+
+

बलात्कार मुद्दाका दोषीप्रति माननीयकै सहानुभूति

अदालतले तथ्य, प्रमाण, वादी–प्रतिवादीका साबिती सबै हेरिसकेपछि दोषी ठहर्‍याएका बलात्कार अभियुक्तप्रति माननीयहरुबाटै ‘स्नेह’ झल्किन पुग्दा कतिपय विस्मित बन्न पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १८:२८
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी ।

२६ पुस, काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर्‍याइएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद सजाय सुनाएको भोलिपल्ट सांसद चन्द्र भण्डारीले सामाजिक सञ्जालमार्फत त्यसमा प्रतिक्रिया दिए ।

सन्दीपको नाम नजोडी उनले ‘कुन अवस्थालाई बलात्कार मान्ने भन्नेबारे कानुनको व्याख्या आवश्यक रहेको’ प्रतिक्रिया दिए । उनले फेसबुक र ट्विटर दुवैतिर लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम ? र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ कि हुदैन ? परिभाषाको आवश्यकता ।’

सन्दीपलाई आठ वर्ष कैद सजाय ठहर भएको भोलिपल्ट प्रतिक्रिया व्यक्त गरेकाले उनको संकेत यही विषयमा हो भनी बुझ्न कठिन छैन ।

अर्का सांसद राजेन्द्र बजगाईंले पनि ‘मान्छेलाई कहाँनिर फसाउँ भनेर खाल्टो खनेर बसिरहेका हुने रहेछन्’ भन्दै बजगाईले सन्दीपलाई फसाइएको भनी संकेत गरेका छन् । उनले अर्को ट्विटमा लेखेका छन्, ‘लैवरी गर्दै हिँड्नु हुदैनथ्यो, सन्दीपको फ्यान फलोइङ्सलाई चोट पुग्यो ।’

पूर्वसभामुख कृष्णबहादुर महरातिर संकेत गर्दै बजगाईंले ‘कयौं गोलीले नढलेको रोल्पाली योद्धा करणीमा ढल्यो, किन उड्यो ?’ भन्दै प्रश्न गरेका छन् । रंगेहात पक्राउ परेपनि उठेको भन्दै उनले ‘गल्ती गर्‍यो त फस्यो’ भन्दै सन्दीपप्रति सहानुभूति प्रकट गरेका छन् ।

गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले सन्दीपको नाम उल्लेख नगरी उनीप्रति संकेत गर्दै क्रिकेटर फसाइएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा होनहार क्रिकेटरलाई विदेशीहरुको इशारामा बली चढाइयो ।’

क्रिकेटर लामिछानेलाई अदालतले ८ वर्ष कैद सजायको निर्णय गरेपछि कानुन निर्माता र समाजका प्रतिष्ठित व्यक्तिहरुले नै फौजदारी कानुनको आधारभूत सिद्धान्त नबुझी टिप्पणी गरेका हुन् ।

गुल्मी–२ का सांसद चन्द्र भण्डारीले नै बलात्कारको परिभाषामा कानुन अस्पष्ट भएको दावी गरेका छन्, जब कि संविधान जारी गरेपछिको रुपान्तरित संसदले २०७४ सालमा मुलुकी अपराध संहिता पारित गर्दा उनी समेत सांसद थिए ।

‘कुन अवस्थालाई बलात्कार मान्ने भन्नेबारे कानुनको व्याख्या आवश्यक रहेको’ भनी उनले प्रतिक्रिया दिएका छन् । उनी नै संलग्न रहेको रुपान्तरित संसदले पारित गरेको मुलुकी अपराध संहिता ऐनमा भएको व्याख्या र परिभाषा अनुसार सन्दीप कसुरदार ठहरिएका हुन् ।

सांसद भण्डारीले कानुनमा बलात्कारबारे नै स्पष्ट परिभाषा नभएको दावी गरे । ‘एक वर्षपछि छोरीले भनेर मुद्दा चलाउने कि घटनालाई नै आधारित बनाउने हो ? हामीले कानुनी रुपमा बलात्कार परिभाषा कसरी गर्ने ?’ उनले बलात्कार मुद्दामा हदम्यादको विषय उठाउँदै अनलाइनखबरसँग भने, ‘यसो गर्‍यो भने त ब्रम्हाण्डको मानवीय विकास नै रोकिन्छ । कहिलेसम्म बलात्कारको मुद्दा दिन पाइने ? त्यसबारे स्पष्ट हुनुपर्छ ।’

उनले हालको मुलुकी अपराध संहितामा भएको दुई वर्षे हदम्यादको व्यवस्थाबारे कुनै टिप्पणी गरेनन् । बरु यस्ता विषयमा गम्भीर नभए नेपाली समाजमा ठूलो आघात आउने दावी गरे ।

सन्दीप लामिछाने, पल शाहको मुद्दालाई नै संकेत गरेर आफूले प्रतिक्रिया दिएको भन्दै उनले कतिपय शक्तिशालीहरु छुटेर राजनीतिमा सक्रिय रहने, कतिपय चाहिँ कानुनको फन्दामा पर्ने टिप्पणी गरे । उनले भने, ‘उमेर पुगेर घुम्न जानेहरुलाई छेक्ने हो भने ब्रम्हाण्डको सृष्टि नै रोकिन्छ ।’

आफू नै सांसद भएको बेलामा मुलुकी अपराध संहिताको विधेयक अघि बढेको र ऐन समेत जारी भएको स्वीकार्दै उनले कुनै महिलाले चाहेमा ‘छोरामान्छे बच्नै नसक्ने’ भनी टिप्पणी समेत गरे । उनले भने, ‘हामीले कानुन निर्माणका क्रममा गरेको कुरामा कमीकमजोरी देखिएकाले नयाँ व्याख्याको आवश्यकता छ भनेको हो । कानूनको छिद्रमा पसेर गलत काम भयो ।’

अदालतले तथ्य, प्रमाण, वादी–प्रतिवादीका बयान र संसदले बनाएको कानुनको आधारमा दोषी ठहर्‍याएका व्यक्तिप्रति सांसदहरुले नै ‘स्नेह’ देखाउँदा कतिपय विस्मित बन्न पुगेका छन् ।

सन्दीपप्रति सहानुभूति प्रकट गर्दा पीडितले व्यहोरिरहेको भयावह अवस्थाप्रति धेरै व्यक्ति असंवेदनशील बनेको लेखक शारदा शर्मा बताउँछिन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले बलात्कार मुद्दामा पीडित गौशाला–२६ ले गुजारिरहेको भयावह जिन्दगीप्रति नेपाली समाज साह्रै असंवेदनशील बनेको उनको टिप्पणी छ ।

‘हामीले सन्दीप लामिछानेलाई यति धेरै हौसला दियौं, त्यसले शायद उसलाई गलत बाटो समाइरहन थप प्रेरणा भयो होला’, उनले लेखेकी छन्, ‘धेरैले सन्दीपलाई वाहवाही गर्दा गौशालालाई निरन्तर नरकतिर धकेलिरह्यौं र त्यसमा रत्तिभर दुःख मानेनौं, पश्चाताप गरेनौं । हामी कतिपयको चेतना पीडितको चोटमा किन दुख्तैन ? प्रश्न यति मात्रै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?