+
+
अग्रपथ :

‘हम जाएगा’ र ‘नटवरलाल’ हरूको हिरोपन्थी

‘हम जाएगा’ र ‘नटवरलाल’ हरूले नै राष्ट्र निर्माण गर्ने भए इतिहासमा महात्मा गान्धी, नेल्सन मण्डेला, जर्ज वासिङ्गटन, अब्राहम लिंकन, फ्राङ्कलिन डि.रुजबेल्ट, जवाहरलाल नेहरू, डा. राजेन्द्रप्रसाद, डा. भीमराव अम्बेडकर, बीपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीहरू किन जन्मिन्थे ?

डम्बर खतिवडा डम्बर खतिवडा
२०८० पुष १५ गते १०:४४

सन् १९७० को दशकमा भारतबाट दुई बडो गज्जबका पात्रहरूको चर्चा गफैगफमा सर्दै आएको थियो, पूर्वी नेपालतिर- हम जाएगा र नटवरलाल । त्यो बेला हामी बाल्यकाल र नवकिशोर वय भोग्दैथियौं । आज जस्तो मनोरञ्जनका साधन छ्यापछ्याप्ती थिएनन् ।

स्मार्ट फोन र इन्टरनेटको त कुरै नगरौं- टेलिभिजन समेत आइसकेको थिएन । रेडियो थियो तर घरैपिच्छे हैन, सीमित मान्छेका घरमा । एफएमको प्रचलन थिएन । सर्टवेभ र मेडियम वेभमा तिनले पक्रिने र आफूले बुझ्न सकिने स्टेशन थोरै हुन्थे । रेडियो नेपाल, आकाणवाणी र बीबीसी, नेपाली तथा हिन्दी सेवा आदि ।

सिनेमा घर शहरमा ठूला मात्र हुन्थे । कोशी पूर्वमा धरान, इटहरी र इनरुवामा मात्र थिए । इटहरी जत्तिको शहरमा पनि थिएन सिनेमा हल । बरु यदाकदा ‘टुरिङ टाँकिज’ नामका घुमन्ते सिनेमा घर आउँथे मौसमी रमाइलो मेलामा । गाउँबाट शहरका सिनेमा हल जान महिनौं कल्पेर पैसा जुटाउनुपर्थ्यो । २-३ महिनामा एकपटक मात्र जान सकिन्थ्यो । घुमन्ते सिनेमा घरहरूको कुनै भर हुँदैनथ्यो ।

नेपाली साहित्यको एक त पर्याप्त विकास नै भएको थिएन । मुश्किलले ५०-१०० किताब नाम चलेका हुँदा हुन् । ती पनि आफैं किनेर पढ्न सकिंदैनथ्यो । स्कुल, कलेजमा गतिला पुस्तकालय थिएनन् । गाउँघरमा त्यस्ता किताब पुग्न अनेक संयोग पर्नुपथ्र्यो, शहरमा बस्ने कसैबाट ।

त्यो बेलाको पूर्वी नेपालको अनौपचारिक सम्बन्ध काठमाडौंतिर भर्खरै सुरु भएको थियो, पूर्वोत्तर भारततिर बलियो थियो । काठमाडौं देखेका मान्छे विरलै हुन्थे गाउँमा । ‘कलकत्ते’ का घर गाउँ नै पिच्छे हुन्थे । असम, मणिपुर, मेघालय, पश्चिम बंगालतिर रोजगारको खोजीमा खुबै जान्थे मान्छे । असमका जंगलमा आरा चिरेका, कोइलाखतको पहाडमा सपना बेचेर बाण खेलेका, निकाबोर र अन्दमन द्वीपका आदिवासी महिला रूखका बोक्रा लगाएर हिंडेका कथा सुनाउने थुप्रै भेटिन्थे । दार्जीलिङको चर्चा त यसरी हुन्थ्यो मानौं त्यो अर्को धरान हो । त्यसलाई ‘नेपालको ७६औं जिल्ला’ भनिन्थ्यो ।

स्कुल, कलेजको औपचारिक पढाइलाई छोड्ने हो भने अक्सर चर्चा भारतीय सिनेमा, साहित्य, कथा र मिथमै केन्द्रित हुन्थ्यो । साथीभाइ सर्कलमा गफका विषय नै तिनै हुन्थे ।

