+

रगत जाँच गर्नुअघि किन खाली पेट बस्नुपर्छ ?

२०८० पुष  २५ गते १३:२७ २०८० पुष २५ गते १३:२७
रगत जाँच गर्नुअघि किन खाली पेट बस्नुपर्छ ?

शरीरमा बग्ने रगत प्लाज्मा, रातो रक्तकोषिका, सेतो रक्तकोषिका र प्लेटलेट मिलेर बनेको हुन्छ । यी विभिन्न तत्त्वको आ–आफ्नै काम हुन्छ । जस्तो रातो रक्तकोषिकामा हेमोग्लोबिन भन्ने प्रोटिन हुन्छ । यसले फोक्सोमा रहेको अक्सिजनलाई शरीरका कोषमा पुर्‍याउने र कोषबाट हानिकारक कार्बनडाइअक्साइड फिर्ता ल्याउने काम गर्छ ।

त्यस्तै,  सेतो रक्तकोषले शरीरको प्रतिरक्षा गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउन भूमिका खेल्छ । प्लेटलेट्सले घाउ, चोटपटक लाग्दा बगिरहेको रगत र रक्तस्राव भएमा त्यसलाई जमाएर नियन्त्रण गर्न मद्दत गर्छ ।

केही स्वास्थ्य समस्या देखिएको खण्डमा चिकित्सकले रगत जाँच गर्ने सल्लाह दिने गर्छन् । धेरैजसो अवस्थामा डाक्टरहरूले रगत परीक्षण गर्नुअघि बिरामीलाई केही नखान सल्लाह पनि दिन्छन् ।

रगत जाँच गर्नुअघि किन खाली पेट बस्नुपर्छ ?

रगत परीक्षण गराउन अस्पताल जाँदा के गर्ने ? के खाने वा के नखाने भन्ने विषयमा जानकारी नहुँदा धेरै जना अन्योलमा परेको देखिन्छ । सुगर, कोलेस्टेरोल, हार्मोन, भिटामिनको परीक्षण गर्न खाली पेट बस्न अनिवार्य हुन्छ । यस्तोमा आठदेखि १२ घण्टा खाली पेट राखेर रगत परीक्षण गराउनु उपयुक्त हुन्छ ।

खाना खाएपछि रगतमा सुगर र कोलेस्टेरोलको मात्रा बढ्छ । यस्तोमा खाना खाएर रगत जाँच गरियो भने भर्खरै खाएको खानाको कारण बढेको हो वा लामो समयदेखि बढेको हो भन्ने कुरा पत्ता लगाउन गाह्रो हुन्छ । त्यसैले यस्ता जाँचका लागि बिरामीलाई खाली पेट बस्नु भनिएको हो । यीबाहेक अन्य स्वास्थ्य समस्या पत्ता लगाउन रगत जाँच गर्ने हो भने खाली पेट बस्नु जरुरी हुँदैन ।

रगतको कमी हुँदा के कस्ता समस्या देखा पर्छ ?

शरीरमा हेमोग्लोबिनको कमी हुँदा रक्तअल्पता हुन्छ । यसले गर्दा कमजोरी महसुस हुने, थकाइ लाग्ने र भर्‍याङ चढ्दा वा हिंड्दा स्वाँ–स्वाँ हुनेजस्ता समस्या देखिन्छन् । श्वास फुल्ने, महिनावारी हुँदा अत्यधिक रक्तस्राव हुने, रगत नपुगेर अनुहार सेतो भएको जस्तो देखिने समस्या देखिन्छ ।

जब शरीरमा सेतो रक्तकोषिकाको मात्रा कमी हुन्छ, शरीरको प्रतिरोधात्मक क्षमतामा कमी आउने हुनाले शरीरमा अनेक रोगले संक्रमण गर्न थाल्छ । टन्सिलाइटिस, निमोनिया लगायतका विभिन्न संक्रमण हुने गर्छ ।

प्लेटलेट्स रगत जमाउने तत्त्व हो । शरीरको कुनै भागमा चोट लागेमा त्यहाँ प्लेटलेट्स एकत्रित हुन पुग्छ र रगत जमाउन मद्दत गर्छ । यसको कमीले रगत नजम्ने र त्यसबाट रक्तस्राव भइरहने अवस्था सिर्जना हुन्छ । यस्तोमा ब्रस गर्दा दाँत गिजाबाट रगत बग्ने, साधारण चोटपटकसँगै शरीरमा निलो डाम देखा परिहाल्ने, महिनावारीको समयमा लामो समयसम्म रगत बग्ने समस्या हुन्छ ।

रक्तरोगको कुरा गर्दा बिरामीहरूमा रक्त क्यान्सर, एप्लास्टिक एनिमिया, रक्त अल्पता, थालासेमिया र  प्लेटलेट्सको कमी हुने जस्ता समस्या पनि रगतमा खराबीका कारण हुन्छन् ।

रगतको जाँचबाट क्यान्सर पत्ता लगाउन सकिन्छ ?

