+
+

विद्युत प्राधिकरणको कार्यालयमा भैरहवाका उद्योगी र मजदुरको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते ११:११

२२ पुस, काठमाडौं । भैरहवामा नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका उद्योगका प्रतिनिधि र त्यहाँ कार्यरत मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरु नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि जम्मा भएर धर्ना दिएका छन् ।

उनीहरुले ‘ट्रंक लाइनको निहुँमा उद्योग मास्न पाइँदैन’, ‘नियमन आयोगको नियम लागु गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले आज विद्युत प्राधिकरणको कार्यालय अगाडि दुई घण्टा धर्ना दिने बताए । श्रेष्ठले करिब ४० वटा उद्योगका प्रतिनिधि धर्नामा सहभागी भएको बताए । ‘बिलिङ गरिएका २३ वटा उद्योगहरु बन्द भएका छन् । थप १७ वटा आज स्वतःस्फूर्त बन्द हुने क्रममा छन्,’ श्रेष्ठले भने, ‘हामी करिब ४० उद्योगका प्रतिनिधिहरु धर्नामा छौं ।’

उनका अनुसार पञ्चकन्या, समृद्धि स्टील, श्री स्टिल लगायतका उद्योगहरु बन्द भएका छन् । धर्नामा नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति राजेश अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, रुपन्देही उद्योग संघका प्रतिनिधि लगायत सहभागी रहेको श्रेष्ठले बताए ।

डेडिकेटेड फिडर र ट्रंक लाइनका सन्दर्भमा नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरुबीच पाँच वर्षदेखि जारी विवाद अहिले उत्कर्षमा पुगेको छ । नियमित बिल भुक्तानी गरिरहेका उद्योगीहरुलाई प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गरेको र थप शुल्क तिर्नुपर्ने भन्दै २०७५ सालमा छुट बिल काटेको थियो ।

तर, उद्योगीहरुले भने लोडसेडिङका बेला आफूहरुकहाँ पनि विद्युत् काटिएको भन्दै प्रयोग नै नगरेको विद्युत्को बिल नतिर्ने बताइरहेका छन् । यो समस्या समाधानका लागि संसद् तथा सरकारले विभिन्न समिति बनाए पनि निष्कर्ष भने निस्किएको छैन ।

उद्योगीहरुले टीओडी मिटरको प्रमाणका आधारमा विद्युत् प्रयोग गरेको देखिए आफूहरु बिजुलीको बिल तिर्न तयार रहेको बताएका छन् । तर, प्राधिकरणले त्यो तथ्यांक उपलब्ध गराउन सकेको छैन ।

डेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धी विवादमा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको विद्युत् लाइन काटिदिएपछि उद्योग बन्द भएको र रोजीरोटी नै खोसिने अवस्था बनेको भन्दै मजदुरहरू आन्दोलित छन् । यसअघि बाराको सिमराका उद्योगका मजदुरहरू पनि विरोध प्रदर्शनमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?