+
+

१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १४:०२

११ पुस, काठमाडौं । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् ।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

पूर्व रजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । उनलाई कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए ।

‘जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी पठाएपछि कार्यकक्षबाटै पक्राउ गरि पोखरा पठाउँदै छौं,’ पौडेलले भने ।

गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।

स्याङ्जाको आँधिखोला गाउँपालिका नै घर रहेका अध्यक्ष पौडेलले आफ्नै पालिकामासमेत कार्यक्षेत्र विस्तार गरेर सहकारीमा रकम भित्र्याउन चाहेका थिए ।

तर, पराजुलीले फाइल अड्काइदिएपछि १ करोड २५ लाख रुपैयाँ घुस दिएर मिलाइएको बयान दिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

अब तत्कालीन रजिस्ट्रार पराजुली र राष्ट्रिय सहकारी बैंक लिमिटेडका घिमिरेसहित ३२ जना पुगेका छन् । त्यसमध्ये अध्यक्ष पौडेल र प्रबन्धक अधिकारी बैंकिङ कसुरमा प्रक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?