News Summary
Generated by OK AI. Editorially reviewed.- महिनावारी कप मेडिकल ग्रेड सिलिकनबाट बनेको हुन्छ र योनीभित्र राखेर रगत जम्मा गर्ने सुरक्षित र शरीरमैत्री विकल्प हो।
- महिनावारी कपलाई हरेक ४ देखि ६ घण्टामा निकालेर सफा गरेर पुनः प्रयोग गर्न सकिन्छ र सही प्रयोगले इन्फेक्सनको जोखिम हुँदैन।
- महिनावारी कप लगाउँदा भर्जिनिटी जान्छ भन्ने गलत हो र कप भित्र अड्किएमा चिकित्सकको सहयोग लिन सकिन्छ।
आजकल धेरै नेपाली युवती तथा महिलाहरूले महिनावारीको समयमा सेनेटरी प्याडको विकल्प खोजिरहेका छन् । त्यसैले प्याडको विकल्पमा अहिले बजारमा ट्याम्पोन र महिनावारी पेन्टी लगायत अन्य साधन उपलब्ध छन् । यस्तै अर्को वैकल्पिक साधन हो, मेन्स्ट्रुअल कप अर्थात् महिनावारी कप ।
धेरै महिला तथा युवतीहरू सुरक्षित विकल्पको रूपमा महिनावारी कप प्रयोग गर्न चाहन्छन् । तर, महिनावारी कप कसरी लगाउने ? यसले कुनै हानि गर्छ कि ? भित्रै अड्किने पो हो कि ? भनी धेरैको चासो र जिज्ञासा हुने गर्छ । महिनावारी कपको विषयमा सोधिने यस्तै प्रमुख प्रश्नहरू हामीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. माला श्रेष्ठसमक्ष राखेका छौँ।
महिनावारी कप के हो ? कति सुरक्षित छ ?
महिनावारी कप मेडिकल ग्रेड सिलिकनबाट बनेको हुन्छ । जसलाई योनीभित्र छिराएर प्रयोग गरिन्छ । यो कप गर्भाशयभन्दा तलपट्टि योनीको भित्तामा अडिन्छ र रगत बग्न दिँदैन । रगत कपमा जम्मा हुन्छ । यही सिलिकन ब्रेस्ट इम्प्लान्ट, पिसाबको पाइप (क्याथेटर) र हृदयको स्टेन्टमा पनि प्रयोग हुन्छ, त्यसैले यो पूर्णरूपमा शरीर–मैत्री हुन्छ । यसको प्रयोगले कुनै र्यास, एलर्जी वा इरिटेसन हुँदैन । यो पुनः प्रयोग गर्न सकिने नरम र अत्यन्त लचकदार हुन्छ । सही तरिकाले सफाइ गरेर प्रयोग गर्दा इन्फेक्सनको जोखिम शून्य हुन्छ ।
कति समयसम्म लगाउन सकिन्छ ?
कम्पनीहरूले १२ घण्टासम्म भन्छन्, तर सहजताका लागि हरेक ४ देखि ६ घण्टामा निकालेर सफा गरेर फेरि लगाउनु उत्तम हुन्छ । खास गरी धेरै रक्तस्राव भएका बेला छिटो-छिटो सफा गर्नुपर्छ ।
साइज कसरी छान्ने ?
किशोरीहरू तथा जसले कहिल्यै भजाइनल डेलिभरी गरेका छैनन् उनीहरूका लागि स्मल साइज लिने । एक पटक भजाइनल डेलिभरी गरेकाका लागि मिडियम साइज र धेरै पटक डेलिभरी भएका वा ३० वर्ष माथिका महिलाहरूका लागि लार्ज साइज ठिक हुन्छ ।
पहिलो पटक प्रयोग गर्दा के गर्ने ?
सुरुमा कप सुक्खा हुने भएकाले पानीमा भिजाउने वा वाटर–बेस्ड लुब्रिकेन्ट लगाउनुपर्छ । १–२ पटक प्रयोग गरेपछि बानी पर्छ, त्यसपछि सहज लाग्छ ।
कसरी लगाउने ?
