+

‘बेहोस नबनाई ब्रेन ट्युमरको शल्यक्रिया गर्दा पक्षघातको जोखिम कम’ (भिडियो)

२०८० पुष  १६ गते १३:२९ २०८० पुष १६ गते १३:२९
‘बेहोस नबनाई ब्रेन ट्युमरको शल्यक्रिया गर्दा पक्षघातको जोखिम कम’ (भिडियो)

काठमाडौं । सामान्यतयाः कुनै पनि शल्यक्रिया अघि बिरामीलाई एनेस्थेसियामार्फत बेहोस बनाइन्छ । जसकारण बिरामीलाई होसमा आएपछि शल्यक्रियाको दौरान के-कस्ता गतिविधि भए ? थाहा हुँदैन ।

तर वीर अस्पतालमा ब्रेन टयुमरका उपचार गर्न गएकी धादिङकी ३० वर्षीया कमला राईलाई भने अस्पतालले बेहोस नबनाइकनै सफल शल्यक्रिया गर्‍यो । अहिले उनी स्वस्थ छिन् ।

विगत १० महिनादेखि ब्रेन टयुमरको समस्याले सताइएकी राई गत फागुनमा होलीको दिन एक्कासि चक्कर आउने, शरीर झमझमाउने र हातको मुठ्ठी खोल्न नहुने गरी कक्रक्क बनेर ढलिन् । त्यसपछि दैनिकजसो नै उनी मुर्छा पर्नेगरी काम्दै लड्थिन् ।

बारम्बार यस्तो समस्या देखिएपछि उनका आफन्तले मनोरोगको आशंकामा राईलाई ललितपुरस्थित पाटन मानसिक अस्पताल लगे । लक्षण बताएसँगै त्यहाँका मनोचिकित्सकले एमआरआई गरेपछि ट्युमरको आंशका गरे र उनलाई वीर अस्पताल रिफर गरे । वीर अस्पतालमा उनले वरिष्ठ न्युरोसर्जन प्रा. डा. राजीव झालाई देखाइन् । नभन्दै उनमा ब्रेन ट्युमर भएको पत्ता लाग्यो ।

डा. झाका अनुसार उनको ६ सेन्टिमिटरको ब्रेन टयुमर थियो । जुन धेरै फैलिएकाले छिटोभन्दा छिटो शल्यक्रिया गर्नुपर्ने अवस्था थियो । त्यो पनि अवेक ब्रेन सर्जरी (अर्थात् बिरामीलाई बेहोस नबनाई गरिने शल्यक्रिया) । यसकारण पनि राईलाई बेहोसबिनै शल्यक्रिया गरिएको उनी बताउँछन् ।

अवेक ब्रेन क्रेनियोटोमी सर्जरी के हो ?

बिरामीलाई होसमा राखेर गरिने शल्यक्रियालाई ‘अवेक ब्रेन सर्जरी’ भनिन्छ । डा. झाका अनुसार ‘जुन भागमा शल्यक्रिया गरिन्छ, त्यस भागले नियन्त्रण गर्ने कार्य क्षमतामा ह्रास आउन नदिनु अवेक सर्जरी गर्नाको मुख्य उद्देश्य हो ।

‘दिमागको प्रत्येक भाग अति संवेदनशील हुन्छ । त्यस्ता संवेदनशील अंगमा बेहोस पारेर प्रभावित भागमा रहेको ट्युमरको शल्यक्रि पछि त्यसले नियन्त्रण गर्ने शारीरिक अंगले आशातीत काम नगर्न सक्छ । तर होसमै राखेर शल्यक्रिया गर्दा त्यहाँको भाग सक्रिय भइरहेका हुन्छन् भने त्यसले नियन्त्रण गर्ने अंगमा कुनै समस्या देखापर्‍यो, परेन तत्कनल थाहा हुन्छ । त्यसो भएर शल्यक्रियापछि पनि ती शारीरिक अंगले साबिक तवरमै काम गर्न सक्छ,’ डा. झा भन्छन् ।

