+
+

विद्यालय तहको पाठ्यपुस्तक ‘असमावेशी र पूर्वाग्रही’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते २०:४४

२३ फागुन, काठमाडौं । ‘एजुकेसन इन एभ्री होम’ ले विद्यालय तहको पाठ्यपुस्तक असमावेशी र पूर्वाग्रही भएको निष्कर्ष निकालेको छ ।

‘एजुकेसन इन एभ्री होम’ ले पाठ्यक्रम विकास केन्द्रले तयार गरेको कक्षा २ को मेरो नेपाली, मेरो सेरोफेरो कक्षा ७ को नेपाली, सामाजिक अध्ययन र मानव मूल्य शिक्षा, कक्षा १० को नेपाली र सामाजिक अध्ययन विषयमा समेटिएको विषयवस्तुको विश्लेषण गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

‘एजुकेसन इन एभ्री होम’ ले तयार पारेको ‘रिपोर्ट अन पार्टीसिपाटरी अडिट अफ पब्लिक स्कुल टेक्स्टबुक्स २०२३–२०२४’ प्रतिवेदन सार्वजनिक गर्दै अध्ययनकर्ता होमराज आचार्यले यी पाठ्यपुस्तकहरु लैंगिक, जातीय, भाषिक, सांस्कृतिक रुपमा असमावेशी र पूर्वाग्रही रहेको पाइएको बताए ।

उक्त रिपोर्टमा पाठ्यपुस्तक विकासको विविधता, विविधता र समावेशीताको मूल मूल्य, व्यक्ति चित्रणमा विविधता, आवाजको विविधताः कथाकारहरु, लैंगिक, सांस्कृतिक विविधता, दलित समावेशीता, धार्मिक पहिचान, भाषिक पहिचान, अपांगता समावेशी, समता शीर्षक दिएर विद्यालय तहको पाठ्यपुस्तकमा समेटिएको सामग्रीहरुको विश्लेषणात्मक अध्ययन गरेर कमजोरी औंल्याएको छ ।

अध्ययन रिपोर्टमा भनिएको छ ‘मुख्यतया महिला, मुस्लिम, राउटे र अपांगता भएका व्यक्तिहरुका लागि अपमान गर्ने भाषा प्रयोग भएका छन् । पूर्वाग्रहबाट जोगिन धेरै काम गर्न आवश्यक छ ।’

पाठ्यक्रम विकास निर्माणमा भएको सहभागितादेखि समेटिएको सामग्रीमा महिला, दलित, अल्पसंख्यक समूदाय, भाषिक समुदायको सामग्री कम समेटिएको रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार कथाकार तथा सामग्री लेखकहरुमा ब्राह्मण समुदायको ५६ प्रतिशत छ भने दलित र मधेशीबाट जम्मा १.७ प्रतिशत लेखक छन् । त्यसैले असन्तुलित देखिएको रिपोर्टको निष्कर्ष छ ।

पाठ्यपुस्तकमा समावेश गरिएका कतिपय छापिएको सामग्रीहरु गलत समेत भएको तथ्या फेला परेको रिपोर्टमा दाबी गरिएको छ । त्यसमध्ये एक हो कक्षा १० को नेपाली विषयमा रहेको अब्राहम लिंकनले प्रधानाध्यापकलाई लेखेको पत्र हो । रिपोर्टले यो पत्रलाई ‘इन्टरनेट होक्स’ भएको जनाएको छ । उक्त पत्रमा लेखिएको पत्र अब्रहाम लिंकनको हत्या भएको १७ वर्ष पछिको मिति उल्लेख भएकोले यो पत्र गलत भएको रिपोर्टमा उल्लेख छ । त्यस्तै अरु पनि कतिपय तथ्य जाँच नगरी लेखिएको पाठहरु रहेको अध्ययनको दाबी छ ।

अनुसन्धानकर्ता होमराज आचार्य भन्छन् ‘हाम्रा बालबालिकाले पढ्ने पाठ्यपुस्तकमा समेटिएका सामग्री असमावेशी र पूर्वाग्रही मात्रै नभएर गलत कुराहरु पनि पढाइरहेका छौं भन्ने हाम्रो रिपोर्टले स्पष्ट पारेको छ ।’ यो विश्लेषणात्मक अध्ययनले नेपालको शिक्षा प्रणाली समावेशी तथा सुदृढ बनाउन सहयोग पुग्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?