+
+

ड्राइभिङ स्कुल खोल्न यातायात मजदुरले मन्त्रीसँग गरे माग

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १९:२५

४ माघ, काठमाडौं । यातायात व्यवसायी र यातायात मजदुर संघ/संगठनहरुले नेपालमा तत्काल ड्राइभिङ स्कुल खोल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग माग गरेका छन् ।

सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्न मन्त्रालयले बोलाएको बैठकमा मजदुर नेताहरुले यस्तो माग गरेका हुन् ।

अहिले हरेक घरमा सवारी चालक आवश्यक भएको तर नेपालमा दक्ष ड्राइभर विदेश पलायन भइरहेको भन्दै ड्राइभिङ स्कुलको आवश्यकता औंल्याएका हुन् ।

नेपालमा दक्ष चालक पाउन मुस्किल भइरहेको भन्दै दक्ष चालकको अभावमा दुर्घटना बढ्न थालेको उनीहरुको भनाइ छ । व्यवसायी र मजदुर संगठनका पदाधिकारीले अब ड्राइभिङ स्कुल वा छुट्टै संस्थाको आवश्यकता महसुस भएको बताएका हुन् ।

सवारी ऐन २०४९ संशोधन गर्न मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । व्यवसायी र मजदुर संगठनको ड्राभिङ स्कुल खोल्ने प्रस्तावमा मन्त्री ज्वालाले ऐनमा व्यवस्था गर्ने गरी काम थालेको जानकारी दिए । ‘ड्राइभिङ स्कुल वा कुनै संस्था स्थापना गर्ने गरी ऐनमा संशोधन गर्नेगरी हामीले तयारी थालेका छौं,’ मन्त्री ज्वालाले भने ।

स्वरोजगार यातायात मजदुर संगठन, एकीकृत यातायात मजदुर संगठन, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल मजदुर संघ, नेपाल यातायात मजदुर संघका पदाधिकारीहरु छलफलमा सहभागी थिए । त्यसैगरी सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल ट्रक यातायात ब्यवसायी महासंघका पदाधिकारहरुको सहभागिता रहेको थियो ।

छलफलमा व्यवसायी र मजदुर संघ/संगठनका पदाधिकारीहरले फरक फरक सरकारले बनाउने ऐनका कारण ठूलो समस्या झेलेको गुनासो गरेका छन् । संघीय, प्रदेश र स्थानीय सरकारले फरक फरक सवारी ऐन बनाउँदा निकै समस्या परेको गुनासो गर्दै एकरुपता हुने गरी पहल गर्न मन्त्री ज्वालासँग आग्रह गरेका छन् ।

जवाफमा मन्त्री ज्वालाले प्रदेश सरकारका यातायात मन्त्री र सचिवहरुसँग छलफल गर्ने गरी ७ गते बैठक राखेको जानकारी दिएका छन् ।

छलफल कार्यक्रममा मन्त्रालयका सचिव केशव शर्माले फरक फरक सरकारमा सवारी दर्ता हुने गरेकाले कति सवारी साधनहरु अहिले चलेका छन्, त्यसको अभिलेखसम्म सरकारसँग नभएका बताए । अब बन्ने ऐनमा एकरुपता ल्याउनका लागि प्रदेश र सरकारका यातायातमन्त्री र सचिवसँग छलफल गर्न लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?