+
+

एप्पल सीईओ टिम कुकको वार्षिक आम्दानी साढे ८ अर्ब, अरु कर्मचारीको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १६:४९

२९ पुस, काठमाडौं । अमेरिकी कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकको तलब कति छ होला ? उनले एक वर्षमा कति रकम कमाउँछन् होला ? यसका बरोमा धेरै मानिसलाई चासो हुन्छ र जानकारी पाउनका लागि इन्टरनेटमा सर्च गर्नुभएको छ होला तपाइँले पनि ।

यस्तो जानकारी प्राप्त गर्न सहज यसकारण पनि छ कि एप्पलले हरेक वर्ष आफ्नो सीईओले गर्ने आम्दानीको तथ्यांक सार्वजनिक गर्दछ । तथ्यांक अनुसार एप्पल सीईओ टिम कुकले बितेको वर्ष सन् २०२३ मा पनि मनग्गे पैसा कमाए । तर उनको त्यो आम्दानी सन् २०२२ को तुलनामा भने कम हो ।

एप्पलको रिपोर्ट अनुसार कुकले सन् २०२३ मा ६ करोड ३२ लाख डलर अर्थात् करिब ८ अर्ब ४० करोड रुपैयाँ कमाएका छन् । यो आम्दानी अघिल्लो वर्ष सन् २०२२ को भन्दा  साढे ३ करोड डलर कम हो । उनले सन् २०२२ मा ९ करोड ९४ लाख डलर अर्थात् करीब १३ अर्ब २० करोड डलर आम्दानी गरेका थिए । अर्थात् सन् २०२२ को तुलनामा सन् २०२३ मा उनको आम्दानी ३६ प्रतिशतले घट्यो ।

के कुकले तलबबाट मात्रै वर्षमा अर्बौँ रकम कमाउँछन् त ? होइन । उनको तलब यसको तुलनामा वास्तवमा निकै कम छ । अर्थात् उनको वार्षिक तलब जम्मा ३० लाख डलर हो। एप्पलले सार्वजनिक गरेको तथ्यांक अनुसार कुकले सन् २०२३ का लागि आफ्नो तलब भत्ता नै सन् २०२२ को तुलनामा ४० प्रतिशतले कम गर्ने लक्ष्य राखेका थिए । यद्यपि उनको वार्षिक आम्दानी चाहीँ उक्त लक्ष्यभन्दा अधिक हो ।

उनको वार्षिक आम्दानीमा तलबको हिस्सा निकै कम छ, अर्थात् जम्मा ३० लाख डलर । यसका अलावा ४ करोड ६९ लाख ७० हजार २८३ डलर उनले स्टक अवार्डका रुपमा प्राप्त गरे । त्यस्तै १ करोड ७ लाख १३ हजार ४५० डलर नन इक्विटी भत्ता र २५ लाख २६ हजार ११२ डलर अतिरिक्त भत्ता उनले पाए ।

एप्पलले आफ्नो वार्षिक बैठकअघि शेयरधनीहरुका लागि जारी गरेको रिपोर्टमा भनेको छ : सन् २०२३ मा हाम्रा सीईओले कम्पनीबाट प्राप्त गरेको रकम (एनुअल कम्पेन्सेसन) ६करोड ३२ लाख ९ हजार ८४५ डलर रहेको छ । त्यस्तै कम्पनीका कर्मचारीहरुको वार्षिक औषत आम्दानी ९४ हजार ११८ डलर छ । यस अनुसार कम्पनीका सीईओ र अरु कर्मचारीहरुको औषत आम्दानीको अनुपात ६७२:१ छ ।

यसका अलावा कम्पनीले आफ्नो रिपोर्टमा सर्वाधिक आम्दानी गर्ने कर्मचारीहरुका बारेमा पनि जानकारी दिएको छ । यो सूचिमा प्रमुख वित्तिय अधिकृत लुका मेस्त्री छिन् । उनको वार्षिक आम्दानी २ करोड ६९ लाख ३५ हजार ८८३ डलर छ । त्यस्तै जनरल काउन्स तथा सेक्रेटेरी केट एडमको वार्षिक आम्दानी २ करोड ६९ लाख ४१ ह्जार ७०५ डलर रहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?