+
+

संसदीय समितिले माग्यो पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक नियुक्तिको कागजात

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १५:२०

१२ पुस, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु सरकारसँग मागेको छ ।

बिहीबार पशुपति क्षेत्र विकास कोषवाट सम्पादित कामकारबाहीहरु तथा समसामयिक विषयहरुका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव, पशुपति क्षेव बिकास कोषका सदस्य सचिव र कोषाध्यक्षसँग छलफल गरेको थियो ।

छलफलमा सांसदहरुले कार्यकारी निर्देशक पुनको नियुक्ति सम्बन्धमा प्रश्न उठाएका थिए ।

त्यस आधारमा समितिले नियुक्ति सम्बन्धी कागजात तीन दिन भित्र समितिलाई उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो ।

‘पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु (निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरण लगायत) ३ (तीन) दिन भित्र यस समितिमा उपलब्ध गर्न गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिने’ अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको निर्णय छ ।

यही पुस ४ गते पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त भएकी थिइन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा बसेको कोषको सञ्चालक परिषद्को बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

गुरुयोजना चाँडो कार्यान्वयनमा लैजाउ

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा लैजान नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देश गरेको छ ।

पशुपति क्षेत्र विकास कोषको नाममा रहेको सम्पूर्ण जग्गाको शीघ्र यकीन र हालसाविक गरी कोषको नाममा लालपूर्जा लिने व्यवस्था गर्न पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?