+
+

सम्पत्ति शुद्धीकरणको आरोपमा दुई जना दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १६:०३

१६ पुस, काठमाडौं । विशेष अदालतले अबैध सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा प्रमोद कुमार जयसवाललाई ८ वर्ष कैद र ८३ करोड रुपैंया जरिवाना हुने फैसला गरेको छ ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले जयसवाललाई सोमबार कसुर निर्धारण गरेको हो । विशेष अदालतले उनलाई गत ४ पुसमा दोषी ठहर गरेको थियो ।

जयसवाललाई ४१ करोड ५१ लाख रुपैंया विगो र त्यसको दोब्बरले हुन आउने रकम ८३ करोड ३ लाख जरिवाना सुनाएको, प्रवक्ता धन बहादुर कार्कीले बताए । त्यही घटनामा मुछिएका पप्पु ठाकुरलाई पाँच वर्ष कैद सजाय तोकिएको छ । पप्पुलाई ३ करोड ६७ लाख विगो र दोब्बर ७ करोड ३४ लाख रुपैंया जरिवाना हुने फैसला भएको छ ।

आलु र प्याज खरिद गरेको नक्कली कारोवार देखाई सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ बैशाख २०७७ मा दुई बाणिज्य बैंकका कर्मचारी सहित ५ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

उनीहरुमाथि ४१ करोठ ५१ लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेको अभियोग थियो । विभागले नेपाल एसबीआई बैंक पर्सा रामपुर शाखाकी तत्कालिन शाखा प्रवन्धकविभा चौधरी, त्यही बैंकको विरगञ्ज शाखाका प्रमुख जीवनबाबु सुवेदी लगायत ५ जनामाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको थियो ।

उनीहरुको साथै भारतीय नागरिक प्रमोदकुमार जयसवाल, पप्पु ठाकुर र श्रीलाल रौनियार विरुद्ध पनि मुद्दा दायर गरेको थियो । अनुन्धानका दायरामा परेका १० जना बैंकका कर्मचारीलाई विभागिय कारवाही गरिएको थियो । विशेष अदालतले जयसवाल र ठाकुर बाहेक सबैलाई सफाई दिएको हो ।

कसरी कारोवार भयो ?

सोमडिह–२, तौलिहवा कपिलबस्तु अस्थायी ठेगाना देखाएर भारतिय नागरिक प्रमोदकुमार जयसवालले रेहान ट्रेडर्स स्थापना गरे । उक्त फर्मले ‘आलु व्याज लगायत विविध बस्तुको खरिद विक्री तथा आयात निर्यात’ भनी विवरण पेश गरेको थियो । करोडौंको कारोवार गर्ने उक्त फर्मको कुल पूजी ९१ हजार रुपैंयाको मात्रै थियो ।

एउटा सामान्य फर्मले अस्वाभाविक रुपमा कारोवार गर्न थालेको भेटेपछि नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी इकाईले २०६९ साल जेठ २४ गते पत्रमार्फत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई घटनावारे जानकारी गराएको थियो ।

अनुसन्धान हुदा उक्त फर्मको प्यान विवरण फर्जी भएको भेटियो । जयसवालले तत्कालिन एनआईसी(हालको एनआईसी एशिया) बैंकमा उनले खाता खोल्न तिनै फर्जी कागजातहरु पेश गरेका थिए ।

जयसवालले एलसी खोलेर भारतबाट आलु र प्याज आयात गरेको भनी कागजात तयार गरेका थिए । अनुसन्धानका क्रममा कागजात भिडाउदा उनले पेश गरेको भन्सार प्रज्ञापनपत्र र नगदी रसिद मिलेन । विभागले उक्त रेहान फर्म दर्ता प्रमाणपत्र कतैबाट पनि जारी नभएकाले किर्ते कागजातका आधारमा फर्म स्थापना र कारोवार गरेको दावी गरेको हो । त्यही मुद्दामा आरोपितहरु दोषी ठहर भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?