हात राम्ररी धुने । कपलाई सी आकारमा पञ्च–डाउन फोल्ड गरेर समात्ने । स्क्वाटिङ पोजिसन वा एक खुट्टा माथि राखेर कमोडमाथि दुई पोजिसनमध्ये जुन सहज लाग्छ त्यो पोजिसनमा बस्ने । आरामले बस्ने जसले गर्दा पेल्भिक मसल्स रिल्याक्स हुन्छ । अब कपलाई सिधा होइन, ४५ डिग्री कोणमा पछाडितिर छिराउने । भित्र पुगेपछि कप आफैँ खुल्छ र भ्याक्युम बन्छ, राम्ररी अडिन्छ । कप खुल्यो कि खुलेन भनेर औँलाले वरिपरि घुमाएर जाँच गर्न सकिन्छ ।
कसरी निकाल्ने ?
महिनावारी कपलाई कहिल्यै पनि पुच्छरमा तानेर निकाल्नु हुँदैन । यसो गर्दा अड्किने र दुख्ने सम्भावना हुन्छ । निकाल्दा कपको तल्लो भागलाई औँलाले थिच्ने, यसले भ्याक्युम फुट्छ र आरामले बाहिर निस्किन्छ । त्यसपछि रगतलाई बेसिनमा खन्याएर पानीले राम्ररी पखालेर फेरि लगाउन सकिन्छ ।
सफाइ र भण्डारण कसरी गर्ने ?
महिनावारी कपलाई हरेक पटक प्रयोगपछि साबुन–पानीले धुनुपर्छ । महिनावारी सकिएपछि ५–१० मिनेट तातोपानीमा उमालेर वा स्टेरिलाइजरले सफा गर्नुपर्छ । सुक्खा भएपछि दिइएको पाउचमा राख्नुपर्छ । कपलाई खुला वा प्लास्टिकमा राख्नु हुँदैन सङ्क्रमणको जोखिम हुन्छ ।
कुमारी केटीले महिनावारी कप लगाउँदा हाइमेन फुट्छ/भर्जिनिटी जान्छ ?
यो कुरामा कुनै सत्यता छैन । हाइमेन एक पातलो, लचकदार झिल्ली हो जुन आधा खुल्लै हुन्छ । साइक्लिङ, व्यायाम वा नृत्य गर्दा पनि फुट्न सक्छ । महिनावारी कप लगाउँदा भर्जिनिटी जान्छ भन्नु गलत भास्य हो ।
कप भित्रै अड्कियो भने ?
कप भित्र अड्कने, हराउने वा टाढा जान सक्दैन । कप तान्दा आएन भनेर आत्तिनु हुँदैन आत्तियो भने मसल्स टाइट भएर दुख्न सक्छ । त्यसैले कप निकाल्नु अघि आरामले स्क्वाट पोजिसनमा बस्नुपर्छ, कपको तल्लो भाग थिचेर भ्याक्युम फुटाउनुपर्छ त्यसपछि सहजै निस्किन्छ । अझै निस्किएन भने अस्पताल गएर चिकित्सकको सहयोग लिन सकिन्छ।
यसको प्रयोगले पेट दुखाइ पो हुन्छ कि ?
पछिल्ला अध्ययनहरूले मेन्सुरल कप प्रयोग गर्नेहरूमा ‘डिस्मेनोरिया’ महिनावारीको दुखाइ अलि कम भएको देखाएको छ । त्यसैले यसले पेट दुख्ने समस्या खासै हुँदैन ।
यसका फाइदा के-के छन् ?
एक पटक किनेपछि २ वर्षसम्म चल्छ त्यसैले यो किफायती भयो । यसलाई प्रयोगपछि प्याड÷ट्याम्पुन जस्तो फाल्नु पर्दैन त्यसैले यो वातावरणमैत्री पनि भयो । यसको प्रयोगले गन्ध आउँदैन, र्यास हुँदैन । साथै स्विमिङ, खेलकुद, यात्रा गर्दा पनि पूर्ण स्वतन्त्रता हुन्छ ।
भिडियो : शंकर गिरी
प्रतिक्रिया 4