त्यो बेलाको त्यस्तो पूर्वी नेपालमा ‘हम जाएगा’ र ‘नटवरलाल’ का जोक र किस्सा नसुनेका विरलै युवायुवती थिए होलान् ।

हम जाएगा जोकका पात्र थिए । हँसिमजाक र रमाइलोका लागि प्रयोग हुन्थे । धेरै पछि सुनियो- हम जाएगाको मिथ दार्जीलिङतिरका एक ट्याक्सी ड्राइभर दलबहादुर गुरुङबाट सुरु भएको थियो ।

नटवरलाल भने चलाखीपूर्ण ठगीका लागि नामूद थियो । ऊ सबैको आँखा छल्न सक्थ्यो । साथी, प्रहरी, कर्मचारी, नेता, व्यापारी सबैलाई झुक्याएर ठग्न माहिर थियो । तर, कानुनको आँखाबाट भने बच्थ्यो । सबैलाई थाहा थियो- नटवरलाल ठग हो- तर यस्तो धूर्त ठग जसलाई कसैले केही गर्न सक्दैनथे । प्रहरीले पक्रिहाल्यो भने कि त कस्टडी र जेलबाटै भाग्छ कि त अदालतले बाध्य भएर छोडिदिन्छ किनकि उसले ठगी र अपराधको कुनै प्रमाण नै छोड्दैनथ्यो ।

नटवरलालको ठगी कथा यति बलियो थियो कि उसले ताजमहल, लालकिल्ला, भारतको संसद् भवन र राष्ट्रपति भवन नै बेचेको थियो, त्यो पनि बारम्बार । ऊ हजारौं मान्छेको नक्कली सही वैज्ञानिक परीक्षणबाट पनि छुट्टनि नसक्ने गरी जस्ताको तस्तै गर्न सक्थ्यो । सन् १९७९ तिर एक हिन्दी सिनेमा नै बनेको थियो- मिस्टर नटवरलाल । यसमा नटवरलालको भूमिका अमिताभ बच्चनले गरेका थिए ।

धेरैपछि थाहा भयो, यो मिथलेशकुमार श्रीवास्तव नामका एक बिहारीबाट सुरु भएको किस्सा थियो । दलबहादुर गुरुङ जस्तै मिथलेशकुमार श्रीवास्तव पनि वास्तविक व्यक्ति थिए ।

हर्क-बालेनको अराजकता र बचकनापन, रवि लामिछानेका एकपछि अर्का धारावाहिक स्क्यान्डलहरू हेर्दा लाग्छ- ‘हम जाएगा’ को जस्तै ‘नटवरलाल’ को सबैले बिर्सिसकेको किस्सा फेरि फर्केर आएको त हैन ? ‘हम जाएगाको परिहास’ अन्त्य हुन लागेर सिनेमा अब ‘धूर्तहरूको हिरोपन्थी’ तिर त गइरहेको छैन ?

कथा, परिकथा, हास्य र श्रुतिहरूको प्रभाव मान्छेमा यति बलियो हुन्छ कि खास विन्दुका पुगेर ती ‘हिरो’ जस्तो लाग्न थाल्दछन् । कथा सुन्दासुन्दै श्रोताको मस्तिष्कमा तिनको हिरोपन्थीले घर गर्न थाल्दछ । जसरी कि हाम्रो समयलाई हम जाएगा र नटवरलालहरूको हिरोपन्थीले गाँजेको थियो । विरलै त्यस्ता युवा हुन्थे- जो हम जाएगा र नटवरलालको जस्तो हिरोपन्थी गर्ने सपना देख्दैनथे । मनमनै वा सपनामा बारम्बार आफैं हम जाएगा र नटवरलाल बन्दैनथे ।

यी किस्सा स्मरण गर्नुको अर्थ- कताकति लाग्छ कि आज हाम्रो राजनीति, समाज, राष्ट्र र अर्थतन्त्र नयाँ-नयाँ हम जाएगा र नटवरलालहरूको मिथ र हिरोपन्थीले खाइरहेको त छैन ? कतै हम जाएगा र नटवरलालहरूलाई आदर्श मान्ने सोच र सपना हाम्रो ‘मास हिस्टेरिया’ को मुहान त हैन ? हाम्रो दुर्भाग्यको दुश्चक्र त हैन ?

