+
+

प्राधिकरणले बिजुली काटिदिंदा उद्योग बन्द, १६ हजार मजदुर मारमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते २०:३८

११ पुस, काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धी विवादमा नेपाल विद्युत् प्राधिकरणले ९ वटा उद्योगको विद्युत् लाइन काटिदिएपछि त्यसको सबैभन्दा ठूलो मारमा मजदूरहरु परेका छन् ।

ती ९ उद्योगमा करिब १६ हजार मजदूर कार्यरत छन् । त्यसमध्ये ३० प्रतिशत दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । प्राधिकरणले लाइन काटेपछि उद्योग बन्द भएकाले दैनिक ज्यालादारी मजदूरको रोजीरोटी नै खोसिने अवस्था बनेको हो ।

बन्द भएका उद्योगमध्ये सबैभन्दा धेरै मजदूर रिलायन्स स्पिनिङ मिलमा छन् । उद्योगमा करिब ४ हजार मजदूर कार्यरत रहेको जनाएको छ ।

त्यस्तै, बाराको सिमरास्थित जगदम्बा स्टिलमा कार्यरत मजदुर नेता दीपक कार्कीका अनुसार जगदम्बा स्टिलमा मात्र ३५ सय हाराहारी कर्मचारी कार्यरत छन् । लाइन काटिएसँगै कारखाना बन्द भएको ब्यहोराको उद्योग व्यवस्थापनले जानकारी गराएको र आफूहरु कामविहीन भएको उनले बताए । त्रिवेणीमा २५ सय र हुलास स्टिलमा मात्र १५ सय मजदुर कार्यरत छन् ।

दैनिक ज्यालादारीमा काम गर्ने हजारौं कामदारको रोजिरोटी बन्द भएको कार्कीले बताए । ‘कतिपय साथीहरु स्थायी हुनुहुन्छ, कतिपय दैनिक ज्यालादारीमा हुनुहुन्छ,’ उनले भने, उद्योग बन्द हुँदा मजदुरको रोजिरोटी बन्द हुन पुगेको छ ।’

बुधबार बारा पर्सा करिडोरका जगदम्बासहित त्रिवेणी स्पिनिङ मिल, हुलास स्टिल, अशोक स्टिल, सूर्य नेपाल लगायत उद्योगका कर्मचारीहरु प्राधिकरणले लाइन काटेको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले इलाका प्रशासन कार्यालय सिमरा र नेपाल विद्युत प्राधिकरण सिमरा शाखामा ज्ञापन पत्र समेत बुझाएको कार्कीले जानकारी दिए । मजदुरहरुले सरकार र उद्योगीबीचको लडाईमा मजदुर मारमा परेको भन्दै यसको शीघ्र समाधान खोज्न समेत माग गरेका छन् ।

जगदम्बा स्टिलका क्वालिटी हेड तथा मजदुर नेता विकास पाण्डेका अनुसार आजको शान्तिपूर्ण आन्दोलन सरकार र विद्युत प्राधिकरण तथा उद्योगीहरुलाई सन्देश दिन आयोजना गरिएको थियो ।

‘तपाईंहरुको आन्तरिक द्वन्द्वमा मजदुर किन पीडित हुनुपर्ने ?,’ उनले भने, ‘हामी यही प्रश्न सरकार र उद्योगपति समक्ष राख्न चाहन्छौं ।’ आज शान्तिपूर्ण रुपमा भएको आन्दोलन र ज्ञापन पत्रको आसय उद्योग बन्द नहोस र मजदुरको रोजिरोटी नखोसियोस भन्ने रहेको उनले जानकारी दिए ।

उद्योग बन्द भएको अवधिको सेवा–सुविधा कटौती नहोस् भन्ने आफूहरुको माग रहेको समेत उनले बताए । ‘मजदुरलाई उपेक्षा गरियो भने अर्को ढंगले सोच्न बाध्य हुन्छौं,’ उनले भने, हाम्रो आजको सन्देश यही हो ।’

प्राधिकरणले गत शुक्रबारबाट उद्योगहरुको लाइन काट्न थालेको हो । उसले सुरुमा बढी बक्यौता दाबी गरेका उद्योगबाट लाइन काट्न थालेको जनाएको छ । हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, त्रिवेणी स्पिनिङ मिल्स र अशोक स्टिल गरी ९ उद्योगको लाइन काटिएको छ ।

उता, उद्योगपतिहरुले समेत बिजुलीको लाइन नआउँदा उद्योग बन्द हुने र त्यसबाट मजदुरले काम नपाउने चेतावनी दिइरहेका छन् । यसबाट उत्पन्न हुने श्रम समस्याको जिम्मेवार स्वयम् सरकार हुने उनीहरुको चेतावनी छ ।

डेडिकेटेड फिडर र ट्रंक लाइनका सन्दर्भमा नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरुबीच पाँच वर्षदेखि जारी विवाद अहिले उत्कर्षमा पुगेको छ । नियमित बिल भुक्तानी गरिरहेका उद्योगीहरुलाई प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गरेको र थप शुल्क तिर्नुपर्ने भन्दै २०७५ सालमा छुट बिल काटेको थियो ।

तर, उद्योगीहरुले भने लोडसेडिङका बेला आफूहरुकहाँ पनि विद्युत् काटिएको भन्दै प्रयोग नै नगरेको विद्युत्को बिल नतिर्ने बताइरहेका छन् । यो समस्या समाधानका लागि संसद् तथा सरकारले विभिन्न समिति बनाए पनि निष्कर्ष भने निस्किएको छैन ।

उद्योगीहरुले टीओडी मिटरको प्रमाणका आधारमा विद्युत् प्रयोग गरेको देखिए आफूहरु बिजुलीको बिल तिर्न तयार रहेको बताएका छन् । तर, प्राधिकरणले त्यो तथ्यांक उपलब्ध गराउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?