+
+

मोरङमा गोबर किनेर सिलिन्डरमा बायोग्यास उत्पादन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते १५:१८

२८ पुस, विराटनगर । मोरङमा जीवन विकास समाज नामक एक गैरसरकारी संस्थाले गोबरबाट प्रांगारिक मल र बायोग्यास उत्पादन सुरु गरेको छ ।

समाजले किसानसँग गोबर किनेर बायोग्यास उत्पादन गरी सिलिन्डरमा भरेर बिक्री गरेको छ भने प्रांगारिक मल पनि उत्पादन गरेको छ ।

मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँगामा १० बिघा क्षेत्रमा जीवन विकास समाजले स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योगको मोरङ–५ का सांसद योगेन्द्र मण्डल र प्रदेश सांसद गयानन्द मण्डलले उद्घाटन गरे ।

करिब १० करोड रुपैयाँ लागतमा स्थापित उद्योगले विराटनगर र आसपासका गाईंभैंसी फार्मबाट गोबर किन्ने गरेको छ । सांसद मण्डलले रासायनिक मललाई प्रतिस्थापनको अभियान सुरु भएको बताए ।

‘यो वर्ष आठ लाख मेट्रिक टक रासायनिक मल चाहिन्छ, चार लाख टन बाहिरबाट ल्याउँदा ३३ अर्ब खर्च भइसक्यो’, उनले भने,‘ युरिया, डिएपी जस्ता रासायनिक मलको विकल्पको रुपमा प्राङ्गारिक मल प्रयोग गर्नुपर्छ ।’

प्रांगारिक मलको परीक्षण गर्दा रासायनिक मल प्रयोग गर्दासरह उत्पादन दिएको बताउँदै उनले भने, ‘हामीले तीन ठाउँमा प्राङ्गारिक मलको प्रयोग गर्दा युरिया, डीएपी बराबरकै धान फल्यो, कुनै रोगब्याधि पनि लागेन ।’

उद्योगका प्रमुख उपेन्द्रकुमार मण्डलले कच्चा पदार्थ नभएका कारण दैनिक ३० सिलिण्डर ग्यास उत्पादन हुँदै आएको बताए । दैनिक ८ टन प्रांगारिक मल र १५० सिलिन्डर बायोग्यास उत्पादन गर्ने क्षमता भए पनि त्यसका लागि आवश्यक ४० टन गोबर पाउन नसकिएको उनको भनाइ छ ।

तीन हजार घनमिटरको डाइजेस्ट प्लान्टबाट उत्पादित ग्यासलाई पाइपलाइनबाट प्युरिफिकेसन हुँदै स्वचालित कम्प्रेसर मेसिनबाट सिलिन्डरमा भरिन्छ । यसरी उत्पादन भएको ग्यास जीवन विकास डेरी र दूधवाला डेरी फर्मले प्रयोग गर्छन् ।

दूध वाला डेरीका सञ्चालक बिक्की अग्रवालले एलप ग्यासको तुलनामा बायोग्यास निकै सस्तो भएको बताए । ‘सिलिन्डर ठूलो भएका कारण घरका लागि चाहिँ प्रयोग गर्न गाह्रो छ’, उनले भने ।

जीवन विकास डेरी उद्योगका प्रमुख विजय मण्डलले बायोग्यास प्रयोग गर्दा खर्च कम लागेको बताए । ‘दाउरा प्रयोग गर्दा एकजना कामदार छुट्टै चाहिन्थ्यो, बायोग्यास जोडेपछि खर्च जोगियो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?