+

बेसारमा हुने मिसावट कति घातक ?

२०८० माघ  ५ गते १२:२५ २०८० माघ ५ गते १२:२५
बेसारमा हुने मिसावट कति घातक ?

बेसारले परिकारलाई आकर्षक बनाउने मात्रै नभई यो औषधीय गुणले पनि भरिपूर्ण हुन्छ । फूल फुल्ने विरुवाको प्रजातिमा पर्ने बेसार आयुर्वेद चिकित्सामा निकै महत्वपूर्ण मानिन्छ । किनभने यसमा एन्टिअक्सिडेट, एन्टिइन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल, एन्टिभाइरस, एन्टिफंगल, इम्युनोमोडुलेसन जस्ता गुण हुन्छ ।

भान्सामा पाक्ने परिकारको कुरा गर्ने हो भने बेसार नहाले परिकार कमै पाक्छन् । बेसारले परिकारलाई सुनौलो बनाएर आकर्षक देखाउँछ । दक्षिण एसियाली देशहरुमा भान्सामा होस् वा औषधि उपचारमा बेसारको व्यापक प्रयोग हुन्छ । बेसारलाई छाला चम्काउने जडिबुटीको रुपमा पनि लिइन्छ । तर पछिल्लो समयमा बेसार विषसरह भएको भन्दै यसको उपयोगलाई रोक्नुपर्नेबारे विषयमा विज्ञहरुबीभ बहस भइरहेको छ ।

यति धेरै फाइदा गर्ने भन्दै विभिन्न अध्ययन र अनुसन्धान भएको बेसार वास्तवमै स्वास्थ्यका लागि घातक छ ?

अन्तर्राष्ट्रिय पोर्टल ‘द एकोनोमिस्टडटकम’का अनुसार बेसार आफैंमा हानिकारक होइन । तर बेसारको रङमा थप निखारता ल्याउन प्रयोग गरिने केमिकल हानिकारक हो । मिसावट भएको बेसारले स्वास्थ्यमा जोखिम ल्याउँछ ।

बेसारमा रङ आकर्षक बनाउन लिड (सिसा) क्रोमेटको प्रयोग हुन्छ । लिड (सिसा) क्रोमेट एक न्युरोटक्सिन हो । यही न्युरोटक्सिनकै बढी एक्सपोजरले मुटु र मस्तिष्कसम्बन्धी रोग लागेर सन् २०१९ मा विश्वभर १४ लाख जनाले ज्यान गुमाए । यस्तो विषाक्त बेसारको प्रयोगले विशेषगरी बालबालिकाको मस्तिष्कको कार्यमा दखल पुर्‍याउने उक्त अध्ययनको निष्कर्ष छ ।

बेसारको अत्यधिक प्रयोग दक्षिण एसियाली मुलुकहरुमा हुन्छ । अमेरिकाको सेन्टर फर ग्लोबल डेभलपमेन्ट, वाशिङ्टनको एक थिंक–ट्याङ्कको अध्ययनका अनुसार विश्वव्यापी रुपमा तीन जनामध्ये एक जनामा उक्त सिसाको प्रयोग भइरहेको अध्ययनले जनाएको छ । औसतमा ८१ करोड ५० लाख बालबालिका यसको सिकार भइरहेका छन् ।

विपन्न मुलुकका बालबालिकामा लिड पोइजनिङले गर्दा विकसित मुलुकका बालबालिकाको तुलनामा पढाइ र सिकाइको क्रियाकलापमै पनि २० प्रतिशत अन्तर पाइएको छ । आर्थिक लागत कम भए जत्तिकै हुन्छ । सो विषाक्तताको कारण दक्षिण एसियली मुलुकमा जीडीपी ९ प्रतिशत बराबर कम भएको छ ।

ल्यान्सेट प्लानेटरी हेल्थमा प्रकाशित नयाँ अध्ययनका अनुसार दक्षिण एसियाका मानिसहरूको रगतमा सिसाको मात्रा उच्च हुन्छ । मुख्य कारण पत्ता लगाउन लामो समयदेखि अध्ययन भइरहेको थियो । किनिक सिसा बेसारमा मात्र होइन, अन्य थुप्रै खाद्य पदार्थमा भेटिन्छ । सिसाको प्रयोग खाना पकाउने भाँडा, सौन्दर्य प्रसाधन र अन्य दैनिक उत्पादनमा पनि पाउन सकिन्छ ।

यसरी गर्‍यो बंगलादेशले बेसारको मिसावटलाई दुरुत्साहन

सन् २०१९ मा स्ट्यानफोर्ड युनिभर्सिटी र इन्टरनेसनल सेन्टर फर डायरियाल डिजिज रिसर्च, बंगलादेश (आईसीडीडीआर)का अनुसन्धानकर्ताको टोलीले बेसारको मिसावटमा ध्यान केन्द्रित गरी अध्ययन गर्न थाल्यो । उक्त टोलीले देशको खाद्यसुरक्षा प्राधिकरण र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग काम गर्दै बेसारमा लिड क्रोमेट पिग्मेन्टको प्रयोगलाई जरैबाट हटाउन राष्ट्रव्यापी अभियान सुरु गरे ।

जसअनुसार मिसावटविरुद्ध कडा कानुन ल्याइयो र मिसावट भएको बेसार बेच्ने थोक विक्रेतालाई कारवाही गर्न थालियो । बंगलादेशका बजारमा यसविरूद्ध चेतावनी दिंदै सार्वजनिक स्थलमा ५० हजार पोस्टर राखियो । स्थानीय सञ्चारमाध्यमले पनि यसको व्यापक प्रचार गरे ।

यस्तो मिसावट गर्नेलाई अपराधी घोषित गर्ने गरी नियम बनाइयो । त्यति मात्र होइन, मिसावट गर्ने व्यापारीलाई समेत कारवाही गरिएको थियो ।

वातावरणीय अनुसन्धान जर्नलमा प्रकाशित नयाँ अध्ययनका अनुसार यो निकै सफल भएको पाइएको छ ।  फलस्वरुप बेसारमा सिसाको मिसावटमा कमी आयो र दुई वर्षभित्र यो शून्यमा झर्‍यो ।

बंगलादेशमा राजनीतिक नेतृत्वको दृढ संकल्पकै कारण मिसावटविरुद्ध जनचेतना फैलाउन सफल भयो । बेसारको अत्यधिक खपत हुने देश भारत, नेपालजस्ता देशका सरकारले पनि बंगलादेशको यो रणनीतिलाई अनकुरण गर्नुपर्ने देखिन्छ ।

इकोनोमिस्ट डटकमबाट अनुदित

बेसार मिसावट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय