+
+

भारत भ्रमणबाट फर्कियो संसदीय समितिको टोली

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते २०:२१

२५ माघ, काठमाडौं। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोलीले भारतको एक साता लामो भ्रमण सम्पन्न गरेर नेपाल फर्किएको छ ।

भारतीय लोकसभाको ‘इन्टरनेसनल स्ट्यान्डिङ कमिटी’को निमन्त्रणमा गत १६ माघमा गएको समिति सभापति यादव नेतृत्वको टोली २४ माघमा नेपाल फर्किएको हो ।

यादव नेतृत्वको भ्रमण टोलीमा ८ जना सांसद र चारजना कर्मचारीको सहभागिता रहेको थियो । भ्रमणबाट फर्किएपछि समिति सभापति लगायत भ्रमणदलका सदस्यहरूले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतसँग विधायिका तहमा सम्बन्ध विकास भएको जानकारी दिएका छन् ।

‘दुई देशबीचको सम्बन्धलाई सरकारको तहबाट दुवै देशका संसदको तहमा पनि बढाउने उद्देश्यले समकक्षी समितिको निमन्त्रणमा हाम्रो भ्रमण भएको हो’, सभापति यादवले भने, ‘भ्रमणले संसदको तहमा सम्बन्ध विकसित हुने र आगामी दिनमा नेपालको सरोकारका विषयहरू भारतीय संसदमार्फत सरकारलाई दबाब पुर्‍याउन सहयोग पुग्नेछ । त्यसले नेपालको चासोका मुद्दामा भारत सरकारलाई पनि जिम्मेवार बनाउन सहयोग पुर्‍याउने हाम्रो विश्वास छ ।’

समितिको टोलीले दिल्लीसहित गोवा, महाराष्ट्र र उत्तरप्रदेश राज्यको पनि भ्रमण गरेका थिए । दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकर, लोकसभा सभामुख ओम बिरला, ‘इन्टरनेसनल स्ट्यान्डिङ कमिटी’ का सभापति पीआर चौधरी, राज्यमन्त्री, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँगसमेत समितिको टोलीले भेट गरेको थियो ।

समिति सभापति यादवले इन्टरेनसनल स्ट्यान्ङि कमिटीका अध्यक्ष पीआर चौधरी र अन्य सदस्यहरूसँग भएको लामो अन्तरक्रियाबाट भारतको संसदीय कार्यप्रणाली बुझ्ने र दुवै संसदका अभ्यास तथा अनुभव आदानप्रदान गर्ने अवसर मिलेको बताए ।

भेटका क्रममा भ्रमण टोलीका सदस्यले नेपाल र भारत दुवैले सहअस्तित्वलाई स्वीकार गर्नुपर्ने र नेपाल भारतको विकाससँगै अघि बढ्न चाहेको कुरा राखेको यादवले जानकारी दिए । ‘हामी छिमेकी मात्रै होइन, सार्वभौम, अधिकार सम्पन्न मुलुक हो । हामी तिमीहरूको विकाशसँगै हातेमालो गर्न चाहन्छौँ भनेर भन्यौँ’, यादवले भने ।

जवाफमा नेपालका निकायले पहल गरेको खण्डमा भारत सहयोग गर्न तयार रहेको पाएको उनको भनाइ छ ।

यादवले विदेशमन्त्री जयशंकरले भेटमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारले नेपाललाई उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिएको बताए । साथै, नेपालले भारतमा १० हजार मेगावाट विद्युत बेच्ने सहमतिलाई ‘गेम चेन्जर’ का रूपमा व्याख्या गर्दै त्यसले नेपालको विकासमा ठुलो टेवा पु¥याउने विश्वास समेत व्यक्त गरेको यादवको भनाइ थियो ।

अन्तर्राष्ट्रिय समितिले विदेश मन्त्रालयले मात्रै हेर्ने र कुनै पनि सन्धी सम्झौता समितिले पास गर्नैपर्ने व्यवस्था रहेको अनुभव नयाँ लागेको उनले बताए ।

‘हामीले नेपाली डायस्पोराका बारे संसदमा बोलिदिनु पर्यो भनेर भन्यौं’, यादवले भने, ‘नेपाल कमजोर हुँदा बाह्य चलखेल हुन्छ, खुला सीमाना छ । त्यसैले सँगै विकाशमा साथ दिन चाहन्छौँ भन्ने उनीहरूको कुरा थियो ।’

भ्रमणका क्रममा पर्यटन राज्यमन्त्रीसँग भएको भेटमा अयोद्या र जनकपुरलाई सँगै अगाडी बढाउन तथा कासी विश्वनाथालाई मुक्तिनाथ र पशुपतिनाथसँगै अगाडी बढाउन भारतीय पक्ष सकरात्मक रहेको यादवले बताए ।

भ्रमण टोलीले दिल्लीको हैदरावाद हाउसमा विदेश राज्यमन्त्री भी मुरलीधरनले दिएको रात्री भोजमा भेटघाट र कुराकानी भएको थियो । त्यसबाहेक पर्यटन राज्यमन्त्रीसँग पनि भेटघाट भएको थियो । सांसदको टोली उत्तर प्रदेशको विधानसभा बैठकमा सहभागी भएको थियो ।

गोवा भ्रमणमा गएको टोलीले त्यहाँका पर्यटनमन्त्री रोहन खाउन्टेसँग समेत भेट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?