यसकारण राईको अवेक ब्रेन सर्जरी रोजियो

डा. झाका अनुसार राईको मस्तिष्कको दायाँ भागमा ट्युमर भएको, रोगको स्थान र शल्यक्रियाका जटिलताका कारण बिरामीको बायाँ हात र खुट्टाको क्षमता गुम्न सक्ने अवस्था थियो । ‘बिरामीको मस्तिष्कको एउटा नसा (स्नायु)मा चोट पुगे पनि प्रभावित अंग प्यारालाइसिस (पक्षघात) हुन सक्थ्यो । उनलाई बेहोस पारेर शल्यक्रिया गरेको भए यस्तो थप जोखिम हुन्थ्यो । त्यसैले अवेक ब्रेन सर्जरी रोज्नुपर्‍यो,’ उनी भन्छन् ।

जब राईले बेहोस नबनाई गरिने शल्यक्रियाबारे सुनिन् । सुरुमा उनी डराइन् । ‘बेहोस नबनाई टाउकोको शल्यक्रिया भनेको सुन्दै आत्तिएको थिएँ । तर चिकित्सकहरुले भने झैं दुखाइको अनुभव भएन । टाउकोमा औजार चलाइरहँदा पनि डा. झाको टोलीले सोधेको प्रश्नको जवाफ दिइरहेकी थिएँ ।’

कमला राई

हाल राईको अवस्था ठीक छ । उनमा शल्यक्रियापछि हुने सामान्य कमजोरी बाहेक कुनै जटिलता देखिएको छैन । गत मंसिर २८ गते शल्यक्रिया गरेको चार दिनपछि उनी डिस्चार्ज भइन् ।

राईलाई जस्तै होसमै राखेर ब्रेन टयुमरको सर्जरी गरिएको वीर अस्पतालमा यो पहिलोपटक भने होइन । बर्सेनि २ देखि ३ वटा यस्तो खालका शल्यक्रिया वीर अस्पतालमा हुने गरेको डा. झा बताउँछन् ।

सबै ब्रेन टयुमरमा यो शल्यक्रिया आवश्यक हुँदैन’

नौलो खालको यो शल्यक्रिया विधि सबै ट्युमरमा आवश्यक नहुने प्रा. डा. झा बताउँछन् । उनका अनुसार मस्तिष्कको समस्यालाई विश्लेषण गरी कसरी उपचार प्रक्रिया अगाडि बढाउन सकिन्छ भनेर पहिचान गर्न एमआरआई, सिटिस्क्यान जस्ता प्रविधि भित्रिएसँगै धेरैजसो ब्रेन ट्युमरको शल्यक्रियाको क्रममा मस्तिष्कको भागलाई क्षति नपुर्‍याइ गर्न सम्भव भएको छ । उदाहरणका लागि यस्ता प्रविधिबाट कुन नसा कता गएको छ ? वा सो नसा चलाउँदा हुनसक्ने जोखिमलाई ध्यानमा राखेर उपचार गरिन्छ ।

सबै जाँचका बावजुद पनि कतिपय ट्युमर यस्ता हुन्छन् जसको शल्यक्रियापछि बिरामीलाई प्यारालाइसिस हुनै सक्दैन भनेर शतप्रतिशत भन्न सकिंदैन । त्यस्तो जटिल अवस्थाको विकल्पमा अवेक ब्रेन सर्जरी गरिने डा. झा बताउँछन् ।

‘एमआरआईबाट नै मस्तिष्कको कुन भागमा शल्यक्रिया गर्दा कुन भाग चल्न सक्दैन भन्ने निर्क्योल गर्न सकिन्छ । त्यही अनुसार उपचार प्रक्रिया तय हुन्छन्,’ उनी भन्छन्, ‘यस्ता जटिल खालको केस अन्य शल्यक्रियाको तुलनामा कम हुन्छन् । वीर अस्पतालमा बर्सेनि ५०० देखि ६०० वटा ट्युमरका शल्यक्रिया हुन्छन् । जसमध्ये होसमै राखेर गरिने ‘अवेक ब्रेन टयुमर सर्जरी’ दुईदेखि तीनवटासम्म गर्ने गरेका छौं ।’

