+
+

आफैं लाइसेन्स छाप्न खोज्दै लुम्बिनी प्रदेश, केन्द्र सरकारसँग परामर्श

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते ११:०१

३ माघ, काठमाडौं । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले चालक अनुमति पत्र (लाइसेन्स) आफैं छाप्ने प्रक्रिया अघि बढाउन खोजेको भन्दै त्यसका लागि सहयोग गर्न केन्द्र सरकारलाई आग्रह गरेको छ ।

केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि लुम्बिनीसहितका सबै प्रदेश सरकारहरुलाई आवश्यक सहयोग गर्ने बचन दिएका छन् । त्यसका लागि यही माघ महिनामा सातै प्रदेशका यातायात मन्त्रीहरुसँग छलफल गर्ने सोच बनाएको पनि उनले सुनाए ।

मंगलबार सिंहदरबारमा लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा र सचिव उमेश ढुंगानासँगको छलफलमा मन्त्री ज्वालाले सो कुरा बताएका हुन् । भेटमा मन्त्री थापाले सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र सहज र छिटो दिलाउनुपर्ने भन्दै आफैं लाइसेन्स छाप्ने प्रक्रिया अघि बढाउन चाहेको बताएका थिए ।

हाल यातायात व्यवस्था विभागमा मात्र लाइसेन्स छापिन्छ र वितरणका लागि जिल्लाहरुमा पठाइन्छ । यदि प्रदेश सरकारले पनि लाइसेन्स छापेर वितरण गर्ने हो भने काठमाडौंको चाप घट्ने र सेवाग्राहीले पनि छिटो र सजिलै लाइसेन्स पाउने मन्त्री थापाको भनाइ थियो । त्यसैले परामर्श गर्न आफू आएको उनले बताए ।

त्यसपछि मन्त्री ज्वालाले केही प्रदेशहरुले आफैं लाइसेन्स छाप्ने र वितरण गर्ने भनेर प्रक्रिया अघि बढाएको भन्दै लुम्बिनीलाई पनि मेसिन खरिदको प्रक्रिया अघि बढाउन भनेका थिए । ‘तपाईंहरु आफैं लाइसेन्स छाप्न मेसिन किन्ने तयारी गर्नुस्, केही सहयोग चाहिए म सहयोग गर्न तयार छु भनेर मन्त्रीज्युले भन्नुभयो,’ भेटमा सहभागी लुम्बिनी प्रदेशको उद्योग तथा यातायात मन्त्रालयका सचिव उमेश ढुंगानाले भने ।

मन्त्री ज्वालाले लाइसेन्सको ट्रायल आफ्नै सवारी साधनबाट दिन पाउने व्यवस्था गर्न लुम्बिनी प्रदेशको यातायात व्यवस्था मन्त्रालयले सुरु गरेको पहलको सह्राना समेत गरेका थिए । साथै उनले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन कसरी सकिन्छ भन्ने विषयमा माघ महिनामै सातै प्रदेशका यातायात मन्त्रीहरूसँग संयुक्त छलफल गर्ने पनि बताएको ढुंगानाले जानकारी दिए ।

हाल बागमती र मधेश प्रदेश सरकारले आफैं लाइसेन्स छाप्ने प्रक्रियाका लागि मेसिन खरिदको प्रक्रिया अघि बढाएका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले प्रदेश सरकार आफैंले लाइन्सेन्स छापेर वितरण गर्ने काममा कुनै प्राविधिक सहयोग चाहिए सहयोग गर्ने बताए ।

यो काममा कुनै कानुनी अड्चन नभएको बताउँदै उनले भने, ‘यदि उहाँहरु आफैंले लाइसेन्स छाप्नु हुन्छ भने त्यो काममा प्राविधिक लगायतका सबै सहयोग गर्न यातायात व्यवस्था विभाग तयार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?