+

कमेडी शो मानसिक स्वास्थ्यका लागि कति उपयोगी हुन्छ ?

२०८१ वैशाख  २० गते ७:०० २०८१ वैशाख २० गते ७:००
कमेडी शो मानसिक स्वास्थ्यका लागि कति उपयोगी हुन्छ ?

काठमाडौं । आमिर खान सोध्छन्, ‘कपिल म एउटा कुरा सोध्छु, यो शो कहिलेदेखि चलिरहेको छ ।’

‘यो ११ औं वर्षमा चलिरहेको छ,’ कपिलको जवाफ ।

‘११ वर्षमा म पहिलो पटक आउँदैछु । किन म आएँ ?,’ आमिर भन्छन्, ‘पछिल्लो दुई, अढाई वर्ष म एकदमै कठिन परिस्थितिबाट गुज्रिएँ । भावनात्मक रुपमले म कमजोर भइसकेको थिएँ । यो दुई–अढाई वर्ष मैले कमेडी विथ कपिल हेरें । यसले मलाई धेरै ठूलो राहत दियो । म डिप्रेसनग्रस्त थिएँ, कपिलले मलाई हँसायो ।’

कुनैपनि अवार्ड समारोहजस्ता औपचारिक कार्यक्रममा बलिउड अभिनेता आमिर खान उपस्थित हुँदैनन् । यसपालि  नेटफ्लिक्सबाट प्रसारण हुने ‘द ग्रेट इन्डियन कपिल शो’मा भने उनी प्रस्तुत भएर भने, ‘म आज यहाँ आएँ । किनभने हिजो डिप्रेसनग्रत अवस्थामा मलाई कमेडी शोले धेरै राहत दिएको थियो ।’

हास्य मनोरञ्जनात्मक खुराकले मानसिक पीडाबाट वास्तवमै छुटकारा दिलाउँछ ? भावनात्मक रुपमा कमजोर भएको अवस्थामा यसले राहत दिन्छ ? डिप्रेसन र मनोरोगको बेला हौसला जगाउन भूमिका खेल्छ ?

यस सम्बन्धमा केही खोज–अध्ययन भएका छन् । हास्य मनोरञ्जनात्मक सामग्री हेरिरहँदा मान्छेको मस्तिष्कले आराम पाउँछ । यसले मानसिक स्वास्थ्यमा सोझो लाभ पुग्ने बताइन्छ ।

‘कमेडी शो जस्ता कुनैपनि हास्य सामग्री हेरिरहँदा दिमागमा डोपामाइन र सेरोटोनिन हार्मोनको स्तर बढ्छ,’ मनोचिकित्सक डा. सुरज तिवारी भन्छन्, ‘यही हार्मोनले मान्छेलाई आराम र खुसी महसुस गराउने हो ।’

अक्सर हाम्रो खुसी, पीडा, दुःख, निराशा, उत्साह जस्ता भावनात्मक संवेगमा हार्मोनको भूमिका हुन्छ । हार्मोन हाम्रो शरीरमा हुने रासायनिक सन्देशवाहक हो । यसैको स्तर घटबढ हुँदा हामीमा भावनात्मक उथलपुथल आउने गर्छ ।

डा. तिवारीका अनुसार डोपामाइनलाई ‘ह्याप्पी हार्मोन’ भनिन्छ । यसैगरी सेरोटोनिनलाई ‘फिल गुड हार्मोन’ भनिन्छ । यी हार्मोनले मान्छेलाई उदास र निराश हुन दिंदैन ।

यी हार्मोन शरीरमा आन्तरिक उत्पादन हुने भएपनि यसमा बाह्य प्रभाव पर्ने गर्छ । जस्तो हामीले देख्ने, भेट्ने, सुन्ने, अनुभव गर्ने कुराले यी हार्मोनको उत्पादनमा सोझो असर गर्छ । मान्छेहरुको सकारात्मक कुरा सुन्दा, प्रेरक पुस्तक पढ्दा वा मनोरञ्जनात्मक दृश्य देख्दा हाम्रो शरीरमा डोपामाइन, सेरोटोनिन जस्ता हमर्मोनको स्तर बढ्छ ।

‘मानव मस्तिष्कमा हाइपोथलामस भन्ने ग्रन्थी हुन्छ, जुन ग्रन्थी हाम्रो भावनासँग जोडिएको हुन्छ,’ डा. तिवारी भन्छन्, ‘हामीले आफूलाई मनपर्ने मान्छेलाई भेट्दा, आफूलाई मनपर्ने संगीत सुन्दा भने त्यसले हाइपोथलामस ग्रन्थीबाट डोपामाइन हार्मोन, सेरोटोनिन हार्मोन उत्पादन गर्छ ।’

त्यस्तै शरीरमा अर्को हार्मोन हुन्छ, कार्टिसोल । यो हार्मोन सन्तुलित मात्रामा हुन एकदमै जरुरी छ । जब यसमा उतारचढाव आउँछ, हामीमा तनाव र बेचैनी बढाउँछ । कमेडी शो जस्ता हास्य खुराकहरुले भने कार्टिसोल हार्मोनलाई सन्तुलित राख्न पनि भूमिका खेल्ने डा. तिवारी बताउँछन् ।

