+
+

मेलम्चीको नवौं उद्घाटनमा प्रधानमन्त्रीको झुटो आश्वासन

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० माघ १ गते २३:५९

१ माघ, काठमाडौं । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी पुनःवितरणको उद्घाटन गर्दै बाह्रै महिना वितरणको व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएको सुनाए ।

वर्षायाम सुरु हुनुअघि गत १ जेठमा मेलम्चीको पानी बन्द गरिएको थियो । मेलम्ची खोलामा आउने बाढीका कारण सुरुङ र खानेपानी आयोजनाको संरचनामा क्षति पुग्ने भन्दै बन्द गरिएको पानी ल्याउन ७ महिना कुर्नुपर्‍यो ।

अहिले पानी वितरण सुरु भएपनि प्रधानमन्त्रीले भनेजस्तो बाह्रै महिना वितरण गर्न भने तत्काल सम्भव नहुने खानेपानी मन्त्रालयका अधिकारीहरु बताउँछन् । मेलम्चीको मुहान (हेडवर्क्स) को अवस्था नै निरन्तर काठमाडौंमा पानी ल्याउन सक्ने गरी दिगो किसिमले तयार भइसकेको छैन ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा मेलम्ची आयोजनाको अस्थायी मुहानको स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाइने घोषणा गरेको थियो । तर चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि मेलम्चीमा अस्थायी मुहानको काम गरिएको छैन ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार विगतकोजस्तै यो वर्ष पनि खोलाबाट प्रशोधन नगरी सिधै सुरुङमा पानी हालेर काठमाडौं ल्याइएको छ । १ असार २०७८ को बाढीले निर्माण सकिएको पानी छान्ने संयन्त्रसहित पक्की हेडवर्क्स पुरेपछि वर्षैपिच्छे वर्षायाममा सुरुङको मुख बन्द गर्ने र हिउँदमा खोलाको पानी सोझै सुरुङमा हालेर काठमाडौं ल्याउने गरिएको छ ।

३२ अर्ब खर्च भइसकेको आयोजनाको २७ किलोमिटर लामो सुरुङमा बाढीले पुर्‍याउन सक्ने जोखिमलाई हेरेर वर्षायाममा मेलम्चीको पानी ल्याउने गरिएको छैन ।

प्रवक्ता पन्तका अनुसार वर्षायाममा खोलाको धमिलो पानी सुरुङमा हाल्न सकिंदैन, धमिलो पानी सुरुङभित्र हालेमा बालुवा भरिएर सुरुङ धेरैपटक सफा गरिरहनुपर्छ ।सफाइ गर्न मुख्य सुरुङ अन्तर्गत अडिट (पहुँच) सुरुङका गेटहरु पटक–पटक खोल्नु सुरक्षा र आर्थिक दृष्टिकोणले उपयुक्त मानिंदैन ।

मेलम्ची खानेपानी आयोजनाले वर्षायाममा कसरी सुरुङ जोगाएर मेलम्चीबाट पानी ल्याउने भनेर गत वर्ष नै विज्ञहरुसँग छलफल गरेको थियो । उनीहरुले २ वटा विकल्प दिएका थिए । पहिलो पक्की संरचना नै बनाएर पानी छान्ने र दोस्रो स्थानीय रुपमा उपलब्ध ढुंगाहरुको प्रयोग गरेर रफिङ फिल्टर तयार गर्ने ।

तर, मेलम्चीको बाढी हरेक वर्ष फरक–फरक स्वरुपमा आइरहेकाले आयोजनाले वैकल्पिक व्यवस्था गरेर वर्षायाममा सुरुङमा पानी हाल्ने जोखिम लिन चाहिरहेको छैन ।

‘गत वर्षको तुलनामा यो वर्षको बाढीले मेलम्ची हेडवर्क्समा धेरै क्षति पुर्‍यायो, मुख बन्द गरिएको डाइभर्सन सुरुङमा धेरै नै बालुवा भरियो’, पन्त भन्छन्, ‘त्यसैले वर्षायाममा कसरी पानी ल्याउन सकिन्छ भन्ने अन्योल नै छ, विज्ञले भनेजस्तो रफिङ ड्याम बनाउन पनि पानीको बहाब कम भएका बेलामा काम गर्नुपर्छ ।’

