+
+

गायक-गायिकालाई मेला महोत्सवको चटारो (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १४:००

काठमाडौं । यतिबेला देशैभरि मेला महोत्सवको सिजन छ । पूर्वदेखि पश्चिम नेपालसम्म महोत्सव आयोजना भइरहेका छन् । यो मेसोमा कलाकारलाई भ्याइनभ्याइ छ । लोकदोहोरी, आधुनिक, पप र हिपहप गायक-गायिकालाई मेला महोत्सवको चटारो छ ।

कलाकारले दैनिकजसो सामाजिक सञ्जालबाट मेला महोत्सवका सांगीतिक प्रस्तुतिको तस्वीर पोस्ट गरिरहेका छन् । अहिले चलेका कुनै पनि एक कलाकारले एक महिनासम्म कम्तीमा १५ देखि २० महोत्सवमा सांगीतिक प्रस्तुति दिन्छन् ।

कमाइ र दर्शकमाझ पहुँचका हिसाबले यो आकर्षक अवसर समेत हो । अस्मिता अधिकारी, रचना रिमाल, समीक्षा अधिकारी, एलिना चौहानदेखि लोकदोहोरीका प्रकाश सपुत, पशुपति शर्मा, पुष्कल शर्मा, खेम सेन्चुरी, बद्री पंगेनी, शान्तिश्री परियार डिमान्डेड कलाकार हुन् ।

प्रमोद खरेल, शिव परियार, राजेशपायल राई, हेमन्त शर्मालगायत सुगम संगीतका लोकप्रिय कलाकार पनि महोत्सवमा पुगिरहेका छन् । शिव अहिले अमेरिका टुर र प्रकाश बेलायतको सांगीतिक टुरमा छन् । सांगीतिक ब्याण्डदेखि पछिल्ला छिमलका र्‍यापर भिटेन, दोङलाई पनि मेला महोत्सवमा भ्याइनभ्याइ छ ।

हेटौंडाको थाहा महोत्सवदेखि सुरु भएको रचनाको यस पटकको महोत्सवको दौडाहा एक दर्जनभन्दा बढी नाघेको छ । त्यसयता उनले गुल्मी, कपिलवस्तु, पोखरा, मोरङ, कैलालीको लम्की, विराटनगर, पोखराको लेखनाथ, बागलुङको गलकोट, झापाको बिर्तामोड, हेटौंडा, भैरहवा, दाङ, नेपालगञ्ज महोत्सवमा प्रस्तुति दिएकी छन् । तमु समाज ओमानको कार्यक्रममा सहभागी उनी बिहीबार त्यसतर्फ उडेकी छन् ।

गायिका समीक्षा अधिकारी पनि व्यस्तमध्ये पर्छिन् । उनले यसबीचमा बागलुङ, पोखरा, गुल्मी, कर्णाली र नेपालगञ्जमा उनले प्रस्तुति दिइसकेकी छन् । अहिलेकी अर्की चर्चित गायिका अस्मिता अधिकारीले बागलुङ, बिर्तामोड, इलाम, बिराटनगर, ताप्लेजुङ, हेटौंडा, सुदुरपश्चिम, कपिलवस्तु र मकवानपुरको थाहा महोत्सवमा सहभागिता जनाइन् । यसबीच उनले केही मुलुकमा समेत प्रस्तुति दिइन् ।

एलिना चौहान पनि यतिबेला निकै व्यस्त छिन् । सामाजिक सञ्जालमा उनीहरुले पोस्ट गरेका तस्वीर हेर्दा उनीहरुको व्यस्तता प्रष्ट हुन्छ । गायक प्रमोद खरेलको व्यस्तता पनि चर्को छ । भ्वाइस अफ नेपाल सिजन ५ को फिनाले नजिकिंदै गर्दा उनी फुर्सद निकालेर महोत्सवमा पुगेका हुन्छन् ।

बुधबार बागलुङ महोत्सवमा पुगेका खरेल बिहीबारको झापाको गोलधापमा प्रस्तुति दिंदैछन् । पोखरामा न्यु इयर २०२४ देखि सुरु भएको सांगीतिक माहोल जनवरीसम्मै कायम हुनेछ । लाइनअप हेर्दा चलेका पपगायक र र्‍यापरले पनि तालनगरीमा प्रस्तुति दिंदैछन् ।

तस्वीर : सम्बन्धित कलाकारको फेसबुक पेजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?