प्रा. डा. राजीव झा

एनेस्थेसियोलोजिस्टको दोहोरो भूमिका

अवेक ब्रेन सर्जरी गर्न जति भूमिका न्युरो सर्जनको हुन्छ । त्यति नै महत्वपूर्ण भूमिका एनेस्थेसियोलोजिस्टको पनि रहन्छ । एनेस्थेसियोलोजिस्टले शल्यक्रिया गर्नुपर्ने भागलाई लठ्याउने मात्र होइन । बिरामीलाई शल्यक्रियाका दौरान मस्तिष्कको शल्यक्रिया गर्दै गरेको भागको क्रियाकलापलाई जारी नै राख्नुपर्ने हुन्छ ।

जस्तै, बिरामीको हातको कार्यलाई नियन्त्रण गर्ने स्थानमा शल्यक्रिया गर्नुपरेमा त्यस समय हातखुट्टा चलाउन लगाएर तथा आवाजमा समस्या देखिन सक्ने अवस्था छन् भने मुख चलाउन लगाउँदै शल्यक्रिया गरिन्छ । यसरी मस्तिष्कले गर्ने कार्य गर्न सकिरहेको छ छैन सबै गतिविधि जाँच गर्दै गरिन्छ ।

कसरी गरिन्छ ?

शल्यक्रिया सुरु गर्दा सबैभन्दा पहिला एनेस्थेसियोलोजिस्टले काट्नुपर्ने भागमा मात्र नदुख्ने औषधि तौल अनुसारको दिइन्छ । सोही मुताबिक नसालाई लठ्याउने सुई दिइन्छ । जसलाई ‘स्काल्प ब्लक’ भनिन्छ । साथै, शल्यक्रिया गर्ने छालाको भागमा पनि लोकल एनेस्थेसिया दिएर लाटो पारिन्छ । त्यसपछि सर्जनहरु टयुमर निकाल्न व्यस्त हुनछन् भने सोही समय एनेस्थेसियोलोजिस्टले बिरामीको हरेक क्रियाकलाप हेर्नेदेखि अंगहरु चलेको छ कि छैन परीक्षण गर्दै रहन्छ । शल्यक्रियाको अवधिको कुरा गर्नुपर्दा एउटा ट्युमर निकाल्न लगभग दुई घण्टा जति लाग्न सक्छ ।

चुनौती र डर चिकित्सक र बिरामी दुवैमा

शल्यक्रियाको अवधिभर नै पूरै टिममा उत्साह र डर उत्तिकै हुने एनेस्थेसियोलोजिस्ट डा. गौरवरत्न बज्राचार्य बताउँछन् । ‘शल्यक्रिया गराइरहँदा बिरामीलाई होसमा राखी राख्ने र न्युरोसर्जनले बताए अनुसार क्रियाकलाप गराउनुपर्छ । जुन हाम्रो लागि जटिल समय र हल्का डर हुन्छ,’ उनी भन्छन् ।

‘शल्यक्रिया सुरुवात भएदेखि सम्पन्न नभएसम्म हाम्रो लागि प्रत्येक सेकेन्डको चुनौती हुन्छ । एकातर्फ बिरामीले के अनुभव गर्ला वा दिएको निर्देशनको प्रतिक्रिया गर्छ कि गर्दैन डर हुन्छ । सोही समयमा मुटुको चाल, रक्तचाप र श्वासप्रश्वासको अवस्था पनि कुन लयमा छ हेरिरहनुपर्छ । अर्कोतर्फ टोलीबीचमा  अलिकति तालमेल भएन भने गम्भीर अवस्था सिर्जना हुनसक्छ,’ डा. बज्राचार्य भन्छन्, ‘तर होसमा राख्दाराख्दै बिरामीले भनेको क्रियाकलाप गर्दा र शल्यक्रिया सफल हुँदा उत्साह पनि उत्तिकै हुन्छ ।’

