+
+

यु–१९ विश्वकपमा नेपालको लक्ष्य सुपर ६

नमिता दाहाल नमिता दाहाल
२०८० पुष १७ गते २१:१४

१७ पुस, काठमाडौं । नेपाली यू–१९ टिमले दक्षिण अफ्रिकामा हुने विश्वकपको तयारी पूरा गरेको छ । विश्वकप खेल्ने टिम सार्वजनिक त भएको छैन, तर बन्द प्रशिक्षणमा रहेका टोलीका सदस्यहरुले विश्वकपमा कम्तीमा सुपर ६ पुग्ने लक्ष्य सुनाएका छन् ।

सन् २०१६ को विश्वकपमा नेपालले आयरल्यान्ड र न्युजिल्यान्डलाई समूह चरणमा पराजित गर्दै सुपर ८ मा स्थान बनाएको थियो । त्यसपछि पहिलो पटक विश्वकप खेल्न लागेको नेपालले सुपर ६ को लक्ष्य राखेको छ ।

नेपाली टिम रहेको समूह डी मा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ ।

नेपालको यू–१९ टिमको कप्तान देव खनाल आफूहरुको राम्रो नतिजा ल्याउने र खेल जित्ने नै रहेको बताउँछन् । त्यसमा सहमत प्रशिक्षक जगत टमटा भन्छन्, ‘हाम्रो पहिलो लक्ष्य सुपर ६ हो त्यसपछि हामी सेमिफाइनलका लागि सोच्नेछौं ।’

एसिया कप ठूलो सिक्ने अवसर

नेपालले विश्वकपअघि मंसिरमा पाकिस्तान र श्रीलंकामा भएको यू–१९ एसिया कपमा भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्यो । तीनवटै खेल हारेर समूह चरणबाट बाहिरिएपनि विश्वकपका लागि राम्रो तयारी भएको कप्तान खनाल बताउँछन् ।

‘एसिया कपमा हामीले सोचेको जस्तो खेल्न सकेका थिएनौं । हामी सबैकुरा सुधार्दै कसरी विश्वकपमा राम्रो रिजल्ट दिने भन्ने कोशिसमा हुनेछौं’ उनले भने ।

एसिया कपबाट फर्केपछि नेपाली टोलीले त्यहाँ गरेका कमजोरी सुधार्ने अभ्यास गरेको कप्तान देवले बताए । ‘त्यहाँबाट आएर हामी त्यसैको मात्रै अभ्यास गरिरहेका छौं । बाउन्स विकेटको अभ्यास गरिरहेका छौं’, उनले भने ।

सिनियर टिमबाट समेत खेलिसकेका यू–१९ टिमका सदस्य गुल्सन झा एसिया कपबाट विश्वकपको राम्रो तयारी भएको बताउँछन् । ‘एसिया कपमा ब्याटिङमा राम्रो भएन । त्यहाँको कमजोरीमा हामीले काम गरेका छौं’ उनले भने ।

एसिया कपमा नेपालले खेलेको ३ खेलमा ओपनर ब्याटर अर्जुन कुमालको प्रदर्शन सन्तोषजनक नै थियो । उनी विश्वकपमा आफ्नो प्रदर्शन अझै सुधार्ने बताउँछन् । ‘ठूलो टेष्ट नेसनसँग खेल्न र रन बनाउन चाहन्छु । विश्वकप छनोटदेखि मेरो प्रदर्शन राम्रो भइरहेको छ । विश्वकपमा पनि रन बनाउने सोचमा छु’ उनले भने ।

नेपालको लागि एसिया कप निकै ठूलो सिकाइ भएको प्रशिक्षक जगत टमटा बताउँछन् । ‘मैले त्यति धेरै स्वीङ र टर्न होला भन्ने सोचेको थिइन । यो हाम्रो लागि विश्वकपमा पनि निकै राम्रो सिकाइ भएको छ’ उनले भने ।

दक्षिण अफ्रिकामा पनि ग्रास विकेट हुने भएकाले एसिया कपको खेलले नेपाललाई विश्वकपको तयारी गर्न निकै मद्धत पुगेको प्रशिक्षक टमटाले बताए । यसअघि भारत, पाकिस्तान र अफगानिस्तानसँग खेलिसकेकाले विश्वकपमा अफगानिस्तान र पाकिस्तानसँग खेल्न अप्ठेरो नहुने उनले बताए । ‘टेष्ट राष्ट्रसँग कसरी खेल्ने भन्ने अनुभव भएको छ’ प्रशिक्षक टमाटा भन्छन्, ‘कन्डिसन फरक छ तर अनुभव एसिया कपबाट राम्रो बटुलेका छौं ।’

यसपटक दक्षिण अफ्रिकामा हुने खेल नेपालका लागि नयाँ हो । दक्षिण एसिया र एसियाली पिच भन्दा त्यहाँ फरक हुने प्रशिक्षक टमटा बताउँछन् । ‘हाम्रो लागि त्यहाँ टर्निङ र ग्रास विकेट हुनेछ । जसका कारण अघिल्लो १० ओभर निकै चुनौतीपूर्ण हुनेछ’, उनले भने ।

विश्वकप अगाडि दक्षिण अफ्रिकामा नै नेपालले तयारी स्वरुप ४ वटा खेल खेल्नेछ । जसले विकेटको कन्डिसन र खेलाडीलाई दक्षिण अफ्रिकाको वातावरणमा घुलमिल हुन सहयोग गर्नेछ ।

‘एसिया कपबाट सिकिएको छ । बाउन्स विकेट प्रत्येक बल हेरेर खेल्ने हो । विपक्षीको बलियो र कमजोर पक्ष थाहा छ । त्यही अनुसार योजना बनाएर खेल्ने छौं’, उनले भने ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?