+
+

नेशनल पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेल दोषी ठहर, ८ जनालाई सफाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते २०:१५

७ वैशाख, काठमाडौं । विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली स्थापनामा अनियमितता गरेको आरोपमा सुनिल पौडेललाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले भ्रष्टाचारको आरोप लागेका सचिव मधुकुमार मरासिनीसहित अरू ८ जनालाई सफाइ दिएको हो ।

विशेष अदालतको यो फैसलासँग सचिव मरासिनीको निलम्बन फुकुवा हुने भएको छ । उनले अदालतको पत्र लिएर आइ्तबार नै हाजिर हुन पाउनेछन् ।

मुद्दा दायर भएपछि निलम्बनमा परेका सचिव मरासिनी त्यतिबेला अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख थिए । मरासिनीको अझै १५ महिना पदावधि बाँकी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ असोज, २०८० मा सचिव मधु मरासिनीसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विषयगत दक्षता र कानूनी अधिकार नभएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)लाई राष्ट्रिय भुक्तानी प्रणाली स्थापनाको जिम्मेवारी दिई रकम निकासा गरेको, तर ठेक्का सम्पन्न भएको पाँच वर्षसम्म प्रणाली सञ्चालनमा नआएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकहरू सञ्जय शर्मा, प्रणिता उपाध्याय र सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठलाई समेत मुद्दा चलाएको थियो ।

त्यस्तै रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, नीमबहादुर ओलीविजरुद्ध पनि मुद्दा दायर भएको थियो । यीमध्ये पौडेल बाहेक सबैले सफाइ पाएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।

विशेष अदालतले सफ्टवेयर खरिद गरी सञ्चालन गर्न नसकेकोमा तत्कालीन कार्यकारी निर्देशक पौडेललाई दोषी ठहर गरेको हो । सफ्टवेयर खरिदमा २३ करोड २७ लाख रुपैयाँ खर्च भइसकेको छ ।

विशेषले सुनिललाई सजाय निर्धारणका लागि २५ वैशाखमा पेशी तोकेको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने अवस्था भए सजाय निर्धारणका लागि फेरि छुट्टै पेशी तोक्नुपर्ने नियम छ । मुद्दा दायर हुदा सुनिल पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक थिए ।

मुलुकभित्र र बाहिरबाट हुने भुक्तानीलाई पूर्ण रूपमा विद्युतीय माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेट वे) स्थापनाको प्रयास भएको थियो ।

६ वर्षअघि सूचना प्रविधि तथा सञ्चार मन्त्रालय मातहतको एनआईटीसीले राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल पेमेन्ट गेटवे) स्थापना प्रक्रिया अघि बढाएको थियो ।

सरकारको नीति तथा कार्यक्रममा समावेश नै नभएको अनि एनआईटीसीले माग नगरेको विषयमा अर्थ मन्त्रालयको बजेट प्रणालीमा कार्यक्रम इन्ट्री गरेर रकम भुक्तानी गरेको अनियमितताको सुरुवात भएको अख्तियारको आरोप थियो ।

त्यति बेलासम्म नेशनल पेमेन्ट गेटवेका लागि गर्नुपर्ने नियमित चरणका काम भएका थिएनन् । आवश्यक कागजात समावेश भएको थिएन । नेशनल पेमेन्ट गेटवे प्राविधिक विषय मात्रै नभई बैंकिङ कारोबार समेत भएकाले बैंकिङ प्रणालीको ज्ञान हुनुपर्ने, कानूनी प्रावधान आवश्यक पर्ने अनि सरोकारवालाहरूसँगको समन्वयमा काम गर्नुपर्नेमा कुनै पनि प्रक्रिया पूरा नभएको अख्तियारको दाबी थियो ।

प्रणाली स्थापना गर्नुअघि अध्ययन नभएको, त्यससँग सम्बन्धित सरोकारवालाहरूको पहिचान नगरिएको, लागत अनुमान स्वीकृत नभएको, गुरुयोजना तयार नपारिएको, कानूनी आधार नै नभएको र प्रणालीमा आवद्ध गर्नुपर्ने अरू पूर्वाधार तयार नगरी काम अघि बढेको भन्दै अख्तियारले भ्रष्टाचार भएको दाबी गरेको थियो ।

वित्तीय कारोबार, रकम लेनदेन र एक अर्को माध्यमको कारोबार समेत जोडिएकाले नेपाल राष्ट्र बैंकमार्फत हुनुपर्ने यस्तो कारोबार सञ्चालन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइसीटी)ले पेमेन्ट गेट वे स्थापनाका लागि काम गरिरहेको थियो ।

आर्थिक वर्ष २०७४/७५ को अन्तिम महिनामा छोटो अवधिमा सम्झौता भई रकम भुक्तानी समेत गरिएको थियो । १९ असार, २०७५ मा १० दिनभित्र गेटवे स्थापना गर्ने भनी निर्णय भएको थियो । भुक्तानी भएपछि ५ वर्ष बितिसक्दा पनि यसको कार्यान्वयन भएको थिएन ।

विशेष अदालतले संक्षिप्त आदेशमा भनेको छ, ‘आफ्नो ओहोदाको कर्तव्य पालना गर्दा लापरवाही गरी २३ करोड २७ लाख तिरी खरिद गरिएको परामर्श सेवा र सफ्टवेयर सञ्चालनमा नल्याइ प्रयोगविहीन अवस्थामा रहेबाट निज प्रतिवादीहरूको कारणले नेपाल सरकारको रकम दुरुपयोग हुन गइ सरकारलाई हानी नोक्सानी हुन पुगेको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?