‘पपुलिज्म’ को विश्व प्रवृत्ति यति छिट्टै र यति दर्दनाक ढंगले नेपाल पस्ला भनेर एकदशक अघिसम्म कसले कल्पना गरेको थियो ? ‘डेमागग्’ शब्द शब्दकोशमा शताब्दीऔंदेखि थियो तर, त्यो त्यतिखेर मात्र विश्व राजनीतिमा चर्चित भयो जब अमेरिकामा ट्रम्पको उदय भयो ।

ट्रम्प चौतर्फी नैतिक तथा कानुनी संकटको घेरामा छन् अहिले । तर, आगामी राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन पार्टीका तर्फबाट सम्भावित उम्मेदवार अहिलेसम्म उनी नै मानिन्छन् । गत राष्ट्रपति चुनावको हारपछि उनले आफ्ना समर्थकलाई संसद् भवन क्यापिटोल हिलमा आक्रमण गर्न सार्वजनिक आहृवान गरे, विना लज्जा र भय । त्यो दंगा र तोडफोडमा संलग्न भएबापत अहिले पनि एक हजार बढी अमेरिकी जेलमा छन् । उनी भने अझै दक्षिणपन्थी स्वच्छन्दतावादका हिरो छन् ।

राजनीतिमा उदित पात्रहरूको चरित्र हेर्दा एक ठूलो विरोधाभास देखिन्छ । अमेरिका त्यही देश हो- जहाँ विश्व राजनीतिमै अब्बल र आदर्श मानिएका जर्ज वासिङ्गटन, थोमस जेफरसन, अलेक्जेन्डर हेमिल्टन, अब्राहम लिंकन, फ्रांकलिन डिलानो रुजबेल्ट, जोन एफ. केनेडी जस्ता राष्ट्रपति कुनै बेला उदाएका थिए ।

निक्सन, आइजेनहावर, कार्टर, रेगन, क्लिन्टन, ओबामा जत्तिका मध्यम लोकप्रियता र क्षमतास्तरका राष्ट्रपति त कति हो कति ? फेरि त्यही देशमा ट्रम्पजस्तो मान्छे किन राष्ट्रपति बन्न सक्दछ ? किन मन पराउँछन् जनता र मतदाताले उसलाई ? यो यति धेरै अप्ठ्यारो प्रश्न हो, जसको उत्तर दिन कसैलाई सजिलो हुँदैन ।

अक्सर मनोविश्लेषक भन्छन् कि सत्यनिष्ठा र विवेकसम्मत सोच मान्छेका आदर्श हुन्, यथार्थ हैनन् । मान्छे यथार्थमा एक कथा नै हो । एक स्टोरी, एक मिथ, एक परिहास र एक कमेडी नै हो, चाहे त्यसले ल्याउने परिणाम जस्तोसुकै गुणस्तरहीन र त्रासदीपूर्ण किन नहोस् ! मानव मस्तिष्कमा खेल्ने तरंगबीच सोचको वैज्ञानिकता र विवेक उसका पूर्वाग्रह, अहं र स्वार्थबाट मुक्त छैन ।

मान्छे ती चिज चाहन्छ जसले उसलाई स्वाद, मज्जा र आनन्द दिन्छ । बदला र प्रतिशोधको चाह पूरा हुन्छ । ग्यालिलियो, न्यूटन, आइन्स्टाइन र हकिन्स त कति जन्मिन्छन् र संसारमा ? जरूरी छैन कि मान्छेले तिनै चिज चाहन्छ जो विज्ञानसम्मत, विवेकसम्मत र सत्यनिष्ठायुक्त छ ।

राजनीति खासमा के हो ? जसरी हुन्छ सत्ता कब्जा गर्नु, चुनाव जित्नु, पदमा पुग्नु, सरकारी गाडी चढ्नु, सलोट खानु र शान झार्नु ? कि राष्ट्र निर्माण गर्नु ? ‘सत्ता कब्जा’ र ‘राष्ट्रनिर्माण’ को ‘डाइकोटमी’ मा हाम्रा ‘हम जाएगा’ र ‘नटवरलाल’ हरू कहाँ छन् ?

