+
+

५ कक्षाको पाठ्यपुस्तक यस वर्ष जनक शिक्षाले छाप्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १९:१६

१९ पुस, काठमाडौं । सरकारले यस वर्ष १ देखि ४ कक्षासम्मको पाठ्यपुस्तक मात्र निजी प्रकाशन गृहलाई छाप्न दिने भएको छ ।

गत वर्ष सरकारी स्वामित्वको जनक शिक्षा सामग्री कम्पनीले समयमा छाप्न नसकेको भन्दै १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिइएको थियो । केन्द्रले भने ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तक छापेको थियो ।

यस वर्ष भने १ देखि ४ कक्षासम्मको पुस्तक निजी प्रकाशकले र ५ देखि १० सम्मको पुस्तक जनक शिक्षाले छाप्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।

गत वर्ष १ देखि ५ सम्मको एक करोड २० लाख थान पुस्तक छपाइका लागि १३ वटा निजी प्रकाशकलाई जिम्मा दिइएको थियो । ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक भने जनक शिक्षाले छापेको थियो ।

मन्त्रालयका अनुसार यस वर्ष जनक शिक्षाले गत वर्ष भन्दा धेरै पुस्तक छाप्न सक्ने बताएपछि ५ कक्षाको पुस्तक छाप्न दिइएको हो ।

‘हामीले जनक शिक्षाको क्षमता र निजीसँगको सहकार्यको अनुभव र समयसीमाभित्र पाठ्यपुस्तक छपाई गरिसक्नुपर्ने कुरालाई दृष्टिगत गर्दा यो वर्ष १ देखि ४ निजीलाई र ५ देखि १० जनक शिक्षालाई दिनु उपयुक्त देखिएकाले निर्णय गरिएको हो’, प्रवक्ता सापकोटाले भने ।

जनक शिक्षा सामग्री केन्द्रका अनुसार कक्षा ५ को लागि करिब साढे चार लाख सेट पुस्तक प्रकाशन गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?