+
+

२० वर्षपछि फिल्ममा फर्किएकी पूजा चन्द भन्छिन्- आफूलाई रिभाइभ गर्दैछु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १७:४०

काठमाडौं । २० वर्ष लामो ग्याप ! पूजा चन्दलाई अभिनयमा फर्किन दुई दशक लाग्यो । लामो पर्खाइबीच कुनैबेलाकी चर्चित अभिनेत्री चन्द फिल्ममा फर्किएकी छन् ।

पूजालाई महत्वपूर्ण भूमिकामा लिएर विनोद पौडेलले यतिबेला अमेरिकाको ओहायोमा फिल्म ‘भूठान’ निर्देशन गरिरहेका छन् । यो फिल्ममा पूजासहित हरिवंश आचार्य, दयाहाङ राई र हलिउड अभिनेता ब्रुस डर्नको समेत अभिनय छ ।

मिडिया कुराकानीमा पूजाले अभिनयमा कमब्याकबारे चर्चा गरेकी छन् । उनले रित्तो दिमाग लिएर आफू अभिनयमा फर्किएको बताएकी छन् ।

‘यो फिल्ममा काम गर्ने सबैजना युवा हुनुहन्छ । उहाँहरुको मेकिङ पूर्णरुपमा भिन्न छ । बाल्टीमोरदेखि एक्रोनसम्म आइपुग्दा मैले रित्तो दिमाग लिएर जानुपर्छ भन्ने लाग्यो । किनभने पहिलाको ह्याङओभर राख्नु हुन्न मलाई दिमागमा आयो,’ पूजाले भनिन् ।

निर्देशक पौडेलले ‘भूठान’मा अभिनयको अप्रोच गर्दा आफूलाई सरप्राइज महसुस भएको उनले बताइन् । ‘म अमेरिका आएको झण्डै १९ वर्ष भयो । त्यसबीचमा नेपाल आउने जाने भएपनि फिल्म खेल्ने मौका मिलिरहेको थिएन,’ पूजाले भनिन्, ‘निर्देशक विनोद पौडेलको फिल्म बुलबुललाई मैले नेपाल अमेरिका फिल्म फेस्टिभलमा हेर्ने मौका पाएकी थिएँ । त्यसबेला उहाँसँग भेटेर कुराकानी पनि भएको थियो । उहाँले आफ्नो फिल्म भूठानका लागि मलाई सम्झिनुभयो । म सरप्राइज भएँ । खुसी पनि लाग्यो ।’

पहिले र अहिलेको फिल्म निर्माण शैलीमा ठूलो भिन्नता आएको बुझाइ पूजाको छ । उनले नयाँ पुस्ताका फिल्ममेकरसँग सिक्ने मौका पाएको अनुभव बाँडिन् ।

‘मैले काम गर्ने स्टाइल बुझें । फिल्म करिअरमा कहिल्यै पनि वर्कसप भन्ने कुरा गरेको थिइनँ । नयाँ कुरा सिक्ने मौका पाएँ । आफूलाई रिभाइभ गर्न कलाकारको रुपमा कसरत, अभिनयका लागि ध्यान गर्न पाउँदा पूर्णरुपमा भिन्न यात्रा भएको छ मेरो लागि अहिले,’ उनले सुनाइन् ।

पूजाको पछिल्लो फिल्म ‘मनको टुक्रा’ सन् २००४ मा रिलिज भएको थियो । सन् १९९२ को फिल्म ‘भूल’बाट उनले अभिनयमा डेब्यु गरेकी थिइन् । उनी पछिल्लो समय अमेरिकाको बाल्टीमोरमा सपरिवार बस्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?