+
+

दिगो विकासको लागि नेपालसँगको साझेदारी निरन्तर : राष्ट्रसंघीय आवासीय संयोजक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते २०:५९

१६ वैशाख, काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हाम्डीले नेपालमा दिगो लगानीको प्रवाह बढाउन मद्दत जारी राख्ने बताएकी छन् ।

आइतबार सुरु तेस्रो नेपाल लगानी सम्मेलनमा सम्बोधन गर्दै हानाले संयुक्त राष्ट्र स्रघ नेपालको आर्थिक विकासमा साथ दिइरहेको भन्दै बाँकी विश्वले पनि साथ दिनु पर्ने बताइन् ।

‘संयुक्त राष्ट्र संघ नेपाली जनताको साथमा छ र विश्वले पनि साथ दिनुपर्छ’, उनले भनिन्, ‘सन् २०२६ मा नेपालले एलडीसी ग्रेजुएसनको तयारी गरिरहेको बेला हामीले लगानी बोर्ड नेपाल र सम्बन्धित मन्त्रालयहरूसँग देशमा दिगो लगानीको प्रवाह बढाउन मद्दत जारी राख्नेछौं । साथै, हामी दिगो, समावेशी र हरित अर्थतन्त्रको दृष्टिले बलियो व्यवसायिक इकोसिस्टमको विकासलाई पनि समर्थन जारी राख्नेछौं ।’

उनले नेपालले नयाँ मिश्रित वित्तीय दृष्टिकोणहरू अन्वेषण गरेर निजी क्षेत्रलाई आकर्षण गर्न सक्ने बताइन् । साथै, विकास प्रभावलाई बढाउन र सार्वजनिक क्षेत्रलाई जोखिम तथा पुरस्कारलाई निष्पक्ष बाँडफाँड गर्ने अवसर पनि सिर्जना गर्ने बताइन् । यसले सार्वजनिक र निजी अर्थतन्त्रसँगै उच्च जोखिम र कम प्रतिफल प्राप्रत हुने महत्वपूर्ण क्षेत्रहरूमा निजी लगानी बढाउन मद्दत गर्ने उनको भनाइ थियो ।

‘बहुपक्षीय विकास बैंकहरू, वित्तीय विकास संस्थाहरू, निजी विकास बैंकहरू, र विकास सहयोग एजेन्सीहरूले स्रोतहरूको लाभ उठाउन निजी साझेदारहरूसँग अझ नजिक भएर काम गर्न सक्छन्’, उनले भनिन्, ‘यी प्रत्येक संक्रमणका लागि आर्थिक, सामाजिक र वातावरणीय आयामहरू फैलिएको नीति सुधारहरूको आवश्यक छ । अहिले कानूनहरू परिमार्जनको प्रयाससँगै सरकारले लगानीको वातावरण सुधार गर्न दृढ प्रतिबद्धता देखाएको छ ।’

उनले नेपालका लागि विशेष गरी शान्ति र समृद्धिका लागि पिपुल्स, प्लानेट, पार्टनरसिपमा जोड दिने बतायन् ।

नेपालमा जनसंख्याको करिब ४१ प्रतिशत नेपाली १६ देखि ४० वर्षको उमेरका तन, मन, उर्जा र अनुभवले खारिएका युवाहरूबाट ठूलो लाभ लिन सक्ने बताइन् । यस जनसांख्यिक लाभांशबाट नेपालले स्वास्थ्य, शिक्षा, फ्रन्टियर टेक्नोलोजी र डिजिटल रूपान्तरणमा लगानी बढाउनु भएको बताइन् ।

उनले यो सम्भावनालाई सुनश्चित गर्न महिला, युवती र सीमान्तकृत समुदायमा अझ बढी लगानी गर्नुपर्ने र विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा उनीहरूको पहुँच बढाउनु पर्ने बताइन् । यसले व्यापार र रोजगारीका अवसरहरूमा उनीहरूलाई आइपर्ने अवरोधहरू हटाउन पनि सहयोग गर्ने उनको भनाइ छ ।

त्यस्ता अवरोधहरू हटाउनुको अर्थ यस्ता सम्मेलनलगायत हरेक क्षेत्रमा अझ बढी महिलाहरूको प्रतिनिधित्व हुने उनको भनाइ थियो । उनले लगानी सम्मेलनमा महिलाहरूको उपस्थिति नरहेको भन्दै असन्तुष्टि समेत जनाइन् ।

‘मैले गर्न सक्ने त केही छैन, तर यस सम्मेलनमा प्रस्तुतकर्ता र वक्ताको रूपमा महिलाहरूको सहभागिता नगण्य छ । मलाई आशा छ, अर्को सम्मेलनमा हामीसँग धेरै महिला हुनेछन्’, उनले भनिन् ।

उनले नेपालले वातावरण, जैविक विविधता र मानव जीवनलाई कमजोर पार्नुको सट्टा आर्थिक प्रवाहको उत्थानमा हरसम्भव प्रयास गर्नुपर्ने बताइन् ।

‘नेपालको लगभग आधा भाग रूखहरूले ओगटेको छ । हिमालयन ग्लेसियरहरूले ताजा पानी प्रदान गगरिरहेका छन् । साथै, नदीहरूबाट अनुमानित ४० हजार मेगावाट जलविद्युत उत्पादन गर्ने क्षमता छ यी प्राकृतिक स्रोतहरूले लगानीका अवसरहरू प्रदान गर्छन्’, उनले भनिन्, ‘यी लगानीले कार्बनलाई घटाउन, दिगो ऊर्जाको सङ्क्रमणलाई गति दिन र हरित अर्थतन्त्रतर्फ डोर्‍याउन योगदान गर्नुपर्छ ।’

उनले यसमा गरिने लगानीले विश्वव्यापी तापक्रमको वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न योगदान पुर्‍याउनु पर्ने र नेट जिरो प्राप्त गर्न मद्दत गर्नु पर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?