यता डा. झा पनि शल्यक्रियाको अवधिलाई चुनौतीपूर्ण मान्छन् । ‘दिमागमा शल्यक्रिया गर्दा हड्डीहरु खोलिसकेको हुन्छ । दिमागका  तन्तु यति नरम हुन्छन् कि हड्डी खोलिराखेको अवस्थामा बिरामीले खोक्यो मात्र भने पनि मस्तिष्क बाहिरिन सक्छ । बाहिरियो भने दिमाग सुक्ने डर हुन्छ । यस्तोमा नचाँहदा पनि तत्काल पूर्ण बेहोस गर्नुपर्ने अवस्था सिर्जना हुन्छ,’ उनी भन्छन् ।

राईको प्यारालाइसिस हुने जोखिम टर्‍यो

शल्यक्रिया गरेपछि राईको हातखुट्टा प्यारालाइसिस हुने जोखिम टरेको डा. बज्राचार्य बताउँछन् । ‘बिरामीको दायाँपट्टिको ट्युमरका कारण देब्रेपट्टिको हातखुट्टाको कार्यमा बाधा पुग्न सक्ने अवस्था थियो । शल्यक्रियाको क्रममा उनलाई हात खुट्टा चलाउन लगायौं । सोही अनुसार उनले चलाउन सकिन् । प्रतिक्रिया राम्रो आएपछि बोल्न पनि सक्नुभयो । अहिले उनमा सामान्य कमजोरी बाहेक अन्य समस्या छैन,’ उनी सुनाउँछन् ।

शल्यक्रियालगत्तैको प्रतिक्रिया राम्रो र नतिजा पनि राम्रो हुनु भनेको पूरा टिमको लागि ठूलो उपलब्धि हुने डा. बज्राचार्य बताउँछन् ।

डा. गौरवरत्न बज्राचार्य

शल्यक्रिया गर्नुपूर्व यथेष्ट परामर्श आवश्यक

धेरैजसो बिरामी बेहोस नपारी शल्यक्रिया गर्ने सुनेरै चकित पर्ने गरेको डा. झा सुनाउँछन् । ‘होसमा राखेर टाउको खोलेर शल्यक्रिया गर्नेभन्दा बिरामी चकित पर्ने गर्छन् । पहिलो प्रश्न नै दुखाइ हुँदैन भन्ने हुन्छ । तर शल्यक्रिया गर्दा के कस्ता कुरामा ध्यान दिने भन्ने सम्झाएर मानसिक रुपमा तयार पारेर मात्र यो प्रक्रिया अगाडि बढ्छ,’ उनी भन्छन्, ‘दुखाइ वा केही समस्या देखिए तत्काल भन्न पहिला नै बिरामीलाई सचेत गराइएको हुन्छ ।’

दुखाबिना कसरी सम्भव छ ?

डा. बज्राचार्यका अनुसार बिरामीलाई लठ्याउने सुई दिइसकेपछि मस्तिष्कको तन्तुमा दुखेको अनुभव हुँदैन । काटिएको छाला र हड्डी लठ्ठिएको हुन्छ । तर शल्यक्रिया गर्दा हल्का छोएको अनुभव भने हुन सक्छ । अहिलेसम्म होसमा राखेर गरेको ३२ वटा शल्यक्रियामा बिरामी कसैले पनि दुख्यो वा कठिन भयो भनेको नसुनेको र नतिजा राम्रो पाएको डा. झा दाबी गर्छन् ।

जटिलता

शल्यक्रिया जुनसुकै किसिमको भए पनि पूर्णतयाः सुरक्षित हुँदैन । जुनसुकै औषधि होस वा शल्यक्रियाले कुनैपनि बेला दुर्घटना निम्त्याउन सक्छ । यस्तो  खालको शल्यक्रियामा पनि केही जटिलता देखिन सक्ने डा. झा बताउँछन् । ‘यो शल्यक्रिया गर्दागर्दै कसैलाई छारेरोगको समस्या आउने, कसैको अत्यधिक रगत बग्ने जस्ता समस्या देखिन सक्छ । समाधानका लागि विशेष खालको औषधि दिनुपर्छ,’ उनी भन्छन् ।

शल्यक्रियापछि सामान्य दैनिकीमा फर्किकति सम्भव ?

