+
+

गृहमन्त्रीबारे भाइरल भिडियो : प्रहरी भन्छ -अफवाह फैलाइयो, परिवार भन्छ-प्रहरीले ढाँट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १९:३०

१३ वैशाख, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा बुधबार साँझ एउटा भिडियो भाइरल भयो, जसमा अस्पतालको बेडबाट एक जना व्यक्तिले गृहमन्त्रीबारे कमेन्ट गर्दा प्रहरीले यातना दिएको बताएका छन् ।

वीर अस्पतालको आकस्मिक कक्षको बेडमा खिचिएको भिडियोमा जाजरकोटको कुशे गाउँपालिकाका गणेशमानसिंह ठकुरीले भनेका छन्, ‘मैले गृहमन्त्रीको बारेमा फेसबुक पेजमा सहकारी ठग भनेर दुई तीन महिना अगाडि कमेन्ट गरेको थिएँ, अस्ति साइबर ब्यूरोले मलाई बोलायो । अनि, अनेक प्रसंग सोध्यो ।’

ब्यूरोमा पुग्दा आफूलाई अधिकृतहरुले ‘तँलाई ६/७ वर्ष जेल हाल्छु, गृहमन्त्रीविरुद्ध बोल्ने ?’ भन्दै धम्क्याएको ठकुरीले उल्लेख गरेका छन् । ‘तँसँग सहकारी ठगीको के प्रमाण छ ? तँलाई जेल हाल्छौं, सम्माननीय गृहमन्त्रीलाई चिन्छस् भन्यो’, उनले अगाडि भनेका छन्, ‘साइबर ब्यूरोले मलाई हजारौं प्रश्न सोध्यो र साइबर ब्यूरो ढोकामै औषधि खान बाध्य भएँ ।’

उनका भाइ मानबहादुरका अनुसार, गणेशले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सम्बन्धी एक पोष्टमा ‘सहकारी ठग’ भन्दै कमेन्ट लेखेका थिए । त्यसको केही दिनपछि साइबर ब्यूरोबाट प्रहरी अधिकृतहरुले फोन गरेर उनलाई बोलाएका थिए । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर सकेर शिक्षक सेवा आयोगको तयारी गरिरहेका उनी प्रहरीले बोलाएपछि आइतबार भोटाहिटीस्थित ब्यूरोमा पुगेका थिए ।

‘त्यहाँ प्रहरीले एकदमै नराम्रो व्यवहार गर्‍यो, दिनभरजसो राखेर केरकार भयो’, भाइ मानबहादुरले अनलाइनखबरसँग भने, ‘त्यतिबेला उहाँलाई माथि आईजीपीको आदेश छ, त्यसैले बोलाएको भनिएको थियो ।’

सोमबार पनि उस्तै क्रम दाहोरियो । मंगलबार कतारी राजा आउने भएकाले सार्वजनिक बिदा थियो । बुधबार जाँदा फेरि उस्तै सोधपुछमा परेपछि दाजु गणेशमानसिंहलाई असैह्य भएको उनी बताउँछन् ।

‘सोधपुछ गरिरहेका बेला पानी खाने भनेर बाहिर निस्किनु भएछ, अगाडि औषधि पसल थियो’, मानबहादुरले भने, ‘त्यहाँबाट सिटामोलको दुई वटा पत्ता ल्याएर सबै खानुभएछ ।’

माथि लिएर आउन भन्दा उनीसँगै रहेका प्रहरी जवानहरुले ‘औषधि खायो’ भनेको ब्यूरोका एसपी भाग्येन्द्र पुरुष ढकाल बताउँछन् । ‘त्यसपछि मैले उपचार गराउन वीर अस्पताल लैजानू भनेर तत्काल पठाएको थिएँ’, उनले भने, ‘तर, यो घटना भिडियोमा आएजस्तो गृहमन्त्रीसँग सम्बन्धित होइन ।’

