरोगको पाटोबाट हेर्दा मान्छे त्यो बेला रिसाउँछ, जुनबेला उसलाई भित्रबाट केही कुराले गाह्रो भइरहेको हुन्छ । कि त बाहिरबाट अन्य तत्त्वले गर्दा आफ्नो रिसलाई काबुमा राख्न सकेको हुँदैन ।

रिसको कारण केके हुनसक्छ ?

प्रायजसो बिरामी डरको समस्या, चिन्ताको समस्या लिएर अस्पताल आउँछन् । उनीहरूले गुनासो गर्छन्- ‘मलाई सानो सानो कुरामा झर्को लाग्छ, छिटो रिस उठ्छ केही दिनपछि भने किन रिसाएछु भन्ने हुन्छ । तर फेरि त्यही अवस्थामा रिस उठ्छ ।’

रिसको समस्यालाई रोगको आधारमा विभाजन गर्ने हो भने डर र चिन्ताको समस्यामा बिरामीलाई डराउनु पर्दैन, आत्तिनु पर्दैन, तनाव लिनु हुँदैन, रिसाउन हुँदैन भन्ने कुरा थाहा हुन्छ । तर थाहा हुँदाहुँदै पनि बिना कारण डर लाग्ने, आत्तिने, रिस उठ्ने हुन्छ । बिरामीले त्यसलाई नियन्त्रण गर्न खोजिरहेका हुन्छन्, अरू व्यक्तिलाई त्यो कुरा थाहा हुँदैन र अरूले त्यस्तो गर्न हुँदैन भन्ने सल्लाह दिन्छन् । त्यो कुराले बिरामीलाई झन् रिस उठ्छ मेरो समस्या किन नबुझेको होला भनेर ।

सोचको समस्या ‘सिजोफ्रेनिया’मा पनि छिटो रिस उठ्छ भन्छन् नि ?

सही गलत छुटाउन नसक्ने, के साँचो के झुटो हो भन्ने कुरा छुटाउन नसक्ने समस्या नै सोचको समस्या हो । दिमागमा उल्टो सोच सबै व्यक्तिमा आउँछ । मानौं, कोही व्यक्ति कार्यालयमा पुग्दा उसको  चार-पाँच जना साथी एक ठाउँमा बसेर कुरा गर्दैछन् भने उसलाई मेरो कुरा गरेको हो कि, मलाई नै हेरेको हो कि भन्ने लाग्छ । तर आफ्नो नाम लिएको नसुनेसम्म, आफूलाई नऔंल्याएसम्म मेरो कुरा गरेको हो भनेर व्यक्ति रिसाउँदैन ।

सोचको समस्या भएको व्यक्तिलाई भने सही गलत छुटाउन गाह्रो हुन्छ । त्यसैले त्यस्ता व्यक्तिको दिमागमा नराम्रो सोच आएमा त्यो सही हो, मेरै कुरा गरेको हो भनेर रिसाइहाल्छन् ।

‘बाइपोलार डिसअर्डर’ धेरै उत्तेजना हुने समस्या भएका व्यक्तिको शरीरमा ऊर्जा एकदमै धेरै हुन्छ । यस्तोमा दिमाग एकदमै छिटो चल्दा, आफूले सोचेअनुसारको काम गर्न नसक्दा पनि व्यक्ति सानो सानो कुरामा पनि रिसाउने, झर्किने गर्छन् ।

कसैको व्यक्तित्व नै रिसाउने पनि हुन्छ कि ?

कसैको व्यक्तित्व नै रिसाउने खाले हुन्छ । आफूलाई केही कुराको तनाव भएको छ भने त्यसलाई रिसमार्फत व्यक्त गर्ने हुन्छ । तनाव भएको बेला रिसाउने, कराउने, चिच्याउने गरेर रिस व्यक्त गर्छन् । केही समयपछि भने किन त्यस्तो गरे भनेर पछुतो मान्छन् ।

यसरी रोग, व्यक्तित्व र वरपरको वातावरणको कारण मान्छेको रिस व्यक्त गर्ने शैली फरक पर्न सक्छ । कसैलाई सानो कुरामा पनि झनक्क रिस उठ्न सक्छ भने कोही रिसलाई नियन्त्रण गर्न सक्छन् ।

खुसी हुँदा खुसी व्यक्त गरिन्छ भने रिस उठ्दा रिसलाई पनि व्यक्त गर्नुपर्छ कि नियन्त्रण  ?

