+
+

बाँदर नियन्त्रणको तालिम लिन पशु चिकित्सक भारत पठाइने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १९:५५

२५ पुस, काठमाडौं। किसानको बाली नष्ट गर्ने बाँदर नियन्त्रणको तालिम लिन पशु चिकित्सक भारत पठाउने भएको छ ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाका अनुसार उनले भारतीय राजदूत नवीन श्रीवास्तवलाई पत्र लेखेर सहयोगका लागि अनुरोध गरेकी थिइन् ।

भारतीय दूतावासले समितिको तर्फबाट आफूले गरेको अनुरोध स्वीकार गरेको जानकारी दिँदै सभापति राणाले हिमाञ्चल प्रदेशमा बाँदर नियन्त्रणको प्राविधिक उपाय र बाँदरको बन्ध्याकरणबारे नेपाली भेटेरनरी डाक्टरलाई तालिमका लागि पठाउन लागिएको जानकारी दिएकी छन् ।

‘किसानको बाली र उत्पादन नष्ट गर्ने बाँदरलाई व्यवस्थापन गर्नका लागि नेपालका १० जना भेटेरनरी डाक्टरलाई मास्टर तालिम र ५ देखि १० जना रेन्जर र वन्यजन्तु स्काउटहरुलाई तालिमका लागि भारतको हिमाञ्चल प्रदेश पठाउँछौं’ सभापति राणाले बुधबार बसेको समिति बैठकमा भनेकी छन्, ‘यसका लागि पशुपक्षी सचिव र वन मन्त्रालयको सचिवसँग कुरा भइसकेको छ । एक डेढ महिनाभित्रै टोली पठाउँछौं ।’

कृषिमा बजेट बढाउन पहल गर्ने प्रतिबद्धता

समितिको बुधबार बसेको बैठकमा कृषिमन्त्री बेदुराम भुसालले बजेट अभावका कारण कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्न नसकिएको र १० लाख हेक्टरभन्दा बढी जमिन बाँझो रहन पुगेको बताएका छन् ।

कृषिमन्त्री भुसालले आयात प्रतिस्थापन गर्न उत्पादन वृद्वि गर्नुपर्ने र यसका लागि कृषिमा भएका समस्याहरू निराकरण गरेर जानुपर्ने बताए । कृषिको आद्युनिकीकरणका लागि प्राविधिक जनशक्तिको अभाव रहेको र मन्त्रालय अहिले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरिरहेको जानकारी मन्त्री भुसालले बताए ।

मन्त्री भुसालले १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको र पाइपबाट नदी प्रणाली जोड्नुपर्ने धारणा राखे । त्यसपछि सभापति राणाले कृषिको बजेट बढाउन पहल गर्ने प्रतिबद्धता जनाइन् ।

‘कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो । कृषिमा ५ रुपैयाँ हाल्यो भने ५० रुपैयाँ फल्छ’ उनले भनेकी छन्, ‘कृषिमा जुन किसिमको सुविधा नेपाली जनताले खोजेको छ, त्यसका लागि कम्तीमा पनि ५ प्रतिशत बजेट चाहिन्छ । यसका लागि म समितिबाट लबिङ गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?