उनको भनाइमा, इलामका एक जना होटल व्यवसायीले आफ्नो होटलबारे भ्रामक कमेन्ट गरेको भन्दै उनीविरुद्ध जाहेरी दिएका थिए । ‘त्यसको अनुसन्धान होस् भनेर प्रहरी प्रधान कार्यालयको सोसल मिडिया डेस्कमा निवेदन परेको रहेछ, त्यो हेडक्वार्टरबाट आएपछि अनुसन्धान थालेका थियौं’, उनले थपे, ‘उहाँलाई सोधपुछका लागि मात्र बोलाएका थियौं ।’

त्यहीबेला त्रिविको कीर्तिपुर क्याम्पसका स्ववियुका एक जना व्यक्तिले ब्यूरोमा फोन गरेर बुधबार ‘त्यहाँ भोलि विष खाएर आउँछु’ भनेको भन्दै सूचना दिएका थिए । त्यतिबेला हेर्दा त्यो नाम गरेको मान्छे हिरासतमा नभएको उनी बताउँछन् । ‘उसले यस्तो भनेको मान्छेको मोबाइल स्वीच अफ छ हेर्दिनुपर्‍यो भनेको रहेछ, भरे ट्याबेलट खाएपछि चाहिँ ऊ नै रहेछ भन्ने भयो’, उनले थपे, ‘त्यसपछि मैले माथि बोलाएर फोनमा समेत कुरा गराइदिएको थिएँ ।’

भाइरल भिडियोमा चाहिँ सन्दर्भविनाको कुरा जोडेको उनले दाबी गरेका छन् । ब्यूरोको तर्फबाट प्रेस विज्ञप्ति जारी गरेर समेत ‘नागरिकमा भ्रम सिर्जना गर्ने र आफ्नो आपराधिक क्रियाकलाप उपरको अनुसन्धानमा समेत बाधा पुर्‍याउने निकृष्ट उद्देश्य राखेर सामाजिक सञ्जाल फेसबुकबाट भ्रमपूर्ण भिडियो’ प्रचार गरिएको प्रहरीले दाबी गरेको छ ।

‘हामीले मुद्दा चलाउने भनेको विद्युतीय कारोबार ऐन अनुसार हो, त्यसमा अधिकतम सजाय हुने भनेकै ५ वर्षसम्म मात्र हो’, ढकाल भन्छन्, ‘त्यस्तोमा ६÷७ वर्ष जेल भनेर भन्ने कुरा पनि हुँदैन । उहाँले किन त्यस्तो बोल्नुभयो, मनसाय के हो भन्ने चाहिँ अस्पतालमा उहाँसँग सोधेपछि नै थाहा होला ।’

वीर अस्पतालमै रहेका गणेशमानका भाइ मानबहादुरले भने प्रहरीले विज्ञप्तिमा पनि भ्रमपूर्ण विषय लेखेको दाबी गरेका छन् । ‘विज्ञप्तिमा लेखिएको ऋषिराज झा भन्ने को हुन् भन्ने पनि हामीलाई थाहा छैन’, उनले अनलाइनखबरसँग भने, ‘बरु प्रहरीले दाइको कमेन्टको स्क्रिनसट पनि एडिट गरेको देखिन्छ ।’

मानबहादुरले आफ्नो दाइले जाँडरक्सी वा अन्य कुनै नसालु पदार्थ सेवन नगर्ने बताएका छन् । ‘उहाँ एकदमै सोझो हुनुहुन्छ, उहाँले आक्रोशमा कमेन्ट गर्नुभयो होला, तर यस्तो टर्चर दिनुपर्ने विषय थिएन’, मानबहादुरले थपे ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आफ्ना पूर्वसाझेदार जीबी राई संस्थापक भएको सहकारीको लाखौं रुपैयाँ हिनामिना भएको प्रकरणमा विवादमा तानिएका छन् । उनले प्रक्रिया पूरा नगरी ऋण लिएको भेटिएको थियो । तर, प्रहरीले ऋणीहरुलाई प्रतिवादी बनाउने चलन नभएको भन्दै उनलाई छानबिन नगरी रायसहितको प्रतिवेदन बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?