+
+

प्लास्टिक बोतलको पानी पिउनु विष पिए सरह ! एक बोतल पानीमा अढाइ लाख प्लास्टिकका टुक्रा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १३:०८

तपाईंले बोलीचालीको भाषामा मिनिरल वाटर भनिने बोतलबन्द पानी कत्तिको पिउने गर्नुहुन्छ ? हालैको एक अध्ययनले बोतलको पानीले खतरनाक हुने र स्वास्थ्यलाई गम्भीर हानि पुर्‍याउने तथ्यको खुलासा गरेको छ ।

उक्त अध्ययन अनुसार एक लिटर बोतलबन्द पानीमा औसतमा २ लाख ४० हजार प्लास्टिकका टुक्रा हुने गरेका छन् । यसअघिको अध्ययनको तुलनामा यो संख्या १० देखि १०० गुणाले धेरै हो ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयका शोधकर्ताहरुले अमेरिकामा बिक्री हुने सर्वाधिक लोकप्रिय ब्राण्डका बोतलबन्द पानीहरुको जाँच गर्दा यस्तो तथ्यको खुलासा भएको हो ।

माइक्रोप्लास्टिकको आकार एक माइक्रोमिटर अर्थात् एक मिटरभन्दा १० लाख गुणा सानो आकारसम्मको हुन्छ भने यसको अधिकतम आकार चाहिं ५ मिलिमिटरसम्म रहन्छ ।

माइक्रो प्लास्टिक भन्दा पनि सानो आकारका कणलाई नानो प्लास्टिक भनिन्छ । यो भनेको एक मिटरको १ सय करोडौं अंश हो ।

प्रोसिडिंग्स अफ द नेशनल एकेडेमी अफ साइन्सेस जर्नलमा छापिएको शोध अनुसार अमेरिकी शोधकर्ताहरुले गरेको अध्ययनका क्रममा हरेक बोलतमा १०० नानोमिटरका प्लास्टिक कणहरु हुन्छन् । उ

नीहरुले बोतलमा भरिएको हरेक लिटर पानीमा १ लाख १० हजार देखि ३ लाख ७० हजार नानोमिटर प्लास्टिक फेला पारे भने बाँकी माइक्रोप्लास्टिक थियो । अर्थात् २.४ लाख माइक्रोप्लास्टिकको ९० प्रतिशत हिस्सा नानोप्लास्टिक रहेको छ ।

कोलम्बिया क्लाइमेट स्कुलस्थित लेमोन्ट डोहर्टी अर्थ अब्जर्भेटरीका वातावरण रसायनवैज्ञानिक तथा शोधकर्ता टोलीका सदस्य बिझान यानका अनुसार बोतलबन्द पानीमा यस्तो चरम मात्राको सूक्ष्म प्लास्टिक पाइने कुरातर्फ यसअघि ध्यान गएको थिएन । तर अहिले पानी विषाक्त हुने विषयमा विभिन्न अध्ययन गरिएका छन् र तथ्यहरु पनि उपलब्ध छन् । उनका अनुसार यस्ता खालका अध्ययनहरुबाट दुनियाँलाई बिउझाउन सकिन्छ, जहाँ यसअघि कहिल्यै पनि यस्तो भनेर सोँधिएको थिएन ।

यत्रतत्र हुन्छ प्लास्टिक

पछिल्ला केही वर्षहरुमा जुन अध्ययन भैरहेका छन् त्यसले के कुराको खुलासा गरेको छ भने हाम्रो वरिपरि विद्यमान माटो, पिउने पानी, खाना तथा यहाँसम्म कि पृथ्वीको ध्रुवीय क्षेत्रमा रहेको बरफमा पनि माइक्रोप्लास्टिक पाइएको छ ।

यो तब हुन्छ जब प्लास्टिकको कुनै चिज टुक्रिएर साना साना टुक्रामा विभाजित हुन्छ । त्यो पनि टुक्रिंदै टुक्रिंदै फैलिरहन्छ अनि मानिस वा अन्य जीवहरुको शरीरमा जान्छ ।

प्लास्टिक शरीरमा जानाले स्वास्थ्य बिग्रिन्छ भने खुल्ला वातावरणमा रहँदा यसले पर्यावरणमा क्षति पुर्‍याउँछ । पछिल्लो अधययनमा वैज्ञानिकहरुले जुन प्लास्टिकको नमुनाको अध्ययन गरेका छन् त्यसमा सातवटा प्लास्टिकका टुक्राहरु निकै सामान्य खालका प्लास्टिकका रहेका छन् । सबैभन्दा सामान्य प्लास्टिक चाहिं पोलिइथिलिन टेरेफथेलेट रहेको छ । मिनिरल वाटरको बोतल यहीं प्लास्टिकबाट बनेको हुन्छ ।

बोतलबन्द पानीमा सयौं प्रकारका प्लास्टिक

बोलतमा भरिएको पानीमा पोलिएमाइड भनिने खास प्रकारको नाइलन प्लास्टिक पनि भेटिएको छ । पिइटीपछि सबैभन्दा धेरै यहीँ प्लास्टिक पाइएको छ । यो प्लास्टिक फाइबरबाट निस्किन्छ । यसको प्रयोग बोतलबन्द पानी बनाउने कारखानामा पानीलाई सफा गर्नका लागि गरिन्छ । यसका अलावा पोलिस्टिरिन, पोलिभिनाइल क्लोराइड र पोलिमेथाक्रिनेट जस्ता औद्योगिक प्लास्टिक कणहरु पनि बोतलको पानीमा फेला परेका छन् ।

यस अध्ययनमा एक लिटर बोतलबन्द मिनिरल वाटरमा जुन सात प्रकारका आम प्लास्टिकहरु फेला परे ती नानोप्लास्टिकको केवल १० प्रतिशत मात्रै हो । अन्य बाँकी प्लास्टिकहरु कस्तो प्रकारका हुन् र कहाँबाट आएका हुन् ? त्यसबाट मानव स्वास्थ्यलाई कस्तो प्रतिकूल असर परिरहेको छ ? भन्ने बारेमा आँकलन नै गर्न नसकिने अवस्था रहेको शोधकर्ता बताउँछन् ।

वैज्ञानिकहरुले बोतलबन्द पानीमा प्लास्टिकको अध्ययनका लागि नयाँ प्रविधिको विकास गरेका छन् । जसलाई सिमुलेटेड रकम स्क्याटरिंग माइक्रोस्कोपी भनिन्छ । यसमा दुईवटा लेजर बिम एकसाथ छाडिन्छ जसले पानीमुनि रहेका कणहरुलाई कम्पित गराउँछ । त्यसपछि एल्गोरिदम र डेटाबाट त्यसको मापन गरिन्छ । यो शोधकर्ता टोलीले बोतलबन्द पानीको अलावा अन्य स्रोतहरुको पनि अध्ययन गर्दैछ ।

कोलम्बिया विश्वविद्यालयका जैविक भौतिक वैज्ञानिक तथा माइक्रोस्कोपी प्रविधिका अन्वेषक वी मिनका अनुसार एक लिटर बोतलबन्द पानीमा नानोप्लास्टिकको संसार नै हुन्छ । यसको वजन माइक्रोप्लास्टिकको भन्दा कम हुन्छ भने आकार निश्चित हुँदैन । तर सानो आकारका यी विषाक्त पदार्थको ठूलो संख्या स्वास्थ्य तथा पर्यावरणका लागि हानिकारक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?