+
+

चैत महिनामै बाजुराका विद्यालयमा पुग्यो पाठ्यपुस्तक

प्रकाश सिंह प्रकाश सिंह
२०८० चैत १९ गते १९:३१

१९ चैत, बाजुरा । विगतमा शैक्षिक सत्र सुरु भएको धेरै पछि मात्र पाठ्यपुस्तक पुग्ने बाजुराका विद्यालयमा यस वर्ष शैक्षिक सत्र सुरु नहुँदै पुगेको छ ।

जनक शिक्षा सामग्री केन्द्रको धनगढी प्रदेश कार्यालयले १३ चैतमा सुदूरपश्चिम प्रदेशको बाजुराबाट पुस्तक वितरण सुरु गरेको थियो । प्रदेश कार्यालय प्रमुख रामबहादुर कुँवरले बाजुरामा १ लाख १० हजार ३७ सेट पुस्तक पुगेको बताए ।

बाजुरामा २०८१ का लागि १ लाख २७ हजार ८०६ सेट पुस्तक आवश्यक पर्ने उनको भनाइ छ । बाजुराको डेल्टा स्टोरका सञ्चालक नृप खातीका अनुसार बाजुरामा चैतकै पुस्तक आइपुगेको दुर्लभ घटना हो ।

जनक शिक्षाले दार्चुला र बझाङमा पाठ्यपुस्तक वितरण गरिसकेको छ । दार्चुलामा ९१ हजार ४८६ सेट र बझाङमा २६ हजार ५१ सेट पुस्तक पठाइसकेको केन्द्रले जनाएको छ ।

आगामी शैक्षिक सत्र २०८१ का लागि सुदूरपश्चिममा १९ लाख १५ हजार १८५ थान किताब आवश्यक हुने अनुमान गरिएको छ । बाजुरामा किताब ढुवानीका लागि १६ प्रतिशत ढुवानी खर्चसमेत जनक शिक्षाले दिनेछ । व्यापारीले ९ प्रतिशतसम्म किताबमा कमिसन पाउनेछन् ।

सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा पाठ्यपुस्तक खरिदका लागि अहिलेसम्म बजेट निकासा भएको छैन । जनक शिक्षा सामग्री केन्द्रका प्रादेशिक कार्यालय धनगढीका प्रदेश कार्यालय प्रमुख कुँवरले पाठ्यपुस्तकका लागि रकम निकासा नभएको सुनेको बताए ।

‘स्थानीय तहहरुले विद्यालयहरुलाई रकम दिने हो । विद्यालयहरूले व्यवसायीहरूलाई दिने हो । तर, रकम निकासा नभएको भन्ने आएको छ’, उनले भने ।

बिक्रेताले जनक शिक्षाबाट पाठ्यपुस्तक किनेर विद्यालयमा पठाइरहेका छन् । स्थानीय तहले पनि समयमै निकासा दिए छुटपुट किताब पनि समयमै पुग्ने जनक शिक्षाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?