रगतको प्रवाह सम्पूर्ण शरीरमा हुन्छ र शरीरको कुनै पनि अंगमा गडबडी भएमा यसको प्रभाव रगतमा पनि देखिने गर्छ । त्यसैले विभिन्न स्वास्थ्य समस्याबारे थाहा पाउन पनि रगत जाँच गरिन्छ ।

रगतको पूर्ण जाँच (सीबीसी भनिने कम्प्लिट ब्लड काउण्ट) र पेरिफेरल ब्लड स्मेयर भनिने रगतको पृथक जाँचले रक्त क्यान्सर र अन्य क्यान्सर समेत पत्ता लगाउन सकिन्छ । यो जाँचद्वारा कलेजो, मुटु र मिर्गौलाको अवस्था पत्ता लगाउन सकिन्छ । यो जाँच गर्न धेरै खर्च पनि लाग्दैन । ५०० रुपैयाँमा हुन्छ र यसको रिपोर्ट पनि १० मिनेटमा आउँछ ।

साथै शरीरको अंग विशेषमा क्यान्सरको शंकासँगै रगतमा ‘ट्युमर मार्कर’ भनिने जाँच गरी क्यान्सर पत्ता लगाउन सकिन्छ । यी ट्युमर मार्करको परीक्षण शुल्क भने अलि महंगो हुन्छ । एउटै जाँचको सात-आठ सयदेखि १० हजार रुपैयाँसम्म पर्न सक्छ ।

रक्तरोगबाट बच्न के कुरामा ध्यान दिनुपर्छ ?

स्वस्थ आहार र स्वस्थ जीवनशैली अपनाएर धेरै गम्भीर रोगको जोखिम कम गर्न सकिन्छ । ब्लड क्यान्सर लगायत विभिन्न रक्तरोगबाट बच्न स्वस्थ जीवनशैली र स्वस्थ खानपान गर्ने बानी बसाल्नुपर्छ । नियमित रूपमा व्यायाम गर्नुपर्छ । नियमित व्यायाम, योग गर्दा शरीरको रक्तप्रवाहमा सुधार हुन्छ ।

धुम्रपान र मदिरा सेवन गर्ने मानिसलाई क्यान्सरजस्ता गम्भीर रोग लाग्ने खतरा बढी हुन्छ । त्यसैले ब्लड क्यान्सर जस्ता गम्भीर समस्याबाट बच्न धुम्रपान गर्नु हुँदैन । साथै सुर्तीजन्य पदार्थको सेवनबाट बच्नुपर्छ । अत्यधिक मदिरा सेवनले ब्लड क्यान्सरको खतरा पनि बढाउँछ ।

आफ्नो आहारमा भिटामिन र मिनरल्स लगायतका अत्यावश्यक पोषक तत्त्व समावेश गरेमा रक्त समस्याको जोखिमलाई कम गर्न सकिन्छ ।

हामीले जुनसुकै प्रकारको खाना खाए पनि त्यसको सिधै प्रभाव शरीरमा परेको हुन्छ । त्यसैले हामीले जहिले पनि सन्तुलित खानाको सेवन गर्नुपर्छ । फाइबर, ओमेगा–३ फ्याट एसिड, भिटामिन ए, ई र सी जस्तो पोषक तत्त्वको आहार सेवन गर्नाले शरीरको रक्त कोशिकामा भएको विकारलाई निर्मूल पार्छ ।

आफ्नो आहारमा हरियो सागपात, सलाद, बेसार, लसुन आदि समावेश गर्नुपर्छ । फाइबरयुक्त फलफूल र तरकारीको सेवनले रगत क्यान्सर र अन्य रगतको समस्याबाट बच्न सकिन्छ ।

डा. अजयकुमार झा रगत जाँच स्वास्थ्य परीक्षण
डा. अजयकुमार झा
लेखक
डा. अजयकुमार झा
रगत तथा क्यान्सर रोग विशेषज्ञ

डा. झा काठमाडौं बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस र एमडीका साथै रगत तथा क्यान्सरमा भारतको चण्डीगढबाट डीएम गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३०२१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय