+
+

पशु चिकित्सकको २ टोली भूकम्प प्रभावित क्षेत्रमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १८:२२

१९ कात्तिक, काठमाडौं । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा पशुचिकित्सकको विशेषज्ञ टोली खटाएको छ ।

भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको हो ।

मन्त्रालयका सचिव डा. रेवतीरवण पौडेलका अनुसार पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट सुर्खेतबाट डा. लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा. राकेश प्रजापतीको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइएको छ ।

उक्त टोली प्रभावित क्षेत्रका पशुपन्छीको उपचारमा खटिने छ । स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपन्छीको उपचारमा लाग्ने टोलीले जनाएको छ ।

शुक्रबार राति आएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

भूकम्पबाट पशुपन्छीसमेत प्रभावित भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले प्रभावित क्षेत्रमा विशेषज्ञ टोली पठाउन निर्देशन दिएका थिए ।

शुक्रबारराति भूकम्प गए लगत्तै शनिबार बिहानदेखि मन्त्री भुसालले पशु सेवा विभागलाई प्रभावित क्षेत्रमा पशुपन्छीको वस्तुस्थिति बुझ्नका लागि निर्देशन दिएका हुन् ।

विभागले शनिबार बिहानैदेखि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतसँग समन्वय गर्दै आएको थियो ।

पशु सेवा विभागले प्रदेश मातहतका पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र रुकुम पश्चिमलाई क्षतिको विवरण संकलन गर्न निर्देशन दिएको थियो ।

पशु स्वास्थ्य पनि संवेदनशील रहेको भन्दै मन्त्रालयले पशुको उपचारका लागि आवश्यक चाहिने आवश्यक सामग्री तयारी अवस्थामा रहेको र प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ ।

प्रभावित क्षेत्रमा पठाइएको टोलीले त्यहाँको सबै वस्तुस्थितिबारे बुझेर आवश्यक उपचार सामग्री माग गर्ने छ ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले केन्द्रीय मन्त्रालयमा जाजरकोटमा भूकम्पबाट गाई, भैंसी, बाख्रा गरी २७ पशुको क्षति भएको विवरण पठाएको छ । अरु विवरण संकलन भइरहेको कर्णाली प्रदेश मन्त्रायलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?