शल्यक्रियापछिको सामान्य दैनिकीमा फर्किने सम्भावना कुन चरणको ट्युमर छ त्यसमा भरपर्ने डा. झा बताउँछन् ।

‘यदि दोस्रो चरणसम्म पुगेको बिरामीको शल्यक्रिया सफल तरिकाले भएको छ भने उनीहरु सामान्य जीवनमा फर्किन सक्छन् । तर चौथो स्टेजको टयुमर छ भने सफल शल्यक्रिया भए पनि केही कमीकमजोरी भने देखिने जोखिम रहन्छ । र, ट्युमर पुनः पलाउने सम्भावना पनि रहने हुँदा शल्यक्रियापछि रेडियोथेरापी र केमोथेरापी आवश्यक पर्न सक्छ,’ उनी भन्छन् ।

ब्रेन टयुमरको आकार

ब्रेन टयुमरको आकारप्रकारले पनि फरक पार्ने डा. झा बताउँछन् । उनका अनुसार ट्युमर ५ सेन्टिमिटरभन्दा सानो भएमा शल्यक्रिया पछिको नतिजा पनि राम्रो हुन्छ । पक्षघातको सम्भावना कम हुन्छ । यदि ट्युमर ५ सेन्टिमिटरभन्दा ठूलो भएमा पक्षघातको जोखिम पनि उत्तिकै रहन्छ ।

अवेक सर्जरी’को सुरुवात

प्यासेफिक न्युरोसाइन्स इन्स्टिच्युट अर्गनाइजेसनमा प्रकाशित एक ब्लग अनुसार ‘अवेक क्रेनियोटोमी’को सुरुवात ५० वर्षअघि नै भएको थियो । छारेरोगको उपचारको क्रममा यो पद्धति पत्ता लागेको थियो । डा. हेनरी मार्सलाई आधुनिक ‘अवेक क्रेनियोटोमी’को पिता मानिन्छ । उनले बेलायतमा यस पद्धतिको कमै प्रयोग गरेपनि पछि यसबारे वृत्तचित्र बन्यो ।

उनको त्यो ‘अवेक क्रेनियोटोमी’को जुक्ति पछि गएर अंग्रेज सर्जनले सन् १९९२ मा युक्रेनमा काम गर्दा प्रयोग गरेका थिए । त्यसपछि बिस्तारै अत्याधुनिक चिकित्सा विज्ञानमा लोकप्रिय हुँदै गयो ।

यता नेपालमा भने ‘अवेक सर्जरी’को सुरुवात सन् २०१८ बाट मात्र सुरु भएको थियो । नयाँ-नयाँ अत्याधुनिक प्रविधि आएसँगै ब्रेन टयुमरको शल्यक्रिया सहज भएको छ ।

विकसित देशमा हुने न्युरोसर्जरीका उपचार पद्धतिको सुविधा नेपालमै सहज भएको छ । जसमध्ये ‘अवेक क्रेनियोटोमी’ पनि एक हो । हाल उपेन्द्र देवकोटा मेमोरियल अस्पताल, अन्नपूर्ण अस्पताल र वीर अस्पतालमा यस्तो सेवा उपलब्ध छ । सुरुवाती दिनहरुमा यो नयाँ पद्धति नेपालमा भित्रिंदा निकै कठिन भएपनि बिस्तारै अनुभवसँगै उपकरणको उपलब्धता भएपछि अहिले यस्तो उपचार सहज हुँदै गएको छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

पक्षघात प्रा.डा. राजीव झा ब्रेन ट्युमर शल्यक्रिया
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय