+
+

जितुलाई लिएर अमेरिका उडे राजेश हमाल, टिभी शोको गर्दैछन् तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १३:०३

काठमाडौं । गायक–गायिका मात्र होइन, अभिनेतालाई पनि यतिबेला विदेश दौडाहाको चटारो छ । यो सूचीमा अभिनेता राजेश हमाल अगाडि छन् ।

हमालका लागि विदेश पानीपँधेरोजस्तै देखिन्छ । उनी महिना दिन बिराएर विदेश घुम्न निस्किरहन्छन् । मंगलबार बेलुका हमाल र अर्का अभिनेता जितु नेपाल अमेरिका उडेका छन् ।

हमालको लागि यसपटकको अमेरिका यात्रा किन पनि महत्वपूर्ण छ भने उनले त्यहाँ बसोबास गर्ने र आ–आफ्नो क्षेत्रमा योगदान पुर्‍याएका नेपालीलाई भेट्दैछन् । ती नेपालीसँग अन्तरक्रिया र छलफल गर्ने हमालले बताएका छन् ।

स्रोतका अनुसार हमालले अमेरिकी डायस्पोरामा सफल कहलिएका नेपालीसँग छलफल चलाएर यसलाई टेलिभिजन शो वा डकुमेन्ट्रीको आकार दिने बताइएको छ । उनले यसअघि नै टिभी शो ल्याउने र विदेशमा बसोबास गर्ने नेपालीको ‘सक्सेस स्टोरी’ त्यहाँ समेट्ने बताएका थिए ।

गत साउनमा हिमालय टिभी एचडीको कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’मा कुरा गर्दै हमालले विश्व घुमेर आफूले टिभी सिरिज ल्याउन लागेको बताएका थिए ।

‘मेरा लागि मात्र होइन, नेपाली टेलिभिजनकै लागि यो नयाँ अनुभव हुनेछ,’ उनले भने, ‘पछिल्लो दुई दशकमा ठूलो संख्यामा नेपाली विदेश जानुभएको छ । त्यहाँ उहाँहरुको सफलताको कथा पनि छ । व्यापार, अध्ययन, कला, राजनीति, समाज सबैतिर उहाँहरुले उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको छ । सफलताको यी कथामा सिरिज बन्नेछ,’ उनले भनेका थिए ।

हमालले अगाडि भने, ‘आफूले छानेको क्षेत्रमा उहाँहरु सक्रिय हुनुभएको छ । यस्ता पृष्ठभूमि बोकेको व्यक्तिको धारणा नेपाली नागरिकमाझ ल्याउने तयारी छ । पक्कै पनि यो प्रेरणादायी र र रोचक हुनेछ ।’

उक्त कार्यक्रममा हमालले भनेका थिए, ‘विदेशमा नेपालीले शून्यबाटै थालनी गर्नुभएको हो । नेपालबाट प्लेन चढेर जाँदा उहाँहरु सक्सेस हुनुहुन्छ भन्ने पनि लागेको नहुन सक्छ । नेपालमै बसेको भए के त्यही किसिमको सक्सेस स्टोरी पाउनुहुन्थ्यो ? मैले दुईऔतीन वर्षमा विदेशमा बसेका नेपालीको अवस्था देखेको छु । उहाँहरु स्थिर हुनुहुन्छ । व्यवसायको मालिक बनेर निस्कनुभएको छ । जीवनलाई राम्रो बनाइरहनुभएको छ । कोभिडपछि अमेरिकामा जाँदा धेरै नेपालीले सफलतापूर्वक व्यवसाय चलाएर बसेको देखें । हस्पिटालिटी क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको छ । यसका लागि उहाँहरु दक्ष हुनुहुन्छ । नेपाली व्यक्ति भएर अन्तर्राष्ट्रिय कुजिन बनाउन सक्नुहुन्छ ।’

हमाल फेब्रुअरी ६ मा स्वदेश फर्किंदैछन् । अमेरिका लाग्नुअघि हमालले चर्चित भारतीय आध्यात्मिक चिन्तक आनन्द शिलासँग भिडियो अन्तर्वार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?