मानसिक समस्याको मुख्य कारण तनाव हो । तनाव, चिन्ता जस्ता मनोविकारमा कमेडी शो जस्ता हास्य खुराकहरुले राहत दिने उनको भनाइ छ । ‘तर सबै किसिमको मानसिक समस्यामा यसबाट लाभान्वित भइन्छ भन्ने छैन,’ मनोचिकित्सक डा. तिवारी भन्छन्, ‘मानसिक समस्या जटिल भइसकेको छ भने त्यसबेला हास्य खुराकहरुले औषधिको काम गर्छ भन्ने हुँदैन ।’

मानसिक समस्याको विभिन्न चरण हुने गर्छ । प्रारम्भिक र मध्यम चरणमा हास्य मनोरञ्जनले धेरै हदसम्म राहत दिएपनि जटिल स्थितिमा त्यसको प्रभाव रहन्न । ‘किनभने मानसिक समस्या गम्भीर चरणमा छ भने त्यस्ता व्यक्तिलाई कुनैपनि कार्यक्रम हेर्न रहर वा क्षमता नै हुँदैन,’ उनी भन्छन् । जटिल अवस्थामा पुगिसकेका मानसिक समस्यामा भने मनोचिकित्सकको परामर्श, औषधि र थेरापी जरुरी हुनसक्ने उनी बताउँछन् ।

‘आखिर जे भएपनि हास्य मनोरञ्जनात्मक खुराकले हामीलाई दुःख र पीडाको अवस्थाबाट भने क्षणभरकै लागि भएपनि मुक्त  राख्छ,’ डा. तिवारी भन्छन्, ‘यसका लागि कस्तो मनोरञ्जनात्मक कार्यक्रम हेर्ने वा सुन्ने भन्ने कुरा महत्वपूर्ण हुनसक्छ । किनभने अहिले जथाभावी आउने सबै सामग्रीले स्वस्थ मनोरञ्जन नै दिन्छ भन्ने पनि हुँदैन ।’

नकारात्मक ढंगले प्रस्तुत गरिने हास्य सामाग्रीहरुले मान्छेको मानसिक स्वास्थ्यमा फाइदा गर्नुको साटो बेफाइदा गर्ने उनी बताउँछन् । ‘त्यसैले कस्तो मनोरञ्जनात्मक सामाग्री हेर्ने भन्ने कुरामा सतर्क हुनुपर्छ,’ डा. तिवारी भन्छन् ।

कस्ता छन् अहिलेका हास्य मनोरञ्जनात्मक सामग्रीहरु ?

टेलिभिजन, युट्युब जस्ता माध्यममा अहिले सर्वाधिक रुचाइएका छन्, हास्य मनोरञ्जनात्मक खुराकहरु । कमेडी शो, हास्य शृंखलामा दर्शकहरु झुम्मिएका देखिन्छन् । फिल्म लेखक तथा समीक्षक सामीप्यराज तिमल्सिना भन्छन्, ‘अहिले कमेडी शोमा दर्शकको आकर्षण बढेको छ । यही कारण यस्ता कार्यक्रम बनाउने होड पनि चलेको छ ।’

तर दर्शकले रुचाउँछ भनेर लहलहैमा कमेडी शो, हास्य शृंखलाहरु निर्माण गरिरहँदा त्यसको गुणस्तरमा पनि ध्यान दिनुपर्ने उनी बताउँछन् ।

‘मान्छे हाँस्छ भन्दैमा अनेक हुलिया बनाउने, द्विअर्थी भाषा बोल्ने प्रवृत्ति व्यापक छ,’ उनी भन्छन्, ‘यो भद्दा र भड्किलो मनोरञ्जन हो, जो हेरेको भन्दा नहेरेकै राम्रो हुन्छ । किनभने स्वस्थ मनोरञ्जन दिनुपर्छ ।’

महसञ्चारबाट निर्माण भएको वनपाले, १५ गते जस्ता शृंखलाहरुले स्वस्थ मनोरञ्जन पस्किएको र सन्देशमूलक पनि भएको तिमल्सिनाको भनाइ छ । ‘तर हिजोआजको कमेडी केराको बोक्रामा चिप्लेर लडाउने खालका छन्,’ उनी भन्छन्, ‘यस्ता कमेडी स्वस्थ मनोरञ्जनको श्रेणीमा पर्दैन ।’

हिजोआजको प्रायजसो कमेडी शो वा हास्य टेलिश्रृंखलामा महिलाहरुलाई होच्याउने, जातीय विभेद गर्ने उखान टुक्काको प्रयोग भएको देखिन्छ । त्यस्तै मानिसहरुको रुप, रंग, शारीरिक बनावटको बारेमा टिप्पणी हुन्छ । अहिले बग्रेल्ती प्रसारण हुने कमेडी शोहरुले अस्वस्थ मनोरञ्जन पस्किरहेको उनको टिप्पणी छ ।

‘हामीले हँसाउने नाममा अरुलाई चित्त दुखाउने काम त गर्नुभएन,’ उनी भन्छन्, ‘बरु मान्छेलाई खुसी राख्ने, प्रेरणा जगाउने, उत्साहित बनाउने, सकारात्मक बन्न प्रेरित गर्ने खालको हुनुपर्छ ।’

कमेडी शो मानसिक स्वास्थ्य
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

जेन जीको आन्दोलनले जेन अल्फालाई कस्तो प्रभाव पार्छ ?

जेन जीको आन्दोलनले जेन अल्फालाई कस्तो प्रभाव पार्छ ?