प्रवक्ता पन्तका अनुसार विकल्पहरुमा छलफल भएपनि कुन प्रविधि प्रयोग गरेर वर्षायाममा सुरुङमा पानी हाल्ने भन्ने निर्णय हुन बाँकी छ । पक्की संरचना बनाउँदा समय लाग्ने र आउँदो वर्षायाममा बाढीले संरचनामा क्षति गर्ने जोखिम भएकाले आयोजनाले निर्णय गर्न सकेको छैन ।

अझ एसियाली विकास बैंकले मेलम्चीको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न मुहान (हेडवर्क्स) नै सारेर नयाँ ठाउँमा बनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिइसकेको छ । यस्तो अवस्थामा हालको मुहानमा थप लगानी गर्न समेत सरकारले चाहेको छैन ।

‘नयाँ ठाउँमा हेडवर्क्स बनाउन सकिन्छ भन्ने प्रतिवेदन आएको छ, त्यसअनुसार काम सुरु गर्न पनि २–३ वर्ष लाग्ने देखिएको छ’, प्रवक्ता पन्त भन्छन्, ‘यस्तो अवस्थामा हालकै संरचनाबाट बाह्रैमास पानी ल्याउन चुनौती छ, सुरुङको सुरक्षा सुनिश्चित हुने गरी सो ठाउँमा अस्थायी संरचना बनाउनुपर्छ ।’

खानेपानी मन्त्रालयका अधिकारीहरु भने अहिलेको मुहानबाट बाह्रै महिना मेलम्चीको पानी काठमाडौं ल्याउने कुरालाई ‘झुटो आश्वासन’ को संज्ञा दिन्छन् । मेलम्चीको माथिल्लो तटीय क्षेत्रमा पहिरो जान नरोकिएको र पूर्वानुमानभन्दा ठूला बाढीहरु आइरहेको बेला अस्थायी संरचनाका भरमा वर्षायाममा सुरुङको मुख खोल्दा ठूलो लगानीमा बनेको सुरुङ नै काम नलाग्ने हुन सक्ने उनीहरु बताउँछन् ।

‘काम गर्न नसकिने बुझेपछि मेलम्चीमा आयोजनामा कार्यकारी निर्देशक बन्ने कर्मचारी समेत भेटाउन मुस्किल हुन थालिसक्यो’, मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘बजेटमा १२ महिना नै मेलम्चीको पानी ल्याउने भनिएकामा यही वर्ष गत वर्षभन्दा २ महिना ढिला गरी मेलम्चीको पानी काठमाडौं ल्याउन सकियो, यो अवस्थामा बाह्रै महिना पानी आउँछ भनेर कसैले नढाँट्दा हुन्छ ।’

मन्त्रालय स्रोतका अनुसार यो वर्ष मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष रहेका तत्कालिन खानेपानी सचिव रामआधार साहले समयमै आयोजना सँग सम्बन्धित जरुरी निर्णय नलिंदा वर्षायाम सकिएपछि पनि काठमाडौंमा पानी ल्याउन ढिलाइ भएको हो ।

कर्मचारी सरुवालाई लिएर मन्त्री र तत्कालिन सचिव साहबीच खटपट भएपछि मेलम्चीको पानी ल्याउन हेडवर्क्समा गर्नुपर्ने कामबारे सचिव साहले लामो समयसम्म निर्णयहरु गरिदिएनन् । विशेष गरी मेलम्चीको हेडवर्क्स पुनर्स्थापनाको काम गरिरहेको चिनियाँ कम्पनी सिनो हाइड्रोले मागेको भेरियसनदेखि ठेक्का अन्त्य गर्नेसम्मका प्रस्तावहरुमाथि सचिव साहले कुनै निर्णय लिएनन् ।