तर, मलाई लाग्छ कि यो मानव मनोविज्ञानको एउटा पाटो अवश्य हो, समग्र सत्य हैन । अहं र आत्ममोहभन्दा बाहिर पनि मान्छेको संसार छ । रुढी, अन्धता, जडता र पूर्वाग्रहभन्दा बाहिर पनि मान्छेको औचित्य छ । इन्दि्रयजन्य स्वार्थ, भोग र कामनाभन्दा बाहिर पनि मान्छेको अस्तित्व हुन्छ ।

कुरा कति मात्र हो भने- राग, वैराग र वितरागको चक्र अनन्त छ । यो अनन्त र अनित्य संसारमा कतिखेर कुन प्रवृत्ति हावी हुन्छ, कतिखेर कुन प्रवृत्तिले अर्को प्रवृत्तिमाथि विजय हासिल गर्दछ कसैले ग्यारेन्टी गर्न नसक्ने रहेछ ।

त्यसैले भनिएको होला मानव चोला सोचे जस्तो सुन्दर संसार बनाउनका लागि हैन, भोगे जस्तो जीवनको कथा लेख्नका लागि मात्र हो ।

तथापि, २०६० को दशकसम्म हाम्रो राजनीति सत्यनिष्ठायुक्त र विवेकसम्मत थियो-थिएन त्यो भन्ने कुरा त वैचारिक नै थियो । निश्चित बाटो र कार्यभारमै हिंडेको थियो । जनआन्दोलन २०६२/६३ कुनै खेलाँची थिएन । बृहत् शान्ति सम्झौता, सेना समायोजन र दशक लामो सशस्त्र द्वन्द्वको अन्त्य कुनै खेलाँची थिएन । मधेश विद्रोह कुनै खेलाँची थिएन ।

२००७ सालको लोकतान्त्रिक बिहानीसँगै साँचिएको संविधानसभाको चुनावको सपना करिब ६ दशकपछि पूरा हुनु कुनै खेलाँची थिएन । ‘हामी सार्वभौम जनता’ बाट पहिलो पटक संविधानको प्रस्तावना लेखिनु कुनै खेलाँची थिएन ।

हजारौं वर्षदेखि राजतन्त्रात्मक, वंशवादी, पारिवारिक शासनअन्तर्गत रहेको दैवीशक्तिको सिद्धान्तमा विश्वास गर्ने सामन्ती राज्य संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भई सामाजिक सम्झौताको सिद्धान्तमा विश्वास गर्ने बन्न पुग्नु कुनै खेलाँची थिएन ।

हाम्रो दुर्भाग्यको सुरुवात भएको हो- पहिलो संविधानसभाको विघटनबाट । र, त्यो ओरालो यात्रा अद्यापि जारी छ । दोस्रो संविधानसभाको पृष्ठभूमि र निर्वाचन नै बडो संदिग्ध थियो । खिलराज रेग्मी नामका एक अनपेक्षित पात्र प्रचण्ड नामका अर्का तत्कालीन विद्रोहको मुखारविन्दबाट फुत्त निस्केर सिंहासनमा टुप्लुक्क बस्न आइपुगे, जुन दृश्य हाम्रो विवेक, वैज्ञानिकता र सत्यनिष्ठाभित्र कतै थिएन । पहिलोभन्दा दोस्रो संविधानसभा धेरै पश्चगामी र यथास्थितिवादी बनेर आयो ।

र २०७० को दशकबाट सुरु भयो ‘हम जाएगा राजनीति’ । त्यतिन्जेलसम्म गिरिजाप्रसाद-सुशील कोइरालाको ठाउँ शेरबहादुर देउवाले र माधव नेपाल-झलनाथ खनालको ठाउँ केपी शर्मा ओलीले लिइसकेका थिए । देउवा र ओली दुवै २०६० को दशकको घटनाक्रमका मूल पात्र थिएनन्, किनाराका साक्षी मात्रै थिए ।

तर, प्रचण्डको ठाउँ भने कसैले लिन परेन, न बाबुरामले न मोहन वैद्यले । २०६० को दशकका प्रचण्ड २०७० को दशकमा आफैं विघटित भएर ‘पुष्पकमल’ भइसकेका थिए । र यो नयाँ अवतार उनले आफैं सहर्ष स्वीकार गरे । जनयुद्धमा पोखिएको रगतको रातो रंगमा चोपिएको बाघ ‘संसदीय विकृति र अवसरवादको राजनीति’ मा चोबलिएर आफैंले ‘स्याल चोला’ स्वीकार गर्ने भइसकेका थिए त अरू कसको के लाग्थ्यो ?

