+
+

कलेज प्रशासनमाथि प्रश्न उठाउँदा आवासीय चिकित्सकमाथि कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १५:०७

१३ पुस, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले स्वास्थ्य शिविरका नाममा अन्याय गरिएको भन्दै आवाज उठाइरहेका चिकित्सकमाथि कारबाही गरेको छ ।

पोष्ट ग्रेजुयट (स्नातकोत्तर) तह दोस्रो वर्षका विद्यार्थी डा. विशद दाहाललाई निलम्बन गरेको हो । कलेजका प्राचार्य प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले विज्ञप्ति जारी गर्दै १२ पुस देखि लागू हुने गरी पीजी कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी दाहाललाई एक महिना निलम्बन गरेको उल्लेख छ । उनले आवासीय डाक्टरले पालना गर्नुपर्ने कर्तव्य र अनुशासनको उल्लंघन गरेको कलेजको आरोप छ ।

डा. दाहाललाई काठमाडौंको गैह्रीगाउँस्थित सुकुम्बासी बस्तीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा खटाइएकोमा सहभागी नभएको र बुधबार विभागीय प्रमुखसँग बैठकले गरेको निर्णयलाई पनि उल्लंघन गरेको कलेज प्रशासनले बताएको छ ।

दाहाल भने कलेजले आवासीय चिकित्सकमाथि भइरहेको अमानवीय व्यवहारविरुद्ध बोल्दा कारबाही गरिएको बताउँछन् । डा. दाहालसहित आवासीय चिकित्सकले स्वास्थ्य शिविरका नाममा विद्यार्थीमाथि अमानवीय व्यवहार भइरहेको भन्दै त्यसको विरोध गर्दै आएका थिए ।

पाठ्यक्रममा समावेश नभएका क्रियाकलापमा पनि पटक पटक क्याम्प र पोस्टिङमा खटाएको र त्यसक्रममा अमानवीय व्यवहार भएको उनीहरुको गुनासो छ । शिविरका क्रममा कलेज प्रशासनले एक छाक मात्र खान दिने, रातभर यात्रा गराएर बिहान बिरामी जाँच गर्न लगाएको उनीहरु बताउँछन् । शिविरकै क्रममा आवासीय चिकित्सकलाई गम्भीर रक्तश्राव तथा छारे आउँदा समेत शिविर नरोकिएको डा. दाहालले बताए ।

आवासीय चिकित्सकहरुले कलेज प्रशासनसहित चिकित्सा शिक्षा आयोगमा समेत उजुरी दिएका थिए ।

कलेज प्रशासनलाई बुझाएको सामुहिक पत्रमा पाठ्यक्रम भन्दा बाहिरका यस्ता शिविरमा संलग्न नहुने उल्लेख गरेका थिए । रेजिडेन्टको आधा समयमा अस्पताल बाहिर खटाउन थालेको र त्यसले आफ्नो सिकाइ तथा अध्ययनमा गम्भीर असर पर्न थालेको उनीहरुको गुनासो छ ।

तर कलेज प्रशासनले आवासीय चिकित्सक दाहाललाई एक महिना निलम्बन गर्ने निर्णय गरेको छ । केएमसीका आवासीय चिकित्सकले भने अन्याय विरुद्ध आवाज उठाउँदा कारबाही गरिएको भन्दै उक्त निर्णय तत्कालै फिर्ता लिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?