+
+

निजी विद्यालय सञ्चालकको अडान : गुठीमा जाँदैनौं, बरु सडकमा आउँछौं

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १८:४५

२२ पुस, काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले शैक्षिक गुठीमा नजाने बताएका छन् । गुणस्तरीय शिक्षा दिएका कारणले निजी शिक्षा जन्मिएको र निजी विद्यालय सामुदायिक र सरकारी शिक्षाको परिपूरक भएको उनीहरुले बताएका छन् ।

विद्यालय शिक्षा विधेयकबारे छलफल गरिहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा निजी विल्द्यालय सञ्चालकहरुले निजी स्कुल गुठीमा जान नसक्ने बताए । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालले संविधानले शैक्षिक गुठीको परिकल्पना नै नगरेको बताए ।

शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने आम विद्यार्थीहरुलाई हो कि तिर्न सक्नेले आफैं तिर्ने र नसक्नेहरुलाई सुविधा बढाउने भनेर सांसदहरुले निर्णय लिने बेला आएको उनले बताए ।

विधेयकमा आएको संशोधन प्रस्ताव हेर्दा शिक्षालाई पूर्णतया निःशुल्क बनाउनुपर्छ भन्ने मत देखिएको भन्द उनले प्रश्न गरे, ‘सबै विद्यार्थीलाई पूर्णतया निःशुल्क गर्ने अवस्था बनाउन सक्छौं ?

सरकारीले थेग्न नसकेको हुनाले निजी विद्यालय जन्मिएको भन्दै सिलवालले निजी विद्यालयलाई बन्देज लगाउने नभई अनुगमन गर्नुपर्ने बताए ।

उनले सार्वजनिक पद धारण गरेकाहरुले छोराछोरी सरकारी विद्यालयमा पढाउनैपर्ने नियम प्रधानमन्त्रीदेखि लागू गर्न चुनौती दिए । ‘माननीयज्यूहरुको छोराछोरी कहाँ पढ्छन् ? त्यति हेरे पुग्छ नि !’, उनले भने, ‘क्रान्तिकारी कुरा गर्नेका छोराछोरी कहाँ–कहाँ छन् भन्ने त्यो रेकर्ड त हामीसँग पनि त छ ।’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का पूर्वअध्यक्ष टीकाराम पुरीले गुठीमा जाँदा आफूहरुको लगानीलाई व्यवस्थापन गर्न नसक्ने बताए ।

‘हामी गुठीमा जान सक्ने परिस्थितिमा छैनौं किनकी हामीले लगानी व्यवस्थापन गर्नुपर्छ’, उनले भने, ‘भन्नुहोला हामीले समय दिएका छौं । तर जुनदिनमा त्यस्तो प्रावधान राखिन्छ, त्यो दिनको भोलिपल्टदेखि बैंकले ताकेता गर्न थाल्छ र हाम्रो लगानीलाई व्यवस्थापन गर्न ज्यादै जटिल हुन्छ ।’

गुठीमा गएपनि शिक्षा निःशुल्क नहुने भन्दै उनले सरकारसँग आँट भए राष्ट्रियकरण गर्नुपर्ने बताए । उनले भने, ‘यदि हाम्रा कुरालाई बेवास्ता गरेर गुठीमै लाने प्रयत्न गरिदिनु भयो भने हामी सडकमा आउँछौं । लगानी व्यवस्थापन गर्न सक्दैनौं ।’

छलफलमा प्याब्सन अध्यक्ष डिके ढुंगानाले निजी विद्यालयहरुलाई स्वायत्तता दिनुपर्ने बताए । पाठ्यक्रम, परीक्षा र अनुगमन बाहेकका विषयहरुमा निजी विद्यालयलाई स्वायत्तता दिनुपर्ने उनको जोड छ ।

ढुंगानाले अगाडि भने, ‘नाफा कमाउनु भनेको अपराध गर्नु हो भन्ने भाष्यबाट अगाडि जाँदै गर्दा यो मुलुक कहाँ पुग्छ ?’

यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) का अध्यक्ष पाण्डव हमालले कक्षा १० मा परीक्षा जरुरी रहेको बताएका छन् ।

विद्यार्थीको स्तरीया मापन गर्ने विधि, पद्धति हुनुपर्ने भन्दै उनले भने, ‘कक्षा १० को परीक्षाको बारेमा अन्यौलता छाएको छ । कहाँ, कसले, कसरी लिने भन्ने व्यवस्थापकीय पाटोमा हुनसक्छ । तर कक्षा १० को परीक्षा जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?