र, २०७० को दशकमा ‘हम जाएगा राजनीति’ को टिम बन्यो- ओली, देउवा र दाहालको । शब्दकोशमा थन्किएको ‘पपुलिज्म’ र ‘डेमागग्’ ट्रम्प युगको अमेरिकामा फर्किए जस्तो हाम्रो पुस्ताले बिर्सिसकेको ‘हम जाएगा’ को मिथ फेरि फर्केर आयो । ओली युगको परिहास यति बलियो थियो कि कमेडियन आफ्नो पेशा संकटमा पर्न थालेको अनुभूतिले चिन्तित थिए ।

वाम गठबन्धन र नेकपा (नेकपा) नामको कमेडी क्लबमा करिब ४ वर्ष ओली-दाहाल नाटक र नौटंकी खुबै जम्यो, खुबै चल्यो- एकपछि अर्को हाउसफूल शो, त्यो बेलाका टुरिङ टाँकिजमा हुने मध्यरातको ‘एक्स्ट्रा शो’ जस्तो । भनिरहनु परेन कि त्यो बेला मध्यरातको शोमा कस्ता सिनेमा देखाइन्थे र किन हाउसफुल हुन्थे ।

‘हम जाएगा राजनीति’ को युगमा सबै थोक भयो । घरघरमा ग्याँस पाइप पुग्यो । हिन्द महासागरमा पानीजहाज चल्यो । केरुङ-काठमाडौं-पोखराको रेल बेनी पुग्यो र कुश्मामा स्टेशन बन्यो । काठमाडौंमा ५ वर्षभित्र मोनो र मेट्रो दुवै रेल चले । चीनको समुद्र हुँदै नेपालले कुस्त अन्तर्राष्ट्रिय व्यापार गर्‍यो । बाहुनडाँगी र दुल्लुमा तेलका कुवा बने । नेपाली नागरिकको प्रतिव्यक्ति आय ५ हजार डलर पुग्यो ।

हम जाएगा राजनीति राम्ररी नतुरिंदै आज अर्को जोखिम बढेको छ- नटवरलाल राजनीतिको । हर्क-बालेनको अराजकता र बचकनापन, रवि लामिछानेका एकपछि अर्का धारावाहिक स्क्यान्डलहरू हेर्दा लाग्छ- ‘हम जाएगा’ को जस्तै ‘नटवरलाल’ को सबैले बिर्सिसकेको किस्सा फेरि फर्केर आएको त हैन ? ‘हम जाएगाको परिहास’ अन्त्य हुन लागेर सिनेमा अब ‘धूर्तहरूको हिरोपन्थी’ तिर त गइरहेको छैन ?

राजनीति खासमा के हो ? जसरी हुन्छ सत्ता कब्जा गर्नु, चुनाव जित्नु, पदमा पुग्नु, सरकारी गाडी चढ्नु, सलोट खानु र शान झार्नु ? कि राष्ट्र निर्माण गर्नु ? ‘सत्ता कब्जा’ र ‘राष्ट्रनिर्माण’ को ‘डाइकोटमी’ मा हाम्रा ‘हम जाएगा’ र ‘नटवरलाल’ हरू कहाँ छन् ?

म र सायद म जस्ता धेरै मान्छे अझै यो बुझ्दैनौं कि ‘हम जाएगा’ र ‘नटवरलाल’ हरूले नै राष्ट्र निर्माण गर्ने भए इतिहासमा महात्मा गान्धी, नेल्सन मण्डेला, जर्ज वासिङ्गटन, अब्राहम लिंकन, फ्राङ्कलिन डि.रुजबेल्ट, जवाहरलाल नेहरू, डा. राजेन्द्रप्रसाद, डा. भीमराव अम्बेडकर, बीपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीहरू किन जन्मिन्थे ?

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?