+
+

विदेश जान ज्योतिले छाडिन् क्रिकेट, विश्वकप खेल्ने चाहना अधुरै

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० पुष १८ गते १९:३१

१८ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको बुधबार भएको फाइनल खेल जितेपछि विकेटकिपर ब्याटर ज्योति पाण्डेले क्रिकेट जीवन टुंग्याउने निर्णय गरिन् ।

कोशी प्रदेशलाई फाइनलमा ११ रनले हराएर एपीएफ अपराजित रहँदै च्याम्पियन बन्दा ज्योति महत्वपूर्ण सदस्य थिइन् । खेलपछि ज्योतिले कप्तान सीता राना मगरसँग अंकमाल गरिन् । अनि एपीएफका खेलाडीले ब्याट उठाएर ज्योतिलाई ‘गार्ड अफ अनर’ दिए ।

ज्योतिको इच्छा राष्ट्रिय टिमबाट खेलेर बिदा लिने थियो । तर पछिल्लो समय राष्ट्रिय टिममा पर्न नसकेपछि उनले एपीएफबाटै खेलेर सन्यास लिइन् ।

बुधबार भएको फाइनलमा ज्योतिले ओपनिङ गर्दै ३० बलमा ३ चौका प्रहार गर्दै २७ रन बनाइन् । उनले दोस्रो विकेटका लागि इन्दु बर्मासँग २८ रनको साझेदारी गरिन् । यस्तै फिल्डिङमा उनले एक स्टम्पिङ र एक रनआउट पनि गरिन् ।

‘यही प्रतियोगिता र फाइनल म्याचलाई नै अन्तिम मानेर खेलेको थिएँ । त्यसैले यो प्रतियोगिता मेरो लागि इमोनसल क्षण थियो’, ज्योतिले भनिन्, ‘यो म्याच पछि म खेल्दिन भन्ने थियो ।’

विदेश जान छाडिन् क्रिकेट

ज्योतिले करिब दुई वर्षअघि अनलाइनखबरसँगको कुराकानीमा आफूलाई मन परेको खेल क्रिकेट छाड्नुपर्ने हो कि भन्ने चिन्ता लागेको बताएकी थिइन् । त्यो बेला उनी मेयर्स कपमा उत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर भएकी थिइन् ।

तर त्यसको दुई वर्ष पनि नबित्दै उनले क्रिकेट छाडेर अमेरिका जाने नै निर्णय लिइन् ।

‘म देश छाड्दै छु त्यही भएर पनि हो । अर्को कुरा मैले १४-१५ वर्ष क्रिकेट खेलिसकेँ । यो बाहेक मलाई अरु कुरामा पनि इन्ट्रेस्ट छ नि त’, उनले आफ्नो सन्यासबारे भनिन् ।

एपीएफबाट एक दशक क्रिकेट खेलेकी उनले करिब ५ वर्ष राष्ट्रिय टिमबाट खेलिन् । ‘मेरो डेब्युको याद आउँछ । मेरो सेन्चुरी, हाफ सेन्चुरीहरु, एपीएफलाई जिताएको क्षणहरु याद गर्छु’, उनले भनिन् ।

विश्वकप खेल्ने चाहना अधुरै

ज्योतिका बुबा प्रदीप पाण्डे राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक हुन् । घरेलु वातावरण सहज भएकाले उनले पढाइ र क्रिकेट सँगै अघि बढाइन् । ज्योति सन् २०११ मै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेकी थिइन् । तर डेब्यु गर्न भने थप ५ वर्ष कुर्नुपर्‍यो । सन् २०१६ मा विश्वकप एसिया छनोट अन्तर्गत उनले हङकङविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरिन् ।

यस्तै सन् २०२१ मा कतारविरुद्ध टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेकी उनले पछिल्लो खेल २०२३ मा मलेसियाविरुद्ध खेलेकी थिइन् । फुटसल खेल्दा हात भाँच्चिएपछि २०१९ मा टी-२० विश्वकप एसिया छनोट र थाइल्याण्डमा आयोजित महिला टी–२० म्याच गुमाएकी उनी १३औं दक्षिण एसियाली खेलकुदमा टिमकी वैकल्पिक खेलाडी थिइन् ।

२०२१ को नोभेम्बरमा महिला टी-२० विश्वकप एसिया क्वालिफायरका लागि नेपाली टोलीमा पुनरागमन गरेपनि ज्योतिले यसपल्ट धेरै अवसर भने पाइनन् । क्वालिफायरअघि कतारसँगको तीन खेलको श्रृंखला क्लिन स्वीप गर्दा उनले दुई खेल मात्र खेलिन् ।

युएईमै नेपालले टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा तीन खेल खेल्दा उनले ब्याटिङ गर्न पाइनन् ।

त्यसपछि उनले २०२२ मे मा कीर्तिपुरमै भएको युगान्डा विरुद्धको पाँच खेलेको सिरिज खेलिन् । जसमा एक खेलमा ४९ रनमा रनआउट भएकी उनी अर्को खेलमा ४७ रनमा आउट भइन् ।

२०२२ मै जुनमा उनले मलेसियामा एसीसी टी-२० च्याम्पियनसिप खेलिन् भने २०२३ मे-जुनमा मलेसियाविरुद्धको पाच खेलेको सिरिज खेल्न गएकी थिइन् । त्यसपछि भने उनी राष्ट्रिय टिममा छैनन् ।

राष्ट्रिय टिमबाट ज्योतिले १७ टी-२० आई खेलिन् । जसमा उनले १२ इनिङ्समा ब्याटिङ गर्दै २५२ रन बनाएकी छन् । राष्ट्रिय टिमबाट विश्वकप खेल्ने उनको चाहना भने अधुरै रह्यो । ‘विश्वकपमा छनोट हुने एकदम इच्छा थियो’, ज्योतिले भनिन् ।

ज्योतिले क्रिकेट खेल्न थाल्दा नेपालमा महिला क्रिकेट भर्खर सुरु भएको अवस्थामा थियो । त्यतिबेला नेपालको महिला टिमले पुरुषले भन्दा चाँडै विश्वकप खेल्छ भनिन्थ्यो । तर पुरुष टिमले २०१४ मा टी-२० विश्वकप खेल्यो र दोस्रो पटक आगामी जुनमा खेल्दैछ।

महिला टिम भने विश्वकप छनोटको नजिकसम्म पुग्न सकेको छैन ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?