+
+

ढकिया बुन्न सिक्दै भरतपुरका थारू महिला

रासस रासस
२०८० पुष १९ गते १४:०५

१९ पुस, भरतपुर । पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ । तर कला–संस्कृतिको धनी थारूसमुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन् ।

चितवनको रत्ननगर नगरपालिका-१० भानु चोककी जानकी चौधरी ढकियालगायत थारूसमुदायले प्रयोग गर्ने परम्परागत सामग्री बनाउने तालिम लिन पाउँदा उत्साहित छिन् । उनले २२ दिनदेखि यस्ता सामग्री बनाउन सिकिरहेकी छिन् ।

उनीजस्तै ३० थारूमहिला अहिले सौराहामा परम्परागत हस्तकला सीप सिक्न कस्सिएर लागेका छन् । थारूआयोगको आर्थिक सहयोगमा परिदृश्य नेपालको आयोजना र थारूकल्याणकारिणी सभा चितवनको समन्वयमा थारूमहिलाका लागि तालिम दिइएको हो ।

जानकीले छोटो अवधिमा नै हस्तकला सीपमार्फत आकर्षक सामग्री बनाउन जानिसकेका छन् । उनले पूजा दानी, फ्रुट बास्केट, पेन होल्डर, किस्ती, गमला र ज्वेलरी बक्स बनाउन सिकेका छिन् । ‘पहिला केही पनि थाहा थिएन’, उनले भनिन्, ‘तालिमपछि थाहा भयो मैले पनि यति राम्रो सामग्री बनाउन सक्ने रहेछु ।’

उनले परम्परागत सामग्रीको माग बढ्दै गएकाले आफूहरु तालिम लिन आएको बताए । उनले फुर्सदिलो समयको सदुपयोग र आयआर्जन पनि हुने भएका कारण निकै मेहनतका साथ तालिममा सामग्री बनाउन सिकेको बताए ।

‘परम्परागत ढकियालाई समयको मागअनुसार परिवर्तन गरेर बनाउन सक्छौँ,’ उनले भने, ‘हामीले बनाएको सामान बिक्रीका लागि बजारमा पनि लैजान थालिएको छ ।’ उनले यस्ता सामग्री बनाउन मेहनत धेरै हुने भए पनि बजारमा माग राम्रो भएकाले बिक्रीको चिन्ता नरहेको बताए ।

प्रशिक्षक मुना चौधरी महिलालाई हस्तकला सीप सिकाउन पाउँदा खुसी लागेको भन्दै २२ दिनमा एक जनाले चार पाँचवटा सामग्रीको राम्रोसँग फिनिसिङ गरिसकेको बताए । तालिममा पूजा सामग्री राख्ने, घरको तरकारी र खानेकुरा राख्ने र फूल सजाउन प्रयोग हुने सामग्री बनाउन सिकाएको उनले बताइन् ।

‘यहाँ हामीले उत्पादन गरेको सामग्री यहीँ सौराहामा बिक्री हुन्छ’, उनले भनिन्, ‘देश विदेशबाट आएका पर्यटकले लैजाने गर्नुभएको छ ।’

यी सामग्री निर्माणका लागि बरुवा, काँस, रङ, छिदना, इन्चिटेपलगायतका सामान चाहिने उनले बताइन् । ‘तालिमपश्चात् दिदीबहिनीले व्यावसायिक रुपमा काम गर्न सक्नुहुन्छ’, उनले भनिन्, ‘सबैले निकै रुचिका साथ तालिममा नियमित सहभागिता जनाउनुभएको छ ।’ तालिममा सहभागीलाई बिहान १० बजेदेखि ४ बजेसम्म हस्तकला सीप सिकाइएको छ ।

अर्का प्रशिक्षक श्री चौधरी थोरै लगानीमा फुर्सदको समयमा काम गरेर आयआर्जन गर्न सकिने भएकाले परम्परागत हस्तकला सामग्री निर्माणमा महिलाको आकर्षण बढेको बताए । ‘पहिलो हाम्रो पुर्खाले ढकिया मात्र बुन्ने गर्नुहुन्थ्यो’, उनले भने, ‘अहिले अन्य सामग्री पनि उत्पादन गर्न थालेपछि देश विदेशमा बिक्री हुने गरेको छ ।’

थारूसमुदायमा विवाह, मान्छे मर्दा र अन्य कर्ममा ढकियाको प्रयोग गरिन्छ । ढकिया थारूसमुदायको पहिचान भएको भन्दै उहाँले पछिल्लो समय अन्य समुदायका मानिसले पनि यी सामग्री मन पराएर किन्ने गरेको उनले बताए ।

तालिमका चितवनको रत्ननगर र खैरहनी नगरपालिकाका ३० जना थारूमहिलाको सहभागिता रहेको छ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको तालिम यही पुस २७ गते सकिने छ ।

थारूसमुदायमा घरायसी प्रायोजनका लागि प्रयोग गरिने परम्परागत सीप आधुनिकताका नाममा हराएको भन्दै नयाँपुस्तालाई सिकाउन तालिमको आयोजना गरिएको थारूकल्याणकारिणी सभा चितवनका सचिव सन्तकुमार चौधरीले बताए । थारूकला, परम्परा र संस्कृति जोगाइराख्न यस्तो तालिमको निरन्तरता आवश्यक रहेको उनले बताए ।

उनले हस्तकला सामग्री पर्यटक र सोखिन मान्छेले किन्ने भएका कारण सीप र आयआर्जनसँग जोडेर महिलालाई यस्ता सीप सिकाउन अग्रसर गराउनुपर्ने उनले बताए । चौधरीले तामिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक बन्न सहभागीलाई सुझाव दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?