प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गरेर २८ मंसिरमा सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सचिवका रुपमा पठाएका थिए । आचार्यले मन्त्रालयमा हाजिर भएपछि विवाद समाधान गरी २८ दिनमा काम सक्ने गरी ठेकेदारलाई मेलम्चीमा खटाएका थिए । ठेकेदारमार्फत सुरुङको मुखमा भरिएका ढुंगा र २०० मिटर अग्लो डाइभर्सन सुरुङमा भरिएको बालुवा हटउने काम गरेपछि काठमाडौंमा पानी ल्याइएको हो ।

जस लिन ९ पटक शुभारम्भ

मेलम्चीको पानी काठमाडौंमा ल्याएर वितरण थालेको जस लिन राजनीतिक नेतृत्व निरन्तर लागिरहेकै छ । यसैकारण मेलम्चीको पानी पथान्तरण र वितरणका क्रममा भएका उद्घाटन र शुभारम्भको संख्या ९ पुगिसकेको छ ।

माघ १ देखि पुनः वितरण सुरु भएको मेलम्चीको पानी आगामी असार महिना अगावै पुनः बन्द हुने पक्काजस्तै छ । त्यसपछि पुन पुस–माघमा दशौंपटक मेलम्चीको पानी वितरणको शुभारम्भ हुन सक्छ ।

२१ असार २०७७ मा पहिलोपटक मेलम्चीको पानी काठमाडौं ल्याउन सुरुङमा खसालिएको थियो । त्यतिबेला सिन्धुपाल्चोकको मेलम्चीस्थित मुहानमा प्रमुख जिल्ला अधिकारीसहितको सहभागितामा औपचारिक कार्यक्रम गरिएको थियो । त्यस्तै तत्कालिन खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन् । तर, एक हप्तामै मेलम्चीको अडिट सुरुङको गेट भत्किएर दुर्घटना भएपछि मर्मतमा करिब ८ महिना लाग्यो ।

त्यसपछि १० फागुन २०७७ मा तत्कालिन खानेपानीमन्त्री मणिचन्द्र थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्चीको मुहानमै पुगेर सुरुङमा पुनः पानी पथान्तरणको शुभारम्भ गरेका थिए ।

२२ फागुन २०७७ मा सुन्दरीजलमा आइपुगेको पानीलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेर बाग्मती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गरेका थिए ।

त्यतिबेला सुरुङ खाली गरेर सुपरीवेक्षण र सुधारको काम नगरी सरकारले हतारमा पानी वितरण थालेको थियो । १५ चैत २०७७ मा महाँकालमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीहरुले औपचारिक कार्यक्रममा पानीपोखरीको साँचो खोलेर मेलम्चीको पानी वितरण सुरु गरेका थिए ।

त्यसको एक हप्तापछि २३ चैत २०७७ मा काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी थिइन् ।

तर, राष्ट्रपतिबाट उद्घाटन भएको साढे दुई महिनापछि १ असार २०७८ मा आएको बाढीले आयोजनाको मुहान क्षेत्र तहसनहस पारेको थियो । अस्थायी बाँध बनाइसकेपछि गत १९ चैत २०७८ मा खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्चीको मुहानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गरेका थिए ।

तत्कालिन खानेपानी मन्त्री चौधरीले ११ वैशाख २०७९ काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को मीनभवनस्थित पानी ट्यांकीमा पुगेर खानेपानीको भल्भ खोलेर औपचारिक रुपमा काठमाडौंमा पुनः वितरण थालेका थिए ।

२३ मंसिर २०७९ पनि मन्त्री चौधरीले मीनभवनस्थित पानी ट्यांकीमा पानीको साँचो घुमाएर पुनः वितरण शुभारम्भ गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले सोमबार सिंहदरबार परिसरमा इँटाको बुट्टा प्रिन्ट गरिएको फ्लेक्सलाई भित्तो बनाएर त्यसमाथि जोडिएको धारा खोलेर मेलम्चीको पानी पुनः वितरण गर्नेको सूचीमा आफ्नो नाम थपेका छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?