मान्छेहरू रिसाउनु हुँदैन, रिसलाई नियन्त्रण गर्नुपर्छ भन्छन् । तर कुनै व्यक्ति खुसी भयो भने उसले खुलेर खुसी देखाउँछ, व्यक्त गर्छ, नियन्त्रण गर्दैन भने रिस उठ्दा रिसलाई किन नियन्त्रण गर्ने । रिसलाई पनि देखाउनुपर्छ, व्यक्त गर्नुपर्छ । रिसलाई देखाउनुपर्छ तर रिस कसरी देखाउने ? देखाउने तरिका सही छ कि गलत छ भन्ने कुरामा भने ध्यान दिनुपर्छ । रिस उठ्यो भनेर अरूसँग झगडा नै गर्नुपर्छ, जथाभावी बोल्नैपर्छ भन्ने जरुरी छैन । रिसलाई सही तरिकाले देखाउने प्रयास गर्नुपर्छ ।

हाम्रो सोच कहिल्यै पनि हाम्रो नियन्त्रणमा हुँदैन । मान्छेले चाहेर रिसाउने, नचाहेर नरिसाउने भन्ने हुँदैन । जतिबेला व्यक्ति शान्त छ, त्यो बेला ध्यान गर्‍यो भने रिस नियन्त्रण गर्न सजिलो होला । तर जति बेला रिस उठेको छ त्यो बेला रिसलाई नियन्त्रण गर्न सम्भव हुँदैन ।

दिमागमा धेरै प्रकारको सोच आउँछ, त्यो सोचको कारण धेरै रिस उठ्छ र रिसकै कारण सम्बन्ध बिग्रिएको छ, काम नै प्रभावित भएको छ भने उपचार गर्न अस्पताल पुग्नुपर्छ । तर रिस कहिलेकाहीं मात्र उठ्छ, त्यसले दैनिकीमा कुनै प्रभाव पारेको छैन भने बढी रिस उठ्छ भनेर आत्तिनु पर्दैन ।

डा. आशिष ढकाल

कस्तो अवस्थामा रिस रोग हुनसक्छ ?

रिसले आफूलाई कति असर गरेको छ र वरपरको मान्छेलाई कति असर गरेको छ भन्ने कुरा बुझ्नुपर्छ । कोही महिनामा एक पटक वा दुई-तीन महिनामा एक पटक रिसाउँछन् भने त्यो रोग होइन । तर कसैलाई रिसाउन हुँदैन भन्ने कुरा थाहा हुँदाहुँदै पनि रिसाउँछ र रिसाएर गल्ती गरे भनेर हीनताबोधको सोच पनि आइरहेको छ, तैपनि आफ्नो व्यवहार परिवर्तन गर्न सकिरहेको छैन भने त्यो रोग हुनसक्छ ।

मेरो रिसको कारण वरपरको मान्छेलाई असर गरिरहेको छ, रिसको कारण काम राम्ररी गर्न सकेको छैन भने केही समस्या पो हो कि भनेर चिकित्सकको परामर्श लिनुपर्छ ।

रोगको कारण रिस बढी उठ्छ भने त्यसको उपचार हुन्छ ?

डर, चिन्ताको कारण बढी रिस उठेको छ भने डर, चिन्ता कम गर्ने औषधिको सेवन गरेर त्यसको उपचार हुन्छ । सोचको समस्या भएका कारण रिस बढी उठेको हो भने त्यसको औषधि सेवन गर्न सकिन्छ । भ्रमको कारण रिस उठेको हो भने भ्रम कम गर्ने औषधि दिइन्छ ।

औषधिसँगै बिरामीलाई परामर्श पनि दिइन्छ । कुनै व्यक्तिलाई डिप्रेसन भएको छ भने उसले आफूलाई परामर्श दिइरहेको हुन्छ डराउनु हुँदैन, रिसाउनु हुँदैन,  खुसी हुनुपर्छ, तनाव लिनु हुँदैन भनेर । डराउनु पर्दैन, रिसाउनु हुँदैन भनेर दिमागलाई थाहा हुन्छ तर शरीर डराउँछ, मुटु ढुकढुक हुन्छ ।

आफूलाई परामर्श दिंदादिंदै पनि उसले चिन्ता लिइरहेको छ, रिसाइरहेको छ भने त्यस्तो व्यक्तिलाई औषधि उपचारसँगै परामर्श पनि दिनुपर्ने हुन्छ । औषधिले बिरामीको शारीरिक लक्षणलाई नियन्त्रण गर्छ भने परामर्शले दिमागलाई शान्त बनाउँछ ।

यदि कोही व्यक्ति धेरै रिसाउँछन्, व्यवहारमा परिवर्तन देखिएको छ भने उसलाई केही समस्या पो छ कि भनेर परिवारका सदस्यहरू सचेत हुनुपर्छ । समयमै समस्या पत्ता लाग्यो भने त्यसको उपचार पनि समयमै हुन्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

डा. आशिष ढकाल मानसिक स्वास्थ्य रिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय