News Summary
Generated by OK AI. Editorially reviewed.- तिथि घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ, र बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ।
- आचार्य लक्षमण पन्थीले कात्तिक कृष्ण चतुर्दशीमा कुकुरलाई मीठा परिकार खुवाउने धार्मिक विश्वास रहेको बताउनुभयो।
- पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे तोकेको छ।
२२ कात्तिक, काठमाडौं । तिथि घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।
आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्षमण पन्थीले जानकारी दिए ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा पनि पुज्ने चलन छ ।
यसैगरी गाईपूजा कात्तिक २३ गते सोमबार परेको छ भने गोरुपूजा, हलितिहार, गोबद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २४ गते मंगलबार परेको समितिले जनाएको छ ।
यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजेलाई तोकेको छ ।
आज नरक चतुर्दशी
आज कुकुर तिहारको दिनलाई ‘नरक चतुर्दशी’ पनि भनिन्छ ।
आज बिहानै विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान गरेर बलेको बत्ती दक्षिण फर्काएर बगाउने चलन छ । यसो गरेमा मृत्युपश्चात् नरक जानुनपर्ने धार्मिक विश्वास छ ।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन पनि छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत समेत छ ।
यमपञ्चकको पहिलो दिन हिजो कागपूजा गरिएको थियो ।
प्रतिक्रिया 4